भृकुटीमण्डपमा भदौ १५ गतेदेखि ईभी एक्स्पो हुने

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आगामी भदौ १५ गतेदेखि १७ गतेसम्म ईभी एक्स्पो हुने भएको छ । इलेक्ट्रीक भेहिकल म्यानुफ्याक्चरर्स एन्ड इम्पोटर्स एशोशिएसन अफ नेपालले आयोजना गर्न लागेको हो । विद्युतीय सवारीलाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको एक्स्पोमा १०० भन्दा बढी कम्पनीहरूको सहभागिता रहने आयोजकले दावी गरेको छ । साथै, उनिहरुले एक्स्पोमा १५० भन्दा धेरै ब्राण्डका गाडी र विद्युतीय सामग्रीहरु प्रदर्शनीमा राखिने जनाएका छन् । एक्स्पोमा विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री र अन्य विद्युतीय सामग्री रहने छन् । अटो कम्पोनेन्ट, टायर, ब्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेशन बैंक र बीमा कम्पनीहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ । विद्युतीय गाडीको बढ्दो लोकप्रियता र नेपालमा विद्युतीय सवारीसाधनको आवश्यकतालाई झल्काउन एक्स्पो सहयोगी बन्ने आयोजकको भनाइ छ । गत आर्थिक वर्षको तथ्यांक अनुसार निजी प्रयोगका साधनमा ईभीको आयात झन्डै ४० प्रतिशत पुगेको र तिब्रगतिमा प्रयोग बढ्दो क्रममा रहेकाले एक्स्पोले थप उचाई दिने आयोजको दावी छ । ‘ईभीको प्रयोग बढाउन हामीले एक्स्पो आयोजना गर्न लागेका हौं । अहिलेको आर्थिक मन्दीमा पनि ईभीको बिक्री उच्च हुँदा नयाँ उत्पादन बारे जानकारी दिन एक्स्पो सहयोगी बन्ने छ’, इभीमेनका अध्यक्ष तथा एक्स्पो संयोजक श्यामसुन्दर सापकोटा बताए ।

सार्वजनिक यातायातको भाडा ३ प्रतिशतले घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु भएलगतै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मुल्य घटाएलगतै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको छ । स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैया घटेको छ । त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रृबहाक सवारी साधनमा २.१३ प्रतिशत, मालबहाक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको महानिर्देशक नारायणप्रसाद भट्टराइले बताएका छन् । ‘घटाएको भाडादर आजदेखि नै लागु हुनेछ, त्यसको अनुगमण यातायता ब्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने ‘पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने वैज्ञानिक भाडादर कायम सम्बन्धी कार्यविधिको ब्यवस्था छ । त्यही कार्यविधिमा रहेर भाडा समायोजन गरिएको छ ।’ पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु हुनासाथ सार्वजनिक र मालवाह सवारी साधनको भाडादर समायोजन गर्ने मन्त्री ज्वालाले आइतबार नै मातहतको निकायलाई निर्देशन दिएका थिए ।

‘नाडा अटो शो’ भदौ २६ गतेदेखि सुरु हुने

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको ‘नाडा अटो शो’ भदौमा आयोजना गर्ने भएको छ । नाडा अटो शो भदौ २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ । नाडाले प्रदर्शनीका लागि बुकिङसमेत खोलेको छ । हरेक वर्षको दसैँ अगाडि आयोजना हुँदै आएको नाडा अटो शो कोभिड महामारीका कारण २०२० र २०२१ मा आयोजना भएको थिएन । २०२२ मा सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिबन्धका हुन पूर्ण रूपमा भएको थिएन । गत वर्ष नाडाले ईभी एक्सपो २०२२ आयोजना गरेको थियो । आउँदो नाडा अटो शोमा चार पांग्रे, दुई पांगे्र सवारीसाधनका साथै स्पेयर पाट्र्स, टायरटयूब, ब्याट्री लगायतका स्टल रहनेछन् । प्रदर्शनीमा बैंक, बिमालगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघ संस्था समेतको सहभागिता रहने छ ।