नेपालमा नै एसेम्बल गरिएको इलेक्ट्रिक याक बाइक बजारमा

काठमाडाैं । अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले भर्खरै आफ्नो इलेक्ट्रिक बाइक नेपाली बजारमा ल्याएको छ । जैष्णवी समूहले अन्य बाइकको तुलनामा ऊर्जाको धेरै कम खपत गर्ने चिनियाँ इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्लगसँग साझेदारी गर्दै याक बाइक नामक इलेक्ट्रिक बाइक बजारमा ल्याएको हो । कम्पनीले स्मार्ट सिटी, स्मार्ट राइड’ भन्ने नाराका साथ इलेक्ट्रिक बाइक याक बाइकहरू सार्वजनिक गरेको छ । यसले सवारीमा इन्धनको प्रयोग कटौती गरी नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्य राखेको कम्पनीले जनाएकाे छ । यसका साथै यसमार्फत कम आय भएका र बेरोजगार व्यक्तिहरूलाई केन्द्रित गरी ५०० जनासम्मको रोजगारी सिर्जना र तालिम समेत दिने कम्पनीले घोषणा गरेको छ । जैष्णवी ग्रुपका प्रमुख कार्यकारी अधिकृत जोन खड्का र अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यो पहलले नोपलको अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुर्याउने बताए ।  

निःशुल्क सेवा दिन ४ वटा विद्युतीय बस किन्दै ललितपुर महानगर

काठमाडौं । पछिल्लो समयमा नेपालमा विद्युतीय बस किन्ने क्रम बढ्दो छ । ललितपुर महानगरपालिकाले पनि ४ ओटा विद्युतीय बस खरीद गरी सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले साझा यातायातसँग सम्झौता गरी उक्त बस सञ्चालन गर्ने भएको हो । महानगरले उक्त बस खरिद गर्नको करिब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए । मेयर महर्जनका अनुसार पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकाले उक्त बसबाट निःशुल्क सेवा लिन पाउने छन् । बस खरिद तथा बसको व्यवस्थापन साझा यातायातले गर्छ भने लगानी महानगरले गर्ने भएको छ । ‘गत आर्थिक वर्षमा पनि महानगरले विद्युतीय बस किन्नको लागि बजेट विनियोजन गरेको थियो, किनिएका बस आउँदै छन्, चालु आर्थिक वर्षमा विद्युतीय बस सञ्चालन गर्ने भनेर बजेटको व्यवस्था गरेका हौं,’ मेयर महर्जनले भने । बस सेवा महानगरपालिकाभित्र संचालन हुनेछ । डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई विस्थापित गर्दै जाने नीतिअनुरूप महानगरले विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको हो । ‘पहिलो चरणमा चारवटा बस सञ्चालन गर्छौं, त्यसको प्रभावकारिता हेरेर थप ४ वटा बसहरू पनि थप्ने योजना छ, महर्जनले भने । सवारीका चापका कारण उपत्यका भित्र प्रदूषण पनि बढ्दो छ । विद्युतीय बस सञ्चालन गर्दा ऊर्जाको खपत साथै पेट्रोलको प्रयोग कम हुँदै जान्छ । सरकारले पनि विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिएको छ । यसैकारण आफूहरुले विद्युतीय बस संचालनकमा जोड दिएको मेयर महर्जनले बताए । २३ लाख रुपैयाँ पर्ने बस महानगरसँग सहकार्य गरी खरिद गर्न लागेको एक वटा विद्युतीय बसको मूल्य करिब २३ लाख रुपैयाँ पर्ने साझा यातायातका सञ्चालक समितिका सदस्य भूषण तुलाधरले बताए । उक्त बस खरिद गर्नको लागि टेन्डर भइसकेको छ । सदस्य तुलाधरका अनुसार उक्त बस ३ महिनाभित्र आइपुग्छ । ‘बस कस्तो खालको आउँछ, त्यसअनुसार चार्जिङ स्टेसन निर्माण गर्छाैं, अलिे त्यसको डिजाइनहरू बनिरहेको छ, चार्जिङ स्टेसन निर्माणका लागि विद्युत् प्राधिकरणसँग छलफलमा छौं,’ उनले भने । बस खरिद गरेपछि केही महिनापछि नै सञ्चालन हुनेछ । महानगरपालिकाले बस खरिद गर्नको लागि डेढ करोड रुपैयाँ बजेट साझा यातायातलाई दिइसकेको तुलाधरले जानकारी दिए । ४० थान विद्युतीय बस खरिद गर्दै साझा यातायात साझा यातायातले ४० वटा विद्युतीय बस खरिद गर्ने भएको छ । साझाले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले उपलब्ध गराएको ३ अर्ब रुपैयाँले नौ मिटर लम्बाइका २६ सिटे ४० वटा बस खरिद गर्दैछ । विद्युतीय बस खरिदको तयारी स्वरुप साझाले गत चैत १३ गते शुक्रबार ग्लोबल टेन्डर आह्वान गरेको थियो । साझाले ८ महिनाभित्र ४० वटै बस ल्याउने गरी चिनियाँ कम्पनी सिएचटिसी किनविन अटोमोबाइल कर्पोरेसनलाई जिम्मा दिएर पूर्ण तयारी गरेको हो । एक महिनामा प्रस्तावको मूल्यांकन सकेर अबको दुई महिना भित्रमा विद्युतीय बस खरिदको सम्झौता गर्ने तयारी साझेको छ । यस्तै प्रस्तावको मूल्यांकन सकिएको ६ महिनाभित्रमा काठमाडौं उपत्यकामा पहिलो चरणमा ४० वटा विद्युतीय बस गुड्ने अनुमान गरिएको छ । यसघि मन्त्रालयले २०७६ असोज १ गते सम्झौताअनुसार काम अघि नबढेको भन्दै खरिद प्रक्रिया रोकेको थियो । खरिद प्रक्रिया रोकेर साझालाई दिएको रकम फिर्ता लगेको सरकारले पुनः २०७७ फागुनमा साझालाई नै बस खरिद प्रक्रिया अघि बढाउन पत्राचार गरेपछि चैतमा साझाले बोलपत्र आह्वान गरेको थियो । यसअघि नै सरकारले साझालाई ३ सय थान विद्युतीय बस खरिद गर्न ३ अर्ब रुपैयाँ दिएको थियो । उक्त रकम मध्येबाट पहिलो चरणमा ४० थान विद्युतीय बस खरिद गर्न लागिएको हो ।

क्रिकेट एक्सेलेन्स सेन्टर र बजाज माेटरसाइकलकाे सहकार्य सुरु

काठमाडौं । हंसराज हुलासचन्द एण्ड कम्पनीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई प्रायोजन गर्ने भएकाे छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराजले बुधबार क्रिकेट एक्सिलेन्स सेन्टरसँग यसबारे सम्झाैता गरेकाे हाे । यसपछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भइ पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ । सम्झाैता समारोहमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले क्रिकेट एक्सेलेन्स सेन्टरसँग आवद्ध हुन पाउँदा अत्यन्त खुसी भएकाे बताए । ‘बजाज पल्सरलाई नेपाली युवाहरूले सधैं माया गर्नुभएको छ र पछिल्ला वर्षहरूमा क्रिकेट नेपाली युवाहरूको प्यासन बनेको छ । तत्कालीन कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । बजाज पल्सरले नेपालमा खेलकुदलाई सधैं प्रवर्द्धन गर्दै आइरहेको छ र यो सहकार्यले पक्कै पनि देशभरबाट थप गुणस्तरीय क्रिकेटरहरू उत्पादन गर्न मद्दत गर्नेछ,’ उनले भने । क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो, जसले घरेलु खेलाडीहरू विकास गर्ने र क्रिकेटमा व्यावसायिक करियरको लागि मार्गदर्शन गर्ने लक्ष्य राख्दछ । गुणस्तरीय क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञहरूबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ पूर्व कप्तान पारस खड्का र वर्तमान कप्तान ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेका हुन् ।