नाडाको भिसिटिएस तथा करसम्बन्धी प्रशिक्षण कार्यक्रम विराटनगरमा

काठमाडौं । नाडा अटोमोबाइल्सले भिसिटिएस तथा करसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित उक्त कार्यक्रम होटेल विग रोडसिस विराटनगरमा सम्पन्न भएको हो । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाको संस्थागत एशोसिएशन मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनसंगको संयुक्त पहलमा आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा भिसिटिएस तथा कर सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नाडाले जानकारी दिएको छ । नाडाका अनुसार यस्तो किसिमको प्रशिक्षण कार्यक्रम नाडाले विगतमा पनि गर्दे आएकोे र यही २०७६ साल माघ ९ गते पनि यस्तो कार्यक्रम काठमाण्डौमा सम्पन्न गरेको थियो । यस्ता प्रशिक्षण कार्यक्रम ७ वटै प्रदेशमा सम्पन्न गरिने छ । मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष सुभाष आचार्यको सभापतित्वमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनमा आवद्ध विभिन्न फर्म कम्पनीहरुकोतर्फबाट कूल ४२ जना प्रशिक्षार्थिले सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा राजश्व अनुसन्धान कार्यालय मोरङ्गका अधिकृत हितेस बस्नेत, आन्तरिक राजश्व कार्यालय मोरङ्गका अधिकृत पशुपति घिमिरे, जोगवनी भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडयाल, सि.ए तथा कार्यक्रमका प्रमुख प्रशिक्षक साहिल अग्रवालले प्रशिक्षण दिएका थिए । सरकारको प्रतिनिधित्व सहित यस किसिमको प्रशिक्षण कार्यक्रम आयोजना गरेको यो चौथौं भएको नाडाले जनाएको छ । खासगरी अटोमोवाइल व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्याहरुलाई दृष्टिगत गरी यस किसिमको प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमबाट धेरै हदसम्म अटोमोवाइल व्यवसायीहरु लाभान्वित भएको नाडाले जनाएको छ । उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका महासचिव सुनिल रिजालले गरेका थिए । त्यसैगरी सो कार्यक्रममा नाडाका पदाधिकारी र सदस्यहरु लगायत मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनका पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।

लक्जरी कारमा छालाको प्रयोग बन्द गरिँदै, कार उत्पादकहरू विकल्पको खोजिमा

काठमाडौं । पछिल्लो समयमा भिगन हुने चलन बढ्दो छ । भिगन भन्नाले पश्चिमी अभ्यास हो जुन हाम्रो साकाहारी सिद्धान्तभन्दा फरक छ । यो केवल साकाहारी खाना खाने वारेमा मात्र होइन कि, पूर्ण रुपमै दुध, दहि, मह, छाला, ऊन लगायत जनावरका कुनैपनि उत्पादनको प्रयोग नगर्नुमा आधारित रहेको छ । पशु कल्याण, स्वास्थ्य र वातावरणीय सरोकार जस्ता कुराले गर्दा यो परम्परा बढ्दो अवस्थामा छ । यहाँसम्म कि कार उत्पादकहरुले यो अभ्यास कारहरुमा पनि गर्न थालेका छन् । कार उत्पादकहरु कारका सिट लगायतमा जनावरको छालाको प्रयोग बन्द गर्ने तर्फ केन्द्रित हुँदै गएका छन् । जनावरको छालालाई लामो समयदेखि कारको इन्टेरिअरको लागि लक्जरी सामाग्रीको रुपमा प्रयोग गरिँदै आइएको छ र यो अझै पनि लोकप्रिय नै रहेको छ । यद्यपी, विगत केहि वर्षयता प्रिमियम कार उत्पादकहरुले जनावरका छालाको विकल्पहरु विकास गर्न विशेष मिहिनेत खर्चिन थालेका छन् । पछिल्ला दिनहरुमा कम्पनीहरुको त्यस्तो निर्णयलाई समर्थन गर्ने खालका सार्वजनिक रायहरु पनि आउन थालेका छन् । ६ पटक सम्म फर्मुला-१ को विश्व विजेता वन्न सफल लुइस ह्यामिल्टनले हालसालै मर्सिडिज बेञ्जलाई उसका कारहरुमा जनावरको छालाको प्रयोग पूर्ण रुपमै बन्द गर्न सल्लाह पनि दिएका छन् । यो नयाँ अवधारणा चाहिँ होइन । उदाहरणका लागि, मर्सिडिज बेञ्जले आफ्ना केहि कारहरुमा सन् २००३ देखि आर्टिको नामको सिन्थेटिक मेटेरियल जडान गर्न थालेको छ । त्यसैगरी टोयोटाले सोफटेक्स भन्ने सामाग्री प्रस्तुत गर्दछ भने फरारीले चाहिँ माइक्रो प्रेस्टिजलाई केहि मोडेलहरुमा छालाको विकल्पको रुपमा प्रस्तुत गरेको छ । टेस्लाले भने पूर्ण रुपमा छालाको सीट कभरको प्रयोग बन्द गरिसक्यो । टेस्लाले क्यालिफोर्नियाको एउटा फर्ममा सेयर किनेपछि पेटा अमेरिकाले यसलाई छालाको प्रयोग बन्द गर्न दबाब दिएको थियो । पेटा पशु अधिकारलाई लिएर लड्ने एक संस्था हो । भोल्भोको इलेक्ट्रिक ब्राण्ड पोलेस्टारले आफ्ना आउँदै गरेका उत्पादनहरुको इन्टेरियरमा केवल गैर-छालाको प्रयोग गर्नेछ । पोलेस्टारको प्रमुख थोमस इन्जेलाथ भन्छन् कि यसले हाम्रो वातावरणको हेरचाह केवल इलेक्ट्रिक वाहन लिएर आउनुमा सिमित छैन भन्ने देखाउँछ । कार्वन उत्सर्जन बढाउन पनि पशु काटमार उद्योगले बढावा दिएको हुनाले छालाको प्रयोगलाई पूर्ण रुपमै बन्द गर्दा फाइदा हुने कार उत्पादकहरु बताउँछन् यद्यपी उनीहरुका लागि यस्तो निर्णय चुनौतीको रुपमा खडा भने हुन सक्छ । कार उत्पादकहरुले हाल सामना गरिरहेको चुनौती भनेको जनावरको छाला समान अनुभव प्रदान गर्ने प्रिमियम सामाग्रीहरु फेला पार्नु हो जुन धेरै मात्रामा उत्पादन गर्न सकियोस् र लामो समय सम्म छाला जत्तिकै टिकाऊ पनि होस् ।

हुण्डाई क्रेटाको नयाँ संस्करण छिट्टै सार्वजनिक हुने, यस्ता विशेषताले बनाउनेछ खास

काठमाडाैं । हुण्डाईले भारतमा आउँदो मार्च १७ तारिखका दिन क्रेटाको नयाँ संस्करण सार्वजनिक गर्ने भएको छ । यस दोस्रो जेनेरेशन क्रेटामा परिमार्जित एक्स्टेरियर र इन्टेरियरका साथै बीएस६ इञ्जिन पनि समावेस हुनेछ । नयाँ क्रेटामा पहिलेको भन्दा बोल्ड डिजाइन हुनेछ । स्प्लीट हिटल्याम्प, स्प्लीट टेल-लाइट, नयाँ बम्पर र स्किड प्लेट, डुअल-टोन अलोए व्हिल्स लगायतले यसको एक्स्टेरियरलाई पहिलेभन्दा बोल्ड बनाएको हो । इन्टेरियरको कुरा गर्नुपर्दा ल्याण्डस्केप पोजिशनमा राखिएको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ब्लूलिङ्क कनेक्टर-कार टेक, पानोरामिक सनरुफ, वायरलेस चार्जिङ्ग, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कुल्ड सिटहरु लगायतले यसको इन्टेरियरलाई पहिलेभन्दा अझ तारिफयोग्य बनाएको छ । हुण्डाईले क्रेटाको इञ्जिनको बारेमा केहि खुलाएको भने छैन । तर भारतिय मिडियाहरुका अनुसार यसमा कियाको सेल्टोसकै इञ्जिन समावेश हुनेछ । यसको मतलव क्रेटा सेल्टोसको १.५ लिटरको डिजेल र १.५ लिटरकै पेट्रोल इञ्जिन र त्यसैगरी अर्को १.४ लिटरको टर्बोचाज्र्ड पेट्रोल इञ्जिन अप्शनमा उपलब्ध हुनेछ । १.५-लिटर डिजल इञ्जिनले ११५ पीएसको पावर र २५० एनएमको टर्क उत्पादन गर्दछ भने १.५ लिटर पेट्रोल इञ्जिनले चाहिँ ११५ पीएसको पावर र १४४ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी अर्को १.४ लिटर टर्बोचाज्र्ड पेट्रोल इञ्जिनले चाहिँ १४० पीएसको पावर र २४२ एनएमको टर्क उत्पादन गर्दछ । हालको क्रेटा १.६ लिटरको पेट्रोल तथा डिजेल इञ्जिन र त्यसैगरी १.४ लिटरको पेट्रोल इञ्जिन अप्शनमा उपलब्ध रहेको छ । फस्र्ट जेनेरेशन क्रेटाले मिडसाइज एसयूभी सेग्मेन्टमा ठूलो सफलता हासिल गर्न सफल भएको थियो । त्यसैले अब आउने नयाँ क्रेटालाई ठूलो जिम्मेवारी थपिएको छ, विशेषगरी अहिलेको बेजोड प्रतिष्पर्धीहरु बजारमा भइरहेको समयमा । लञ्च पश्चात् नयाँ क्रेटाले कियाको सेल्टोस, एमजीको हेक्टर र टाटाको एच५ लगायतका एसयूभी सित ठाडो प्रतिष्पर्धा गर्नुपर्नेछ । भारतिय बजारमा सो कारको मूल्य १० लाख रुपैयाँदेखि १६ लाख रुपैयाँको हाराहारी पर्न सक्ने अनुमान गरिएको छ ।