नेपालमै तयार भयो बजाजको ‘डोमिनार ४००’, पहिले भन्दा ६० हजार सस्तो पर्ने

काठमाडाैं । नेपालका सडकमा गुड्ने अधिकांश मोटरसाइकलहरु भारतमा निर्माण भएका हुन्छन् भने बाँकी चाहिँ जापान, इटाली, अमेरिका लगायतका देशमा निर्माण भएका हुन्छन् । तर पछिल्ला समयमा विभिन्न ब्राण्डहरुले नेपालमै मोटरसाइकल एसेम्बल गर्ने प्लान्ट स्थापना गर्ने क्रम पनि बढ्दो छ । यसैमध्येको एउटा ब्राण्ड बजाजले आफ्नो पावरफुल र स्पोर्टी मोडेल ‘डोमिनार ४००’ लाई हालसालै मात्र नेपालमै एसेम्बल गरेर बिक्रीको लागि टेकुस्थित शोरुममा पनि पठाइसकेको छ । नेपालमै बनेको भएर नै यस बाइकको मूल्य भारतीय डोमिनार भन्दा सस्तो पर्न गएको छ । नेपालमा यसको मुल्य ५ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ जुन भारतीय डोमिनारको मूल्यभन्दा ६० हजार रुपैयाँले सस्तो हो । डोमिनार आफ्नो पावरफुल इञ्जिन, एग्रेशिभ लुक्स र टुरिङ्ग विशेषताहरुका लागि प्रख्यात रहेको छ । बजाजको नेपालका लागि आधिकारीक बिक्रेता एचएच बजाजले जनाए अनुसार डोमिनारमा पाइने उपरोक्त विशेषताहरु नेपालमा निर्मित डोमिनारमा पनि यथावत्नै रहेको छ । अझ भन्ने हो भने नेपाली डोमिनार र भारतीय डोमिनारमा केहि फरक नै नरहेको कुरा कम्पनीले जनाएको छ । डोमिनार एउटा नेकेड मोटरसाइकल हो जसमा ३७३.३ सीसीको इञ्जिन समावेस गरिएको छ भने सो इञ्जिनले ३४.५ बीएचपीको पावर र ३५ एनएमको टर्क उत्पादन गर्दछ । १३ लिटरको ट्याङ्क क्यापासिटी रहेको सो मोटरसाइकलमा डुअल च्यानल एबीएस पनि जडान गरिएको छ ।

अटो एक्स्पो २०२० को मुख्य आकर्षणमा मारुती सुजुकीको ‘फ्युचरो-ई कन्सेप्ट’, के के छन् विशेषता ?

हाल भारतमा भइरहेकाे ‘अटो एक्स्पो २०२०’ मा विभिन्न अटो ब्राण्डहरुले आ-आफ्ना नयाँ उत्पादनहरुलाई प्रदर्शनमा राखेका छन् । माघ २२ गते (६ फेब्रुअरी) बाट सुरु भएकाे उक्त एक्स्पाेकाे मुख्य आकर्षणमा मारुती सुजुकीले प्रदर्शन गरेको फ्युचरो-ई रहेकाे छ । यो कारले भविष्यमा मारुती सुजुकीका मोडेलहरुमा पाइन सक्ने स्टाइलिङ्गलाई पनि झल्काएको छ । मारुतीका कारहरुको पारम्परिक डिजाइनभन्दा भिन्न रहेको यस कारलाई एसयूभी-कुपको शेपमा पेस गरिएको छ । यसको इन्टेरियर पनि एकदमै आधुनिक रहेको छ । यस कारमा चौडा स्क्रिन सहितको ड्यासबोर्ड, फ्युचरिस्टिक स्टेयरिङ्ग, इलेक्ट्रिकली कन्ट्रोल गर्न मिल्ने इन्टेरियर, एम्बियन्ट लाइटिङ्ग लगायतका विशेषताहरु समावेश गरिएको छ । मारुतीका अनुसार हाल यो एउटा इलेक्ट्रिक कारको रुपमा रहेको भएतापनि प्रोडक्सन भएर बजारमा आउँदा चाहिँ पेट्रोल र डिजेल इञ्जिन अप्शनका साथमा पनि उपलब्ध हुनेछ । फ्युचरो-ई कन्सेप्ट प्रोडक्सन भएर मिडसाइज एसयूभीको रुपमा बजार प्रवेश गर्नेछ । मारुतीले फ्युचरो-ई कन्सेप्टलाई कहिले प्रोडक्सनमा उतार्छ भन्ने वारे चाहिँ केहिपनि खुलाएको छैन । लञ्चपश्चात भने यस कारले धेरै प्रतिष्पर्धीहरुसँग सामना गर्नु पर्नेछ । अहिले कियाले मिडसाइज एसयूभी सेग्मेन्टमा राम्रो पकड जमाइसकेको अवस्था छ भने हुण्डाईले पनि आफ्नो सर्वाधिक चर्चित एसयूभी क्रेटाको सेकेण्ड-जेनेरेशनलाई छिट्टै नै बजारमा ल्याउने तयारी गरिरहेको छ । फ्युचरो-ई कन्सेप्टको लुक्सलाई ग्राहकमाझ चर्चा कमाउन सक्ने कारणको रुपमा आँकलन गरिएको छ । तर यो कुरा भने कन्सेप्ट मोडेलमै भएको स्टाइललाई प्रोडक्शन मोडेलमा कति हदसम्म यथावत राखिन्छ भन्ने कुराले नै निर्धारण गर्नेछ । यदि प्रोडक्शन मोडेलमा पनि कन्सेप्टको जस्तै शार्प स्टाइलिङ्ग समावेस गर्ने हो भने मारुतीले मिड-साइज्ड एसयूभी सेग्मेन्टमा राम्रै छाप छोड्ने चाहिँ पक्का छ ।

अटो एक्स्पो २०२०ः हिरोका तीन नयाँ इलेक्ट्रिक उत्पादन सार्वजनिक

काठमाडाैं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरोले भारतमा आज बाट सुरु भएको अटो एक्स्पो २०२० मा आफ्ना तीन नयाँ इलेक्ट्रिक उत्पादनहरुलाई प्रदर्शन गरेको छ । एई-४७ नामक मोटरसाइकल, एई-२९ तथा एई-८ नामक स्कुटर र त्यसैगरी एई-३ ई-ट्राइक नामक ट्राइसाइकल प्रदर्शन गरेको हिरोले पहिलेनै इलेक्ट्रिक वाहनतर्फ आफ्नो उपस्थिती जनाइसकेको थियो । यी तीन उत्पादनहरुको मूल्य भारतीय बजारमा ८० हजारको हाराहारी पर्ने अनुमान गरिएको छ । एई-४७ एई-४७ बाइकमा रिमुभेवल ४८ भोल्टको लिथियम-आयन ब्याट्री समावेश छ जसले फुल चार्ज हुन ४ घण्टाको समय लिन्छ । त्यसैगरी यसमा ४ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ जसले ८५ केएमपीएचको टपस्पिड प्रदान गर्न सक्दछ । इको र पावर गरी दुई राइडिङ्ग मोड दिइएको यस बाइकले इको मोडमा चाहिँ १६० किलोमिटरको रेञ्ज प्रदान गर्दछ भनेर कम्पनीले दावी गरेको छ । एई-४७ मा क्रउल एसिस्ट, क्रुज कन्ट्रोल र रिभर्स मोड लगायतका विशेषताहरु पनि समावेश छन् । यस बाइकको दुबै चक्काहरुमा डिस्क ब्रेक जडान गरिएको छ भने स्मार्टफोन कनेक्टिभिटी, रियल-टाइम ट्र्याकिङ्ग, जियो-फेन्सिङ्ग लगायतका फिचरहरु पनि दिइएका छन् । लञ्च पश्चात् यसले रिभोल्ट आरभी ४०० सँग प्रतिष्पर्धा गर्ने बताइएको छ । एई-२९ र एई-८ एई-२९ हाइ-स्पिड इलेक्ट्रिक स्कुटर सेग्मेन्ट अन्तर्गत् पर्दछ भने एई-८ चाहिँ लो-स्पिड सेग्मेन्ट अन्तर्गत पर्दछ । एई-२९ कम्फर्ट सिरिज अन्तर्गत्को स्कुटर हो भने एई-८ चाहिँ ट्रेन्ड सिरिज अन्तर्गत्को स्कुटर हो । यी दुवै स्कुटरहरुले फुल चार्जमा ८० किलोमिटरको रेञ्ज प्रदान गर्दछन् । थोरै प्रिमियम वर्गमा पर्ने एई-२९ स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी, एन्टी-थेफ्ट स्मार्ट लक, डिजिटल कन्सोल र मोवाइल चार्जर लगायतको विशेषता पनि समावेश गरिएको छ । एई-३ इ-ट्राइक हिरोले यस तीन चक्के वाहनलाई विजनेश टु विजनेश एप्लिकेशनको लागि लक्षित गरेर ल्याएको हो । एई-३ मा ३ किलोवाटआवरको लिथियम-आयन ब्याट्री दिइएको छ जसले फुल चार्जमा १०० किलोमिटरको रेञ्ज प्रदान गर्दछ । त्यसैगरी यसमा २५० वाटको इलेक्ट्रिक मोटर समावेश गरिएको छ र यसले ८० केएमपीएचको टपस्पिड प्रदान गर्दछ । एई-३ इ-ट्राइकमा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, मोवाइल चार्जर, वाक एसिस्ट, २६ केएमपीएचको स्पिड सहितको रिभर्स एसिस्ट र एप कनेक्टिभिटी लगायतका विशेषताहरु समावेश गरिएको छ ।