अब कहिल्यै आउने छैनन् होण्डाका यी दुई मोडेल, अपडेट गर्दा महँगो पर्ने निष्कर्ष
काठमाडाैं । होण्डा टू-व्हिलर्स इण्डियाले आउँदो अप्रिल महिना बाट आफ्ना दुई प्रोडक्ट ‘न्याभी’ र ‘क्लिक’ को उत्पादन बन्द गर्ने घोषणा गरेको छ । न्याभी एउटा मिनी बाइक हो भने क्लिक चाहिँ अफरोडिङ्ग स्कुटर हो र यी दुवैको इञ्जिन क्षमता ११० सीसीको रहेको छ । भारत सरकारले आउँदो अप्रिल महिना बाट देशभर गुड्ने सम्पूर्ण वाहनमा बीएस६ मापदण्ड अनुरुपको इञ्जिन हुनु अनिवार्य गरेको छ । बीएस६ एउटा त्यस्तो प्रदुषण मापदण्ड हो जसले इञ्जिन बाट उत्पादन हुने प्रदुषणलाई धेरै हदसम्म कम गर्दै वातावरणलाई दुषित हुन दिँदैन । सोही मापदण्डको नियमलाई मध्यनजर गर्दै धेरै मोटरसाइकल कम्पनीहरुले बीएस६ इञ्जिन समावेश गर्दै आफ्ना उत्पादनहरुलाई धमाधम अपडेट गर्न थालेका छन् । कम्पनीले राम्रो व्यापार गर्न सफल उत्पादनहरुमा बीएस६ इञ्जिन समावेश गरिरहेका छन् भने खासै राम्रो व्यापार गर्न नसकेका उत्पादनहरुलाई डिस्कन्टिन्यू गर्नुमा नै भलाई देख्ने गरेको पाइएको छ । होण्डाले पनि आफ्ना दुई उत्पादन न्याभी र क्लिकलाई बीएस६ मापदण्ड अनुरुप अपडेट गर्दा धेरै लागत पर्ने भएको हुनाले कुनैपनि प्रकारको अपडेट गर्नुको सट्टा बरु डिस्कन्टिन्यू नै गर्ने निर्णय लिएको हो । नेपालको परिप्रेक्ष्यमा भन्नुपर्दा होण्डा न्याभीले यहाँ खासै चर्चा कमाउन सकेको थिएन । फलस्वरुप होण्डा टू व्हिलर्सको नेपालका लागि आधिकारीक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले यसको विक्रीवितरण केहि महिना अघि बाटनै बन्द गरिसकेको छ । क्लिक भने नेपाली बजारमा उपलब्ध थिएन । नेपालमा उपलब्ध भएका वेला न्याभीको मूल्य १ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको थियो ।
गाडीको कर घटाउने अर्थमन्त्रीको आश्वासन, व्यवसायीले महशुस गर्ने गरी सुधारका कार्यक्रम ल्याइने
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सवारी साधनमा सरकारले लिदै आएको कर घटाउने संकेत गरेका छन् । विश्व व्यापार संगठनको प्रावधानअनुसार सवारी साधनको करको दरमा पुनर्बीचार गरिने उनको भनाइ छ । नाडा अटोमोवाइल्स डिलर एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालसहितको प्रतिनिधिसँगको भेटमा मन्त्री खतिवडाले यस्तो वताएका हुन् । नेपाल विश्व व्यापार संगठनको सदस्य भइसकेकोले संगठनको प्रावधानअनुसार पनि गाडीको भन्सार दर घटाउँदै लानुपर्ने उनले वताए । सरकारले अहिले निजी प्रयोजनका गाडीमा २ सय ४० प्रतिशतसम्म कर लिन्छ । भन्सार महसुल कम गर्दै जाने र त्यसले राजस्व असुली लक्ष्य प्रभावित भए आन्तरिक अन्य कर थप गर्ने मन्त्री खतिवडाले संकेत गरे । यस्तै, अटोमोवाइल क्षेत्रमा सरकारी नीतिका कारण परेको असर न्यूनिकरणका लागि विशेष पहल गर्ने आश्वासन पनि मन्त्री खतिवडाले दिए । अहिले अटोमोवाइल व्यवसाय सुस्ताएकोले व्यवसायीले महसुस गर्नेगरी सुधारका कार्यक्रम ल्याउने पनि उनको भनाइ छ । तर, यस्ता कार्यक्रमको लागि आगामी बजेटसम्म पर्खन मन्त्री खतिवडाले आग्रह गरे । मन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेटसम्म कुर्न व्यवसायीलाई आग्रह गरेपनि आगामी बजेटसम्म उनी नै रहने नरहने यकिन छैन । उनको आगामी फागुनमा राष्ट्रियसभा सदस्यको कार्यकाल सकिदैछ । उनी राष्ट्रियसभा सदस्यको हैसियतमा मन्त्री भइरहेका छन् । यस्तै, मन्त्री खतिवडाले गाडी खरिदमा अहिले राष्ट्र बैंकले ल्याएको व्यवस्था पुनर्बीचार गर्न लगाउने दाबी पनि गरे । अहिले बैंक तथा वित्तीय संस्थाहरुले गाडी मूल्यको ५० प्रतिशतसम्म मात्रै ऋण दिन पाउँछन् । यस्तै, गाडी खरिदमा कर तिरेर बाँकी रहेको आम्दानीको ५० प्रतिशत मात्रै किस्ता हुने गरी कर्जाको सीमा निर्धारण गरिने नियम राष्ट्र बैंकले केही साता अघिमात्रै ल्याएको छ । मन्त्री खतिवडाले यी दुबै प्रावधानमा पुनर्बीचार गर्ने आश्वासन दिएका हुन् । भारतबाट आउने भाडाका गाडीहरुको विषयमा चर्चा गर्दै उनले अटोमोवाइल स्पेयर पार्टसको अवैध व्यापारलाई रोक्न आधिकारिक विक्रेताले मात्र स्पेयर पार्टस पैठारी गर्न पाउने व्यवस्था लागू गर्न सकिने वताए । उच्च प्रविधिका विद्युतीय सवारी साधनहरुलाई सरकारले उच्च प्राथमिकता दिने भन्दै मन्त्री खतिवडाले बैंकहरुले लिने व्याज खाशगरी अटो लोनलाई पनि प्रणालीगत रुपमा स्थापित गर्ने वताए । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरु बारे मन्त्री खतिवडालाई विस्तृत जानकारी गराएका थिए । अध्यक्ष दुलालले अटोमोवाइल व्यवसाय सुस्ताउदै गएको, अटोलोनमा धेरै समस्याहरु देखापरेको, नाडाले भीसीटीएसका सम्बन्धमा देखापरेको समस्याहरुको निराकरणका लागि छिट्टै तत्सम्बन्धी प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गर्न लागेको वताए । काठमाण्डौ उपत्यकाको सडक तथा पुल निर्माणमा भईरहेको ढीलाई बारे जिज्ञाशा राख्दै कर कार्यालयका अधिकारीहरुले व्यवसायीहरुलाई गर्ने व्यवहार सम्मानजनक हुन नसकेको गुनासो अध्यक्ष दुलालको थियो । उपाध्यक्ष करण चौधरीले अटोमोवाइल व्यवसाय सुस्ताएको कारण डिलरहरुको लगानी डुब्ने अवस्था उत्पन्न भएको दुखेसो पोखे । महासचिव सुनिल रिजालले स्वच्छ व्यवसायको प्रवद्र्धनमा देखापरेका समस्या तथा चुनौतिहरुबारे धारणा राखे । राजश्व सचिव शिशिर ढुङ्गानाको समेत उपस्थिति रहेको सो छलफलमा नाडाका अध्यक्ष दुलाल लगायत उपाध्यक्षद्धय चौधरी र आकाश गोल्छा, महासचिव रिजाल, केन्द्रीय कार्यसमिति सदस्यहरु मिलनबाबु मल्ल, पंकज अग्रवाल, निलमणि पाठक, कपिल शिवाकोटी र प्रकाश कपुरी सहभागी थिए ।
टोयोटाले सानो साइजको एसयूभी ल्याउँदै, हाइब्रिड इञ्जिन समावेश गरिने
काठमाडाैं । टोयोटाले सानो साइजको एसयूभी उत्पादन गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण भइरहेको ‘टोयोटा यारिस’ को पछिल्लो जेनेरेशनमा आधारित हुने सो एसयूभीलाई आन्तरिक रुपमा टोयोटा बी-एसयूभी भनेर नामाकरण गरिएको छ । यसको आधिकारीक नाम भने कम्पनीले केहि पछि मात्र सार्वजनिक गर्नेछ । बजारमा हाल टोयोटाका र्याभ४, ल्याण्ड क्रुजर, फोर्चुनर, हाइल्याण्डर लगायतका एसयूभीहरु उपलब्ध छन् जसलाई ठुलो साइजका एसयूभीका रुपमा लिइन्छ । आजको बजारलाई हेर्ने हो भने सानो साइजको एसयूभी एकदमै लोकप्रिय हुँदै गएको पाइन्छ । सोही कुरालाई मध्यनजर गरेर कम्पिटेटिभ मार्केटमा आफ्नो हिस्सा जोगाइराख्न टोयोटाले नयाँ सेग्मेन्टतर्फ पनि आफ्नो उपस्थिती जनाउन खोजेको हुनुपर्छ । टोयोटा बी-एसयूभीमा पनि यारिसमा भएकै इञ्जिन समावेश हुनेछ । यसको मतलव हो सो कार १.०-लिटर पेट्रोल इञ्जिन र १.५-लिटर पेट्रोल इञ्जिन अप्शनमा उपलब्ध हुनेछ । टोयोटाले जनाएअनुसार सो कार हाइब्रिड सेटअपमा समेत उपलब्ध हुनेछ । हाइब्रिड कारमा पेट्रोल अथवा डिजेल इञ्जिनसँगै इलेक्ट्रिक मोटर पनि समावेश भएको हुन्छ र उक्त दुइले संयूक्त रुपमा पावर उत्पन्न गर्दछन् । यसले गर्दा इन्धनको खपत कम हुन जान्छ र साथै प्रदुषण पनि कम उत्पन्न हुन्छ । उत्पादन पश्चात् सुरुवाती चरणमा यस कारलाई युरोपेली बजारमा मात्र उपलब्ध गराइने योजना कम्पनीको रहेको छ । केहि पछि भने यसलाई एशियाली बजारमा पनि भित्र्याइने छ । जापनिज अटोमोवाइल उत्पादक कम्पनी टोयोटा विश्वसनीय र टिकाउ गाडि उत्पादन गर्ने ब्राण्डको रुपमा प्रख्यात रहेको छ । यो ब्राण्ड आफ्नो आयका अनुसार सन् २०१९ डिसेम्वरको अन्त्यसम्म विश्वको दशौं ठुलो कम्पनीको रुपमा रहन सफल पनि भएको छ ।