टोयोटाले अमेरिकामा १० अर्ब डलर लगानी गर्ने

टोकियो । जापानको प्रतिष्ठित अटोमोबाइल कम्पनी टोयोटाले संयुक्त राज्य अमेरिकामा १० अर्ब अमेरिकी डलरको लगानी गर्ने घोषणा गरेको छ । यो लगानी योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एसियाली भ्रमणका क्रममा गरिएको प्रारम्भिक टिप्पणीहरूको पुष्टि हो ।   गत अक्टोबर महिनामा अमेरिकी राष्ट्रपति ट्रम्पले टोकियो भ्रमणका क्रममा टोयोटाका प्रमुख कार्यकारी अधिकारी (सीइओ) एकियो टोयोडासँगको भेटपछि उक्त लगानी योजनाको उल्लेख गर्दै ‘उनीहरूले १० अर्ब डलर खर्च गर्न जाँदैछन्, नयाँ कार प्लान्टहरू निर्माण गर्न लाग्दैछन् र यो विभिन्न अमेरिकी राज्यहरूमा हुनेछ’ भनेर बताएका थिए ।  तर त्यतिबेला टोयोटाका वित्त प्रमुख केन्टा कोनले ‘१० अर्ब डलरको यो तथ्याङ्क पुष्टि गर्न कठिन’ भएको भन्दै राष्ट्रपति ट्रम्पका टिप्पणीहरूबारे प्रत्यक्ष रूपमा कुनै टिप्पणी गरेका थिएनन् ।  बिहीबार जारी गरिएको विज्ञप्तिमा कम्पनीले भने आगामी पाँच वर्षभित्र अमेरिकामा १० अर्ब अमेरिकी डलरको ‘अतिरिक्त लगानी’ गर्ने स्पष्ट घोषणा गरेको छ । टोयोटाका अनुसार यो नयाँ लगानीले अमेरिकामा कम्पनीको कुल लगानी लगभग ६० अर्ब डलरमा पुग्नेछ । यसको सुरुआत करिब ७० वर्षअघि कम्पनीले आफ्नो अमेरिकी सञ्चालन प्रारम्भ गर्दा भएको थियो। यो घोषणा विद्युतीय तथा हाइब्रिड सवारी साधनहरूका लागि लिथियम-आयन ब्याट्री उत्पादन गर्ने पहिलो अमेरिकी कारखानाको उद्घाटनसँगै गरिएको हो । नर्थ क्यारोलिनामा स्थापना गरिएको उक्त कारखाना अमेरिकामा टोयोटाको एघारौँ उत्पादन केन्द्र बनेको छ, जसमा करिब १४ अर्ब डलर बराबरको पूँजी लगानी र पाँच हजार १०० नयाँ रोजगारी सिर्जना हुने भन्ने कम्पनीको दाबी छ । यसअघि, जापान र संयुक्त राज्य अमेरिकाबीच सवारी साधनमा लाग्ने कर दर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत पुर्याउने सहमति भएपछि टोकियो सरकारले अमेरिकी अर्थतन्त्रमा पाँच खर्ब ५० अर्ब डलर लगानी गर्ने निर्णय गरेको थियो ।   ट्रम्प प्रशासनले जापानी अटो निर्माताहरूलाई आफ्ना अमेरिकी कारखानामा बनेका सवारी साधनहरू जापानमै निर्यात गर्न प्रोत्साहित गर्दै आएको छ । यस सन्दर्भमा टोयोटाका सार्वजनिक मामिलाका प्रमुख हिरोयुकी उडाले टोकियो मोटर शोमा भने, 'संयुक्त राज्य अमेरिकासँग जापानी प्रमाणीकरण मापदण्डहरू समायोजन गर्ने प्रयासहरू भइरहेको छ। यदि यी तयारीहरू सफल भए हामी यसबारे गम्भीरतापूर्वक विचार गर्न इच्छुक हुनेछौँ ।' टोयोटाका अनुसार कम्पनीले गत वर्ष अमेरिकामा बिक्री गरेका सवारी साधनमध्ये करिब आधा विदेशबाट आयात गरिएका थिए । तीमध्ये अधिकांश क्यानाडा र मेक्सिकोमा बनेका सवारी साधनहरू थिए भने जापानमा उत्पादन गरिएका करिब दुई लाख एकासी हजार गाडी पनि अमेरिकामा बिक्री भएका थिए । यो लगानी योजनाबाट टोयोटाको अमेरिकी बजारमा उपस्थितिलाई अझ सुदृढ बनाउने र विद्युतीय सवारी साधन उत्पादनमा कम्पनीको अग्रणी भूमिका विस्तार गर्ने अपेक्षा गरिएको छ । रासस   

एमएडब्लू वृद्धिले जित्यो पायोनियर इन न्यू एनर्जी प्रोमोशन अवार्ड

काठमाडौं । एमएडब्लू वृद्धिले फोटोन कमर्शियल भेहिकल्सका लागि प्रदान गरिने 'पायोनियर इन न्यू एनर्जी प्रोमोशन अवार्ड' प्राप्त गरेको छ । यो सम्मान बेइजिङ्गमा सम्पन्न फोटोन ग्लोबल कन्फरेन्स २०२६ मा प्रदान गरिएको हो । १४० भन्दा बढी देशहरूको सहभागिता रहेको कर्यक्रममा प्राप्त यो अवार्ड नेपालका लागि गर्वको विषय बनेको छ । फोटोनको लागि नेपाल विश्वव्यापी रूपमा प्रमुख ईभी बजारमध्ये एक हो, किनकि अहिले नेपालको कमर्शियल इभी क्षेत्रमा फोटोन दोस्रो स्थानमा पुगिसकेको छ जुन तथ्य नेपालको दिगो यातायाततर्फको प्रगतिको सूचक हो ।   फोटोन मोटरका उपाध्यक्ष किन झिडोङ्गले प्रदान गरेको यो अवार्ड एमएडब्लू वृद्धिका म्यानेजिङ डायरेक्टर विवेक सिकरियाले ग्रहण गरेका थिए । यो उपलब्धि नेपालमा फोटोनको सफलतामा योगदान गर्ने सबै कर्मचारी, साझेदार र सहयोगीहरूको मेहनत, समर्पण र साझा लक्ष्यको परिणाम हो । एमएडब्लू वृद्धि आफ्नो सम्पूर्ण टिम र फोटोनलाई निरन्तरको विश्वास, सहयोग र साझेदारीका लागि धन्यवाद व्यक्त गर्दछ । यी सबैले साझा प्रयास मार्फत् नेपाललाई इलेक्ट्रिक मोबिलिटीतर्फ अघि बढाउँदै दक्षिण एसियाको इभी विस्तारमा महत्वपूर्ण केन्द्रको रूपमा उभ्याइरहेका छन् ।   फोटोन ग्लोबल पार्टनर्स कन्फरेन्स २०२६ नोभेम्बर ६ देखि १० सम्म बेइजिङ्गमा सम्पन्न भयो । 'अ शेयर्ड भिजनस् टु बी अ वर्ल्ड-क्लास कमर्सियल भेहिकल इन्टरप्राइज' भन्ने विषयवस्तुका साथ आयोजित यस कार्यक्रममा १४० भन्दा बढी देशका २,००० भन्दा धेरै साझेदारहरूको सहभागिता थियो । कार्यक्रममा ११० अत्याधुनिक कमर्शियल भेहिकल्स प्रदर्शन गरिएका थिए र उद्योगको भविष्यलाई अघि बढाउने नवीनतम प्रविधि र अभिवृद्धि योजनाहरू पनि प्रस्तुत गरिएको थियो ।  

घरेलु बजारमा दबाब बढेपछि बीवाईडीको नजर विदेशी बजारमा, २०२६ मा १६ लाख सवारी बिक्री लक्ष्य

काठमाडौं । चिनियाँ विद्युत सवारी निर्माता बीवाईडीले आगामी वर्ष अर्थात् २०२६ मा विदेशमा अधिकतम १६ लाख सवारी बिक्री गर्ने लक्ष्य राखेको छ ।  सिटी ग्रुपले मंगलबार प्रकाशित प्रतिवेदनमा बीवाईडीले २०२५ बाट दोहोरो अंकको उच्च वृद्धिदरका साथ अन्तर्राष्ट्रिय विस्तारमा जोड दिने जनाएको छ । सिटीका अनुसार बीवाईडीको २०२६ को विदेशी बिक्री मार्गदर्शन १५ लाखदेखि १६ लाख युनिटसम्म रहेको छ, जुन २०२५ मा चीनबाहिर बिक्री हुने अनुमानित ९ लाखदेखि १० लाख सवारीभन्दा धेरै वृद्धि हो । यो वृद्धिको प्रमुख कारण नयाँ मोडलहरूको बजार प्रवेश हुने बताइएको छ । सिटीको प्रतिवेदनअनुसार बीवाईडीको ‘विदेशी बिक्री वितरण विभिन्न क्षेत्रहरूमा सन्तुलित’ रहेको छ । युरोप, उत्तर अमेरिका र एएसईएएन (दक्षिणपूर्वी एसियाली देशहरूको संगठन) देशहरूले २०२५ को कुल विदेशी बिक्रीको करिब एक तिहाइ–एक तिहाइ हिस्सा ओगट्ने अनुमान गरिएको छ । बीवाईडीको व्यवस्थापनले चालु वर्षको चौथो त्रैमासिकमा पूँजीखर्च अघिल्लो त्रैमासिकको तुलनामा घट्ने र २०२६ मा अझै ठूलो गिरावट आउने अपेक्षा गरेको छ । प्रतिवेदनका अनुसार, ‘सवारी तथा ब्याट्री उत्पादन क्षमता माग पूरा गर्न पर्याप्त हुने भएकाले पूँजी खर्च घट्ने सम्भावना छ । बीवाईडीले यसबारे टिप्पणी गर्न तत्काल प्रतिक्रिया दिएको छैन । सिटीले भने बीवाईडीको २०२६ को कुल बिक्री लक्ष्य खुलाएको छैन । यसअघि बीवाईडीले घरेलु बजारमा बिक्री घटेपछि २०२५ को लक्ष्य १६ प्रतिशत घटाएर ४६ लाख युनिटमा झारेको थियो । गत महिना मात्रै बीवाईडीले चार वर्षभन्दा बढी अवधिको सबैभन्दा ठूलो त्रैमासिक नाफा घटेको रिपोर्ट गरेको थियो । यस वर्ष हालसम्म कम्पनीले आफ्ना कुल सवारीमध्ये करिब २० प्रतिशत विदेशमा पठाइसकेको छ, जुन २०२४ को तुलनामा दोब्बर हो । बीवाईडीलाई अहिले चीनकै स्थानीय प्रतिस्पर्धी कम्पनीहरू जस्तै जीली र लिपमोटरसँगको प्रतिस्पर्धामा थप दबाब परेको छ, विशेष गरी सस्तो गाडी बजारमा। पछिल्ला पाँच वर्षमा बीवाईडीले चीनभित्र कम्तीमा आठवटा मेगा कारखाना निर्माण गरिसकेको छ ।  साथै कम्पनीले हङ्गेरी र ब्राजिललगायत देशहरूमा स्थानीय एसेम्ब्लीका लागि विदेशी कारखाना निर्माण गर्दै आएको छ र युरोपका लागि तेस्रो कारखाना स्थापनाको तयारीमा स्पेनलाई शीर्ष विकल्पका रूपमा राखेको समाचार रोयटर्सले पहिले नै जनाएको छ । पोर्शेमा आएको संकटले शीर्ष सेयरधनीको नाफा धराशायी दक्षिणपूर्वी एसियामा होन्डाको वर्चस्व धरापमा, ठूलो चुनौती चीनका ईभी निर्माता