नेपालमा टीभीएस एनटर्क १ लाख ५० हजार बिक्री

काठमाडौं । नेपालमा टीभीएस एनटर्क– १२५ १ लाख ५० हजार बिक्री भएको जगदम्बा मोटर्सले जनाएको छ । १ लाख ५० हजार बिक्री भएको अवसरमा जगदम्बा मोटर्सले बुधबार देशभरका अधिकृत टीभीएस शोरूमहरूमा सेलिब्रेट गर्‍यो । कार्यक्रममा ग्राहक, राइडर समुदाय तथा डिलरहरूको उल्लेख्य सहभागिता देखिएको कम्पनीले बताएको छ ।  यो उपलब्धि बिक्री अंक मात्र नभई विश्वासको प्रमाण पनि भएको कम्पनीको दाबी छ। लञ्चदेखि नै एनटर्कले रेसिङ–इन्स्पायर्ड डिजाइन, दमदार परफर्मेन्स र स्मार्ट कनेक्टेड विशेषतामार्फत युवावर्ग र सहरी कम्युटरहरूबीच लोकप्रियता कमाउँदै आएको छ ।  जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहक, डिलर तथा साझेदारप्रति आभार व्यक्त गर्दै यो उपलब्धि नेपाली राइडरहरूको भरोसा र देशव्यापी सेवा नेटवर्कको प्रतिफल भएको बताए ।  जगदम्बा मोटर्स शंकर ग्रुप अन्तर्गत नेपालमा टीभीएसको अधिकृत वितरक हो । 

चीनमा नम्बर वान बन्यो फोटोन मोटर

काठमाडौं । चीनको कमर्शियल भेहिकल उद्योगमा आफ्नो अग्रस्थान पुनः प्रमाणित गर्दै फोटोन मोटरले सन् २०२५ मा विश्वव्यापी रूपमा ६ लाख ५० हजारभन्दा बढी युनिट बिक्री गरेको छ ।  ड्राइभ टु ग्रेट भन्ने ग्लोबल थिमसहित कम्पनीले ६ लाख ५० हजारभन्दा बढी युनिट बिक्री गरेको हो । फोटोनका लाइट कमर्शियल भेहिकलदेखि हेभी ड्युटी ट्रक र न्यू इनर्जी सोलुसन्ससम्मका उत्पादनहरूले व्यवसायिक आवश्यकतामा निरन्तर साथ दिँदै चीनको बजारमा शीर्ष स्थान सुरक्षित गरेको हो ।  सन् २०२५ मा अन्तर्राष्ट्रिय बजारमा १‍ लाख ६४ हजार ५०० भन्दा बढी युनिट बिक्री भएको कम्पनीले जनाएको छ । फोटोनले लगातार १५ वर्षसम्म चीनको कमर्शियल भेहिकल निर्यातमा नेतृत्व कायम राखेको छ । हाल फोटोन गाडीहरू १४० भन्दा बढी देशमा उपलब्ध छन् । नयाँ वर्ष २०२६ मा पनि फोटोनको सकारात्मक लय कायमै छ । जनवरीमा मात्र कम्पनीले ५५ हजार ५५३ युनिट बिक्री गर्दै चीनमा शीर्ष स्थानमा रहनुका साथै ओभरसिज सेल्स १५ हजार १०२ युनिट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २०.२ प्रतिशतले वृद्धि हो । नेपालमा फोटोनको विश्वास र लोकप्रियता पनि तीव्र रूपमा बढिरहेको छ । एमएडब्लू वृद्धिमार्फत कम्पनीले १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्र र १५६ भन्दा बढी सीसीएसटू टाइप डीसी फास्ट–चार्जिङ पोइन्ट नेटवर्कमार्फत नेपालभरका ग्राहकलाई सेवा दिँदै आइरहेको छ ।

ट्याक्सी सुधारका लागि नाइमाले दियो विकल्पहरू, सिडान एकाधिकारको विरोध

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१ सम्बन्धमा देखिएका व्यवहारिक तथा नीतिगत विषयहरूबारे आफ्नो विस्तृत सुझाव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा औपचारिक रूपमा पेश गरेको छ । नाइमाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हाल कार्यान्वयनमा रहेको मापदण्डले ट्याक्सी सेवालाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा वर्गीकरण गरेको छ। प्रत्येक वर्गका लागि प्राविधिक, सुरक्षा र सेवा सम्बन्धी विशिष्ट मापदण्ड तोकिएका छन् । मापदण्डअनुसार, ती शर्तहरू पूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवामा समावेश गर्न सकिने व्यवस्था स्पष्ट छ । तर व्यवहारमा बागमती प्रदेशमा हाल सेडानले मात्र ट्याक्सी सेवा सञ्चालनको अनुमति पाएको छ । मापदण्डअनुसार सेडान बाहेकका अन्य उपयोगी र यात्रुमैत्री सवारी साधनहरू पनि ट्याक्सी सेवामा समावेश हुन सक्ने भए पनि हाल त्यसो नहुँदा नाइमाले ध्यानाकर्षण गराएको छ । विविध सवारी वर्गलाई ट्याक्सी सेवामा अनुमति दिँदा सेवा प्रदायकले आवश्यकताअनुसार लचकता पाउने, यात्रुहरूले सुविधा, सामान राख्ने स्थान र अपाङ्गता मैत्री पहुँच पाउने र समूहअनुसार वा परिवारका आवश्यकताअनुसार अतिरिक्त विकल्पहरू उपलब्ध हुने नाइमाले उल्लेख गरेको छ । विज्ञप्तीमा विश्वका विभिन्न देशमा ट्याक्सी सेवा विभिन्न आकार र वर्गका सवारी साधनमार्फत सञ्चालन भइरहेको तथ्यसमेत प्रस्तुत गरिएको छ ।  नाइमाले नेपालमा विशेषगरी बागमती प्रदेशमा विकल्प सीमित रहेको र केही अन्य सहरहरूमा फरक वर्गका सवारीसाधनलाई अनुमति दिइएको भए पनि सबैतिर समानता र व्यावहारिकपन नभएको बताएको छ । नाइमाले मन्त्रालयद्वारा तयार पारिएको नीतिगत ढाँचाको उद्देश्य र भावनाको पूर्ण सम्मान व्यक्त गर्दै आफ्ना सुझावहरू पेश गरिएको स्पष्ट पारेको छ । यी सुझावहरू उद्योगगत अनुभव, व्यवहारिक आवश्यकता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएको बताइएको छ ।