स्ट्यान्डर्ड चार्टर्डसँग सानिमा बैंकको सहकार्य, एपीआईमार्फत अन्तर्राष्ट्रिय भुक्तानी

काठमाडौं । सानिमा बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँगको सहकार्यमा एपीआईमा आधारित सीमापार भुक्तानी सेवा सुरु गरेको छ । भारतीय रुपैयाँमा हुने बाह्य भुक्तानी कारोबारलाई छिटो, सुरक्षित र स्वचालित बनाउन दुवै बैंकले अत्याधुनिक एपीआई प्रणाली सञ्चालनमा ल्याएका हुन् । बैंकका अनुसार यस साझेदारीसँगै सानिमा बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँग सीमापार भुक्तानीका लागि एपीआई कनेक्टिभिटी स्थापना गर्ने नेपालको पहिलो बैंक बनेको छ । नयाँ प्रणाली लागू भएपछि परम्परागत म्यानुअल तथा ब्याचमा आधारित भुक्तानी प्रक्रियाको स्थान पूर्ण रूपमा स्वचालित तथा रियल टाइम भुक्तानी प्रणालीले लिने बैंकले जनाएको छ । यसबाट अन्तरदेशीय भुक्तानी अझ छिटो, सहज र प्रभावकारी हुने विश्वास गरिएको छ । यसैबीच, दुवै बैंकबीच एपीआईमार्फत अमेरिकी डलरमा समेत भुक्तानी सेवा सञ्चालन गर्ने समझदारी भएको छ । यसले सीमापार बैंकिङ सहकार्यलाई थप विस्तार गर्ने र अन्तर्राष्ट्रिय कारोबारलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । सानिमा बैंकका प्रमुख वित्तीय अधिकृत (सीएफओ) निरज ढकालले यो पहलले सीमापार बैंकिङ सेवामा नवीन, सरल, छिटो र भरपर्दो सेवा प्रदान गर्ने बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाएको बताए । उनका अनुसार यसबाट नेपाल–भारतबीचको वित्तीय कारोबार थप सुरक्षित, सहज र तीव्र हुने तथा ग्राहकको अनुभवमा उल्लेखनीय सुधार आउनेछ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका हेड अफ फाइनान्सियल इन्स्टिच्युसन्स राजकमल बस्नेतले यो साझेदारीले स्ट्यान्डर्ड चार्टर्डको सीमापार बैंकिङ अनुभव र सानिमा बैंकको प्रविधिमैत्री एपीआई समाधानलाई एकीकृत गरेको बताए । उनका अनुसार यसबाट अन्तर्राष्ट्रिय कारोबारको समय र लागत घट्ने, पारदर्शिता बढ्ने तथा दक्षता, सुरक्षा र नियामकीय अनुपालन अझ सुदृढ हुनेछ ।

निफ्राको सञ्चालक समितिमा महेश आचार्य नियुक्त

काठमाडौं ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिमा महेश आचार्य नियुक्त भएका छन् ।  बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले आचार्यलाई सञ्चालक समितिमा अर्थ मन्त्रालयको प्रतिनिधिका रूपमा रहेका अमृत लम्सालको स्थानमा नियुक्त गरेका हुन् । आचार्य अर्थ मन्त्रालयका प्रतिनिधिका रूपमा सञ्चालक समितिमा रहनेछन् ।

हिमालयन बैंकको सञ्चालक सदस्य समितिमा पौडेल नियुक्त

काठमाडौं । हिमालयन बैंककको सञ्चालक समितिसदस्यमा सञ्चयकोषको तर्फबाट विरेन्द्र पौडेल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले असार २३ गतेदेखि लागू हुने गरेर पौडेललाई सञ्चालक समितिमा नियुक्त गरेको हो । पौडेल कोषका मूख्य प्रबन्धक हुन् ।