साधना लघुवित्तद्वारा लघुबीमा क्षतिपुर्ति दाबी वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । साधना लघुवित्तले वित्तीय साक्षरता र लघुबीमा क्षतिपुर्ति दाबी वितरण कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाको नवलपरासी जिल्ला स्थित शाखा कार्यालय सुनवलले सुनवल न.पा वडा नं ४ स्थित सुनवल चोकमा सो कार्यक्रम संचालन भएको थियो । वित्तीय साक्षरता कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले लघुवित्त संस्था गरिब तथा विपन्न परिवारलाई जिविको पार्जन तथा स–सना व्यवशायको माध्यमबाट नेपालमा गरिबी न्यूनिकरणमा महत्वपु्र्ण भुमिका निर्वाह गरेको र लघुवित्त संस्थाबाट लिएको कर्जा नियिमत तिर्न तथा कर्जा मिनाहा हुने भ्रमबाट मुक्त हुनु पर्ने कुरामा जोड दिएका थिए । हाल केहि व्यक्तिहरु लघुवित्त संस्थाको क्रृण मिनाहा हुन्छ भन्ने कुराको भ्रममा रहेको, लघुवित्त संस्थाले बाणिज्य बैंकहरुबाट होलसेल कर्जा लिएर खुद्ररा रुपमा न्युन मार्जिन हाल मार्जिन माइन्समा भएपनि सेवा प्रवाहलाई निरन्तरता गरिरहेकोले स्थानिय निकायको पदाधिकारी तथा समाजको बुद्धिजिवीहरुले कर्जा लिएपछि कर्जा तिर्नुपर्ने कुरालाई राम्रोसँग बुझाउनु पर्ने आवश्यक्ता रहेको, हल्लाको पछि नलागी यथार्थ कुरा पता लगाउन तथा लघुवित्त संस्थाको सेवा प्रवाहमा कमि कजोरी देखिएमा नेपाल राष्ट्र बैंकमा गुनासो राख्न सकिने भनि जानकारी गराउनु भएको थियो । सुनवल नगरपालिका वडा नं ४ का वडा सदस्य तेज वहादुर गुरुङ्गले वित्तीय संस्थाले पूँजीको अभावमा व्यवसाय गर्न नसकेका व्यक्तिहरुलाई ससानो कर्जा मार्फत् उद्यमशिल बनाउनुको साथै सदस्यको परिवारमा विपदको घडिमा समेत राहत पु–याई उदाहरणिय कार्य गरेकोमा धन्यवाद व्यक्त गर्दै वित्तीय संस्थाको सफलताको कामना गरे । यसैगरी एनएमवि बैंक सुनवल शाखा प्रमुख अर्जुन ज्ञवालीले वित्तीय संस्थाले बचत कर्जाको कारोबारसँगैं सामाजिक उत्तरदायित्व प्रति समेत खेलेको भूमिकाको प्रशंशा गर्दै वित्तीय संस्थाले आगामी दिनमा ग्राहक मैत्री सेवामा अग्रणी संस्थाको रुपमा आफ्नो पहिचान बनाउने विश्वास व्यक्त गरे । उल्लेखित कार्यक्रममा शाखा कार्यालय सुनवलमा आवद्ध केन्द्र नं ११६ मा आवद्ध सदस्य भुमिकला गैह्रेको असमायिक निधन भएकोमा हार्दिक श्रद्धाञ्जली व्यक्त गरि निजको श्रीमान भुपराज गैह्रेलाई बीमा क्षतिपुर्ति बापत ३ लाख २५ हजार निजको नाममा रहेको कर्जा भुक्तानी गरि बाँकी १ लाख १५ हजार नौ सय पन्ध्र वडा प्रतिनिधि र प्रमुख कार्यकारी अधिकृतले संयुक्त रुपमा क्षतिपुर्ति रकम वित्तरण गरेका थिए । वित्तीय संस्था हाल ३१ जिल्लामा ९३ वटा शाखा कार्यालय मार्फत १ लाख ५ हजार सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको साथै लगभग ५० हजार जना व्यक्तिहरुलाई लघुउद्यम तथा व्यवशाय गर्न कर्जा उपलब्ध गराएर रोजगारी सिर्जना गरेको, वित्तीय संस्थाले कर्जा, बचत, बीमा, रेमिटान्स मात्र नभई गैर वित्तीय सेवा पनि प्रदान गर्दै आएको र भविष्यमा आफ्नो सेवा प्रवाहलाई देशको विभिन्न भुभागमा बिस्तार गरि कार्यक्रम संचालन गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए । कार्यक्रममा सुनवल न।पा वडा नं ४ का वडा सदस्य तेज बहादुर गुरुङ, साधना लघुवित्त बित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने, लेखा अधिकृत चिरञ्जीवी चापागाई, एनएमवि बैंक सुनवल शाखाका प्रमुख अर्जुन ज्ञवाली, साधना लघुवित्त वित्तीय संस्थाका स्टेशन अधिकृत भुमिनन्द जैसी, शाखा कार्यालय सुनवलका शाखा प्रमुख कृष्ण रावल, स्थानिय समाजसेवी, बुद्धिजिवी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

२० अर्ब पुँजी पुर्‍याउन नेपाल रिलाई छैन सकस, हिमालयनसँग दुई विकल्प

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धि गर्न निर्देशन दिएसँगै पुनर्बीमा कम्पनीहरू त्यसकाे तयारीमा जुटेका छन् । प्राधिकरणले नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमा कम्पनीलाई एक वर्षभित्र २० अर्ब पुँजी पुर्याउन निर्देशन दिएसँगै कम्पनीका सञ्चालकहरू आन्तरिक छलफलमा जुटेका हुन् । प्राधिकरणले दुईटै पुनर्बीमा कम्पनीलाई १५ दिनभित्र पुँजी वृद्धिको योजना पेस गर्न पनि समय दिएको छ । अब कुन उपकरण अपनाएर पुँजी वृद्धि गर्ने भन्ने विषयमा दुवै कम्पनीका सञ्चालक समिति आन्तरिक छलफलमा जुटेका हुन् । उसो त यसअघि पनि प्राधिकरणले पुनर्बीमा कम्पनीका सीईओहरूलाई प्राधिकरणमै बोलाएर पुँजी वृद्धिको विषयमा छलफल गरिसकेको थियाे । प्राधिकरणले पुँजी वृद्धि गर्न निर्देशन दिए पनि कसरी वृद्धि गर्ने भन्ने विषयमा भने सार्वजनिक धारणा राखेको छैन । त्यसका लागि योजना पेस गर्न कम्पनीलाई नै जिम्मा दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल दुईटै पुनर्बीमा कम्पनीले पेस गरेको पुँजी वृद्धिको योजना अध्ययन गरेर सही विकल्पलाई अनुमति दिने बताउँछन् । नेपाल पुनर्बीमा कम्पनीको हालको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४४ हजार रुपैयाँ छ । २० अर्ब पुँजी पुर्याउन कम्पनीले ७ अर्ब १८ करोड ६४ लाख रुपैयाँ थप गर्नु पर्ने देखिन्छ । नेपाल पुनर्बीमा कम्पनीमा सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी बीमा कम्पनी तथा संगठित संस्थाहरूको लगानी छ । पुँजी वृद्धिका लागि सरकारले मात्रै ३ अर्ब पुँजी थप्नु पर्ने देखिएको छ । नेपाल पुनर्बीमा कम्पनीलाई भने पुँजी वृद्धिका लागि सकस नहुने देखिएको छ । कम्पनीले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा बोनस सेयर वितरण गरेर पुँजी बढाउने योजना बनाइरहेको छ । अपुग पुँजीका लागि कम्पनीले एफपीओ जारी गर्न सक्छ । सोही विषयमा कम्पनीमा छलफल पनि भइसकेको बुझिएको छ । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक समिति अध्यक्ष इश्वरी प्रसाद अर्याल आन्तरिक छलफल गरेर कुन विकल्प रोज्ने भन्ने विषय टुंगो लगाउने बताउँछन् । कम्पनीको सबैभन्दा ठूलो सेयरधनी नेपाल सरकार र अन्य सेयरधनीहरूसँग छलफल गरेर पुँजी वृद्धिको योजना तयार पार्ने उनको भनाइ छ । ‘पुँजी वृद्धिका लागि विकल्पहरू धेरै छन्, अहिले नै निर्णय भएको छैन, मुख्य सेयरधनी नेपाल सरकार वा अर्थमन्त्रालयसँग छलफल गरेर कसरी अघि बढ्ने भन्ने विषय टुंगो लगाउँछौं, मन्त्रालयमा मन्त्री तथा सचिवज्यूसँग छलफ गरेर आगामी दिशा तय गर्छाैं,’ उनले भने । यस्तै, हाल हिमालयन रिइन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । हिमालयनले हालै मात्र प्रिमियम मूल्यमा आईपीओ जारी गरेको थियो । सुरुमा ७ अर्ब रहेको पुँजी आईपीओ जारी गरेपछि १० अर्ब पुगेको छ । कम्पनीले अझै १० अर्ब पुँजी थप्नु पर्ने देखिएको छ । कम्पनीमा ३० जना संस्थापक सेयरधनी छन् । जसमध्ये सबैभन्दा धेरै सेयर स्वामित्व अम्बर प्रोभेष्टमेन्टको ६७ लाख ८५ हजार कित्ता रहेको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको ५०/५० लाख कित्ता, इन्फिनीटी होल्डिङ्गसकाे ४५ लाख कित्ता र जगदम्बा मोटर्सको ३२ लाख कित्ता सेयर स्वामित्व छ । यस्तै, केएल दुगड ग्रुपका प्रबन्ध संचालक विकास दुगड र जगदम्बा स्टिलसको २२/२२ लाख कित्ता, साफ्रोन सिके र हंसराज हुलासचन्दको २०/२० लाख कित्ता, आरएमसी कन्ष्ट्रक्सन र सशीकान्त अग्रवालको १५/१५ लाख कित्ता, कार्भी ग्लोबल, अटल फिन्कोर्प, अकोर्ड फिन्कोर्प र कालिका फिन्कोपको १३.५०/१३.५० लाख कित्ता सेयर स्वामित्व छ । कम्पनीमा सौर्य सिमेन्ट, सन्दिप अग्रवाल, राहुल अग्रवाल, विकास जे.वि.राणा, शालिमार इनभेष्टमेन्ट, राजेश हार्डवेयर, कैलाश सिरोहिया, किर्ती एपेक्स, ओण्डर भेन्चर्स, उज्जिवन मर्चेन्ट र अजन्ता होल्डिङ्गसको १०/१० लाख, एक्सप्रेस इनभेष्टमेन्ट र कामधेनु इनभेष्टमेन्टको ९/९ लाख कित्ता, पशुपति मुरारका र सिरिश कुमार मुरारकाको ७.२५/७.२५ लाख  कित्ता सेयर स्वामित्व छ । नेपाल पुनर्बीमाको तुलनामा हिमालयनलाई पुँजी वृद्धिमा केही सकस भोग्नु पर्ने देखिन्छ । कम्पनीले पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने वा विदेशी साझेदार भित्र्याउन सक्नेछ । कम्पनीले बोनस सेयर वितरण गरेर एक वर्षभित्र १० अर्ब पुँजी बढाउन सक्ने सम्भावना देखिँदैन । पुँजी वृद्धिको अर्को उपकरण भनेको मर्जर हो । तर, नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमाबीच मर्जरको सम्भावना शून्य प्राय छ । प्राधिकरणका कार्यकारी निर्देशक पौडेलका अनुसार अबको एक वर्ष अर्थात् वि.सं २०८१ माघ १० गतेभित्र पुँजी वद्धि गरेर २० अर्ब पुर्याउनु पर्नेछ । बीमा कम्पनीहरूको जोखिम बहन क्षमता बढाउन पुनर्बीमा कम्पनीहरूको पुँजी वृद्धि गराउन निर्देशन दिएको उनको भनाइ छ । पुनर्बीमा कम्पनीहरू बीमा कम्पनीको पनि बीमा गर्ने भएकाले पुँजी बढाउन आवश्यक रहेको उनले बताए । उनका अनुसार पुनर्बीमा कम्पनीहरूले विदेशमा पनि व्यवसाय गर्नु पर्ने भएकाले पुँजी बढाउन आवश्यक छ ।

पुनर्बीमा कम्पनीहरूले २० अर्ब पुँजी पुर्‍याउनु पर्ने, १५ दिनभित्र योजना पेस गर्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएको छ । प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई हालको पुँजी वृद्धि गराएर २० अर्ब पुर्याउन निर्देशन दिएको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार एक वर्षभित्र २० अर्ब पुँजी पुर्याउन कम्पनीलाई निर्देशन दिएको हो । नेपाल पुनर्बीमा कम्पनी र हिमालयन पुनर्बीमा (रिइन्स्योरेन्स) कम्पनी सञ्चालनमा छन् । यी दुई कम्पनीले अबको एक वर्ष अर्थात २०८१ माघ १० गतेभित्र पुँजी बढाएर २० अर्ब पुर्याउनु पर्ने कार्यकारी निर्देशक पौडलले बताए । नेपाल पुनर्बीमा कम्पनीको हाल चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४४ हजार रुपैयाँ रहेको छ । प्राधिकरणको निर्देशनपछि यस कम्पनीले एक वर्षभित्र ५६ प्रतिशत अर्थात् ७ अर्ब १८ करोड ६४ लाख ५६ हजार रुपैयाँ थप गर्नु पर्नेछ । यस्तै, हिमालयन रिन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुगेको छ । प्राधिकरणको निर्देशनपछि अब यस कम्पनीले १ सय प्रतिशत अर्थात् १० अर्ब पुँजी थप गर्नु पर्ने देखिन्छ । बीमा कम्पनीहरूको जोखिम बहन क्षमता बढाउन पुनर्बीमा कम्पनीहरूको पुँजी वृद्धि गराउन निर्देशन दिएको पौडेलले बताए । पुनर्बीमा कम्पनीहरू बीमा कम्पनीको पनि बीमा गर्ने भएकाले पुँजी बढाउन आवश्यक रहेको उनको भनाइ छ । ‘निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब र जीवन बीमाको पुँजी ५ अर्ब पुगिसकेको छ, बीमा कम्पनी जोखिम बहन गर्ने संस्था हुन्, ती संस्थाको पनि जोखिम बहन गरिदिने संस्था पुनर्बीमा कम्पनी हुन्, त्यसैले त्यो जोखिम बहन क्षमता बढाउन पुनर्बीमा कम्पनीहरूको पुँजी वृद्धि गर्न भनेका हौं,’ उनले भने । साथै, पुनर्बीमा कम्पनीहरूले विदेशमा पनि व्यवसाय गर्नु पर्ने भएकाले पुँजी बढाउन आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार दुइटै पुनर्बीमा कम्पनीलाई पुँजी वृद्धिको योजना पेश गर्न १५ दिनको समय दिएको छ । ‘नेपाल रिन्स्योरेन्सको १२/१४ अर्ब पुँजी छ, अर्काे वर्षको नाफा जोडिएपछि १५/१६ अर्ब पुग्छ, ४/५ अर्ब अपुग हुन्छ,’ उनले भने, ‘हिमालयन रिले आईपीओ जारी गरेर १० अर्ब पुर्याइसकेको छ, अब १० अर्ब पुर्याउनु पर्छ, अब त्यो रकम उनीहरू कसरी पुर्याउने भनेर योजना पेश गर्छन्, प्राधिकरणले अध्ययन गरेर अनुमति दिनेछ ।’