सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५ ठाउँमा घरजग्गा किन्दै
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले घरजग्गा तथा जग्गा खरिद गर्ने भएको छ । कम्पनीले कार्यालय प्रयोजनका लागि विभिन्न ७ स्थानमा घर तथा जग्गा खरिद गर्ने भएको हो । कम्पनीले विराटनगर महानगरपालिका, वीरगंज महानगरपालिका, बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका र नेपालगन्ज उपमहानगरपालि क्षेत्रभित्र घरजग्गा खरिद गर्ने जनाएको छ । कम्पनीका अनुसार डेढ कठ्ठा वा ५ हजार ४६७.५ वर्गफुटदेखि ३ कठ्ठा वा १० हजार ९३५ वर्गफुटसम्म भएको क्षेत्रफल भएको हुनु पर्नेछ । नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका तथा शैद्धान्तिक स्वीकृतिको अधिनमा रही सो क्षेत्रमा घरजग्गा खरिद गर्न लागेको कम्पनीले बताएको छ । इच्छुक घरजग्गाधनीले २१ दिनभित्र बोलपत्र पेश गर्नु पर्ने कम्पनीले जनाएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सका थप दुई शाखा विस्तार
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले थप दुई शाखा कार्यालय विस्तार गरेको छ । इन्स्योरेन्स कम्पनीले काभ्रेको बनेपा र सुनसरीको इटहरीमा गरी २ वटा शाखा कार्यालय विस्तार गरेको जनाएको छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा कम्पनीले एकैपटक दुई शाखा सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार बनेपा शाखा शुक्रबार उद्घाटन गरि सञ्चालनमा ल्याएको हो । यस्तै, इटहरी शाखा भने आज आइतबारदेखि सञ्चालनमा आएको कम्पनीले जनाएको छ । यी दुई शाखासहित थप ४ ठाउँमा शाखा विस्तार गर्ने कम्पनीले जनाएको छ । सानो इन्स्योरेन्स, ठूलो केयर भन्ने नाराका साथ कम्पनीले आफ्नो सेवा देशभरि पुर्याइरहेको छ ।
आइएमई लाइफद्वारा नेपाली क्रिकेट खेलाडीलाई २५ लाख रुपैयाँ बराबरको म्यादी जीवन बीमा
काठमाडौं । नेपाल टी-२० विश्वकपमा छनोट हुन सफल भएको सुखद् अवसरमा टी-२० नेपाली क्रिकेट टोलीलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बिमांक २५ लाख रुपैयाँ बराबरको आइएमई सुरक्षा म्यादी जीवनबीमा प्रदान गर्ने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मनोबल बढाउन र सम्मानस्वरुप खेलाडीलाई उक्त जीवन बीमा प्रदान गर्ने भएको कम्पनीले जनाएको हो । टी-२० विश्वकप फाइनल एसियाका टोलीमा भएका र नेपाली क्रिकेट जगतमा महत्त्वपूर्ण योगदान पुर्याएका सबै २० खेलाडीलाई उक्त पोलिसीबाट पुरस्कृत गर्ने कम्पनीले जनाएको गरेको छ । यूएईविरुद्ध उत्कृष्ट प्रदर्शन गरी फाइनलमा प्रवेश गरेको नेपाली क्रिकेट टोली आगामी खेलमा ओमानसँग खेल्ने छ । राष्ट्रिय क्रिकेट टोलीलाई टी-२० विश्वकपको यात्रामा समर्थन गर्न पाउँदा उत्साहित रहेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ । नेपाली क्रिकेट टोलीलाई टी-२० विश्वकप फाइनल एसियाको फाइनल खेलका लागि शुभकामना दिनुका साथै कम्पनीले आगामी दिनमा पनि नेपाली खेलकुद जगतलाई समर्थन तथा प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।