सनराइज क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने
काठमाडौं । सनराइज क्यापिटलले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । क्यापिटलले जेष्ठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो । क्यापिटलको यस सुविधा तथा अभियानबाट विशेषत पूंजी बजार बाहिर रहेका गृहणी, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई विशेष फाईदा पुग्नुका साथै सर्वसाधारण व्यक्तिहरुमा डिम्याट खाताको पुहँचमा वृद्धि हुने कम्पनीले विश्वास लिएको जनाएको छ । यस सुविधा सनराइज क्यापिटलको सम्पूर्ण शाखा कार्यालय वा कम्पनीका वेवसाईटबाट पनि लिन सकिने कम्पनीले जनाएको छ ।
बीमाशुल्कमा २० कम्पनीः एभरेष्ट इन्स्योरेन्स पनि अर्ब क्लबमा
काठमाडौं । बीमाशुल्क संकलनमा एभरेष्ट इन्स्योरेन्स पनि अर्ब क्लबमा प्रवेश भएको छ । चैत महिनामा करोडको क्लबमा रहेको इन्स्योरेन्स एक महिना भित्रमा अर्ब क्लबमा प्रवेश गर्न सफल भएको हो । इन्स्योरेन्सले गत बैशाख महिनामा १ अर्ब ४ करोड २० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जुन गत महिनाको तुलनामा ११ करोड ४६ लाख रुपैयाँले बढी हो । एभरेष्टले चैत मसान्तसम्म ९२ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यससँगै अर्ब क्लबमा हुने कम्पनीको संख्या बढेको छ । सञ्चालित २० कम्पनीहरुमध्ये तीन कम्पनीबाहेक सबै अर्थात १७ वटा बीमा कम्पनीहरुले एक अर्बभन्दा बढी प्रिमियम संकलन गरेका छन् । उनीहरुले चालु आर्थिक वर्षको १० महिनामा अर्बभन्दा बढी प्रिमियम संकलन गरेका हुन् । अब सानिमा, जनरल र नेशनल इन्स्योरेन्स मात्रै अर्ब क्लबमा भित्रिन बाँकी छ । बैशाखसम्ममा यी तीन कम्पनीले क्रमशः ८० करोड ९२ लाख, ७५ करोड ९८ लाख र ७४ करोड ५४ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । त्यस्तै, सबैभन्दा बढी बीमाशुल्क आर्जनमा शिखर इन्स्योरेन्स नै अग्रस्थानमा रहेको छ । शिखरले बैशाख मसान्तसम्म १ लाख ९७ हजार ५९९ वटा बीमा पोलिसी मार्फत ४ अर्ब १३ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । त्यस्तै, दोश्रो स्थानमा रहेको सगरमाथाले २ अर्ब ५९ करोड, नेकोले २ अर्ब ४१ करोड र सिद्धार्थले २ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । बीमालेखको आधारमा भने नेको इन्स्योरेन्सले सबैभन्दा बढी बीमा पोलिसी बिक्री गरेको देखिन्छ । बीमा समितिको तथ्यांक अनुसार नेकोले समीक्षा अवधिमा २ लाख २९ हजार ६०५ वटा पोलिसी बिक्री गरेको छ । समितिका अनुसार समग्रमा निर्जीवन बीमा क्षेत्रले कूल ३१ अर्ब १९ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरको छ । सो क्षेत्रले चालु आवको १० महिना (असारदेखि बैशाखसम्म)मा कूल २३ लाख ४८ हजार २३२ वटा बीमालेख जारी गरी सो मात्राको प्रिमियम संकलन गरेका हुन् । जुन पछिल्लो महिनाको तुलनामा साढे २ अर्ब रुपैयाँ बढी हो । निर्जीवन बीमा कम्पनीले गत चैत मसान्तसम्म २८ अर्ब ७० करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो । कुनको कति ?
ओझा सीईओ भएपछि राष्ट्रिय बीमा कम्पनीको वार्षिक प्रतिवेदन धमाधम स्वीकृत
काठमाडौं । वर्षौंदेखि विचाराधिन अवस्थामा रहेको राष्ट्रिय बीमा कम्पनी (आरबीसीएल) को वार्षिक प्रतिवेदन धमाधम स्वीकृत भइरहेको छ । नेपाल सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझाले कम्पनीको सीईओको जिम्मेवार पाएपछि पेन्डिङ्ग रहेका कामहरु धमाधम हुन थालेको हो । सरकारको निर्णयपछि ओझाले गत चैत १५ गतेदेखि कम्पनीको सीईओको कार्यभार सम्हालेका हुन् । उनी सीईओ भएर जाँदा कम्पनीको आर्थिक वर्ष २०७०/७१ सम्मको लेखापरीक्षणको काम सम्पन्न भएको थियो भने त्यसयताका कामहरु थाती थिए । अर्थात ८ वर्षयताकै कामहरु पेन्डिङ् थिए । ओझा कम्पनीको सीईओ बनेको करिब दुई महिना पुग्दै छ । यो अवधिमै उनले दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन स्वीकृत गराइसकेका छन् । सीइओ ओझाका अनुसार नियामक निकाय बीमा समितिबाट कम्पनीको आर्थिक वर्ष २०७१/७२ र आर्थिक वर्ष २०७२/७३ को वित्तीय प्रतिवेदन स्वीकृत भएको हो । यता समितिले पनि हालै मात्र दुई वर्षको वार्षिक प्रतिवेदनलाई स्वीकृति दिएको समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता समेत रहेका राजुरमण पौडेलले बताए । दुई महिनामा दुई आवको वित्तीय विवरण स्वीकृत भएको कम्पनीको तत्काल थप दुई आवको स्वीकृत हुँदैछ । २०७९ असारमसान्तसम्म थप दुई वर्ष २०७३/७४ र २०७४/७५ को वित्तीय विवरणहरु स्वीकृत गराइसक्ने सीईओ ओझाले बताए । त्यसभन्दा पछिल्ला आवका पेन्डिङ्ग रहेका कामहरु आगामी आर्थिक वर्ष २०७९/८० को साउन मसान्तसम्ममा अघि बढाउने कम्पनीको योजना छ । हाल कम्पनीको आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ वर्षको प्रतिवेदन महा लेखापरीक्षकको कार्यालयबाट लेखा परीक्षक अनुमोदन (अडिटर एप्रुप) हुन बाँकी छ । कम्पनीले अगाडिदेखिका कामहरु गर्न नसेकोले नै कार्यालयले कारवाही स्वरुप कम्पनीलाई होल्डमा राखेको सीईओ ओझा बताउँछन् । आगामी साउनसम्ममा अडिटर तोक्नलाई महालेखापरीक्षकको कार्यालयलाई अनुरोध गर्ने उनले बताए । ‘सायद यति अगाडि बढेपछि उहाँहरु सकारात्मक हुनुहुन्छ होला,’ ओझाले भने । ८ वर्ष अघिदेखिको लेखापरीक्षण स्वीकृत नगराएसँगै कम्पनीलाई वार्षिक साधारण सभा गर्न बाटो खुलेको छैन । तर अब आगामी वर्षभित्र गत आवसम्मको सभा गरिसक्ने तयारीमा कम्पनी रहेको छ । ‘काम गर्दै जाउ, सम्भव भएसम्म आगामी वर्षभित्र आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक साधारण सभा गर्न सकिन्छ की भन्ने छ,’ सीईओ ओझाले भने । बीमा ऐन, २०४९ अनुसार बीमा कम्पनीले आफूले गरेको बीमा व्यवसायको हिसाब-किताबको लेखापरीक्षण मान्यता प्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष सकिएको मितिले १० महिनाभित्र समितिलाई बुझाउनुपर्ने व्यवस्था छ । तर राष्ट्रिय बीमा कम्पनीमात्रै होइन अधिकांश बीमा कम्पनीले तोकिएको समयमा प्रतिवेदन लेखापरीक्षण गराएको पाइदैन ।