यी हुन् अर्थमन्त्री वाग्लेले गरेका तीन निर्णय
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै महत्वपूर्ण तीन निर्णय गरेका छन् । उनले शुक्रबार सिंहदरबारको अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै तीन वटा महत्वपूर्ण निर्णय गरेका हुन् । उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने निर्णय गरेका छन् । यस्तै, चैत्र १२, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने निर्णय गरेका छन् । उनले निजी उद्यम–व्यवसाय सुरक्षा एवं प्रवद्र्धन र ठुला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दैं वृहत आर्थिक–कानूनी सुधारको मार्गचित्र बनाउने निर्णय पनि गरेका छन् ।
अर्थमन्त्री डा. वाग्लेको पहिलो निर्णय : १५ ऐन खारेज गर्ने
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग सहित १५ ऐन खारेज गर्ने निर्णय गरेका छन् । अर्थमन्त्रीको कार्यभार सम्हाल्दै वाग्लेले शुक्रबार यस्तो निर्णय गरेका हुन् । ‘रास्वपाले वाचापत्र पेस गरेको छ, त्यसमा राज्यले स्वीकार गरेका धेरै कुरा ग्रहण गर्दै कार्यान्वयन कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका हौं,’ वाग्लेले भने । साथै, १२ चैतसम्मको पछिल्लो आर्थिक स्थितिपत्र (ह्वाइटपेपर) तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् । उनका अनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव अनुसार राजस्व अनुसन्धान विभाग खारेज सहित कानुन खारेजी अध्ययन गर्न कार्यदलले काम गर्ने छ । उनले प्रणालीमा अधिक नियमन गरिएका कारण अर्थतन्त्र चलायमान बनाउन उप्रेरणा सहितका समस्या सल्टाएर अगाडि बढ्ने बताए ।
यस्तो बन्यो बालेन क्याबिनेट
बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेका छन् । उनी लोकतन्त्र पछिकै कान्छो प्रधानमन्त्री हुन् । उनीसँगै १४ जना मन्त्रीले पनि सपथ लिएर पदभार ग्रहणका लागि सिंहदरबार पुगेका छन् । बालेको मन्त्रिमण्डलमा डा. स्वर्णीम वाग्ले अर्थमन्त्री बनेका छन् भने सुदन गुरुङ गृहमन्त्री बनेका छन् । यस्तै, शिशिर खनाल परराष्ट्र मन्त्री बनेका छन् भने सोविता गौतम कानुन मन्त्री बनेकी छन् । यस्तै, शिक्षा मन्त्री सस्मित पोखरेल, भौतिक पुर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, सामान्य प्रशासन÷भूमी, सहकारी तथा गरिबी निवारण प्रतिभा रावल र सिता वादी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन् । यस्तै, विराज भक्त श्रेष्ठ उर्जा जलस्रोत तथा सिंचाई मन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री, गनेश पौडेल संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री र डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना मन्त्री बनेका छन् । दीपक शाहले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् भने गिता चौधरीले कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । रक्षा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय बालेन आफैले सम्हाल्ने छन् ।