सुशीला कार्की राष्ट्रिय नायक, राष्ट्रपतिको बहस जायज

प्रधानमन्त्रीको जिम्मेवारीमा सफलता हासिल गर्नु भएकोमा सुशीला कार्कीलाई हार्दिक बधाई । तपाईं राष्ट्रिय नायक बन्नुभयो । (सञ्चार क्षेत्रको लेखनमा पात्रहरूलाई तिमी लेखिन्छ । तर, मैले अति सम्मानपूर्वक तपाईं भनी सम्बोधन गर्दैछु ।)  भविष्यमा सरकारले तपाईंलाई राष्ट्रिय नायकको रूपमा सम्मान गर्ला वा नगर्ला । तर, तपाईंले संकटपूर्ण अवस्थामा देशको नेतृत्व लिनु भयो । पाएको जिम्मेवारी पूरा गर्नु भयो । र, राष्ट्रिय आमाको परिचय बनाएर नेपालीको मन मस्तिष्कका बस्न सफल हुनुभयो ।     यतिबेला म गत भदौ २४ गतेलाई सम्झन्छु । दिनभर संसद, सिंहदरबार, अदालतसहित देशभर भएको व्यापक आगजनी, कुटपिट, हत्या हेर्नु परेको थियो- प्रत्यक्ष र भर्चुअली । त्यतिबेला अरू नेपाली झैं म पनि डरले थर्कमान थिएँ । जीवनमा पहिलो पटक अफिसमा कार छोडेर घर गएको थिएँ राति ९ बजे । घर पुग्दा छोराछोरी आत्तिएर रोए, असुरक्षाको डरले । परिवारलाई सम्झाएर सुताउन पनि मलाई गाह्रो भएको थियो ।  व्यक्तिगत असुरक्षासँगै देशको सार्वभौमिकता नै गुम्ने हो कि भन्ने डर सारा नेपालीमा पैदा भएको थियो । म र मेरो परिवारलाई पनि ।    त्यस कठिन घडीमा देशको कार्यकारी प्रमुखको जिम्मेवारी समाल्नु भयो । सार्वभौमिकता जोगाउनु भयो । गुम्नै लागेको गणतन्त्र र लोकतन्त्र जोगाउन सफल हुनुभयो । सत्ता सम्हालेको ६ महिना नबित्दै निर्वाचन सम्पन्न गर्नुभयो । संविधान बाहिर पुगेको सत्तालाई संविधानभित्र ल्याइदिनुभयो । राज्यका सबै संस्था र पद्धतिलाई लयमा फर्काइदिनुभयो । विश्वसामु नेपालीको शिर उचो बनाइदिनुभयो । जलिरहेको देशको आगो निभाउन सफल हुनुभयो । बगिरहेको रगतको खोलो सुकाउन सफल हुनुभयो । तपाईंको कार्यकालमा राज्यको गोलीबाट एक जनाले पनि ज्यान गुमाउनु परेन । शान्ति पुन:स्थापनाको नमुना विश्वलाई देखाउनु भयो ।  अब तपाईं सारा नेपालीको आमा बन्नु भएको छ । म जस्तै सारा नेपालीले तपाईंलाई वर्षौंसम्म सम्झिरहनेछन् । निर्वाचनको मिति सार्न प्रमुख दलहरूले भनिरहेकै थिए । तपाईंलाई केही सत्ता लम्ब्याउने अवसर पनि थियो । तर, त्यसको लोभ गर्नु भएन । समयमै निर्वाचन गरी सत्ता हस्तान्तरणको तयारीमा जुट्नु भएको छ । तपाईंलाई उच्च सम्मान व्यक्त गर्दछु ।  तपाईं र देशको यस सफलतामा बलियो टेवा दिने राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश शर्माबारे छुट्टाछुट्टै लेख बनाउन सकिन्छ । फागुन १९ गते जसरी तपाईंले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको तारिफ गर्नुभयो, त्यसरी नै तपाईंलाई दरिलो टेवा दिनेहरूको बारेमा पक्कै पनि तपाईं क्रमशः बोल्दै जानु हुनेछ ।  देश संकटमा परेको बेलामा सम्हाल्न जुटौं भनेर तपाईंले मन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गर्नेहरू, तपाईंप्रति अविश्वास गर्नेहरूको पंक्ति पनि लामै छ । बब्लु गुप्ता, जगदीश खरेल, कुलमान घिसिङ, महावीर पुनः जस्ता अवसरवादी प्रवृत्तिका कारण १० पटक मन्त्रिपरिषद गठन, पुनर्गठन, जिम्मेवारी हेरफेर गर्नुपर्ने तपाईंका बाध्यता पनि हामीले देखेका छौं ।  घरी ‘आमा’ भनेर खुट्टा ढोग्ने, घरी ‘मैले बनाएको प्रधानमन्त्री, मै घिसारेर सडकमा ल्याउँछु’ भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बुट बजार्ने सुदन गुरुङ प्रवृत्तिको पनि तपाईंले सामना गर्नुभयो । जेनजी र जेनजी प्रतिनिधिका नाममा सयौं व्यक्तिको हजार कुरा सुन्नु पर्यो, झेल्नु पर्यो । सबैलाई सम्झाएर, फकाएर, समेटेर अगाडि बढ्न सफल हुनु । यो तपाईंको महानता हो ।   तपाईंलाई असफल बनाउन कहाँ-कहाँ के-के भए ? देखिएका र नदेखिएका घटनाहरूको श्रृङखलाको लिपि, तपाईंको संस्मरण ‘पर्दा पछाडि खेल’ पुस्तक छिट्टै पढ्न पाइने विश्वास लिएको छु ।   सुशीला कार्कीको नियुक्ति नै असंवैधानिक भन्ने केपी शर्मा ओलीलाई पनि तपाईंले झेल्नु पर्यो । जेन्जीको मागमा होइन, अमेरिका र भारतको आदेशमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन्न भन्दै अराजकता मच्चाउँदै हिँड्ने दुर्गा प्रसाईं प्रवृत्तिलाई पनि तपाईंले झेल्नु भयो । सबैलाई बालुवाटार बोलाउनु भयो । केपीलाई चुनावमा पनि सहभागी गराउनु भयो । दुर्गा प्रसाईंलाई ५ पटकसम्म थुनामा पनि हालिदिनुभयो । गौरीबहादुर कार्की नेतृत्वको आयोग गठन र आयु थपेर पनि धेरै परिपक्वता देखाउनु भयो । सिंहदरबार छोड्नुपूर्व कम्तिमा कार्की आयोगका प्रतिवेदन बुझ्ने र सार्वजनिक गर्ने काम गर्न नबिर्सनू होला । बाँकी काम नयाँ सरकारले जिम्मेवारी लेला । भदौ २३ र २४ गते झैं आन्दोलन चर्काएर सुशीला कार्की फाल्ने प्रयत्न पनि भएकै हुन् । सर्वोच्च अदालतबाट संसद पुन: स्थापना गराउन सके र यो सरकार ढाल्न सके ‘मै प्रधानमन्त्री’ बन्छु भन्ने लोभसहित पर्दा पछाडि धेरै छेलोखेलो गर्ने शेरबहादुर देउवा, कल्याण कुमार श्रेष्ठ लगायत धेरैलाई तपाईंले झेल्नु नै भयो । तपाईंलाई असफल बनाउन कहाँ–कहाँ के–के भए ? देखिएका र नदेखिएका घटनाहरूको श्रृङखलाको लिपि, तपाईंको संस्मरण ‘पर्दा पछाडि खेल’ पुस्तक छिट्टै पढ्न पाइने विश्वास लिएको छु ।  तपाईं नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुनुभयो, नेपालको पहिलो महिला प्रधानमन्त्री हुनुभयो । तपाईंसँग पूर्वप्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश जस्ता पदीय पहिचान मात्र रहेन । साहसी र सफल महिला । वैचारिक हिसाबले विधिको शासनमा दृढ रहँदै कामबाट प्रमाणित गरिदिने उदाहरणीय महिला । देशले सम्झिरहने काम गरेकी महिलाको रूपमा तपाईंको पहिचान बनेको छ ।  निर्वाचन सम्पन्न गराउने कार्य कागजी व्यवस्थापन वा प्रशासनिक अभ्यास मात्र होइन, यो संविधानप्रतिको प्रतिबद्धता, संस्थागत स्वायत्तता र राजनीतिक दबाबबीच सन्तुलन कायम गर्ने चुनौतीपूर्ण दायित्व थियो । निर्वाचन प्रक्रियामा देखिएका सबै किसिमका अवरोध, विवाद र दबाबबीच तपाईंले कानुनको शासनलाई सर्वोपरि राख्दै प्रक्रिया अघि बढाउनु भयो र आज सफल हुनुभयो ।  अझै भोट गन्न बाँकी छ । भोट गन्दागन्दै ‘भोटको भोज खाने’ र हप्तौंसम्म भोट गन्न पनि अवरोध गर्ने राजनीतिक दलहरूको फोहोरी खेलको पुनरावृत्तिको सम्भावना कायमै छ । हार स्वीकार गर्न नसकेर सरकार र जित्ने पक्षलाई धाँधलीको आरोप लगाउने, सडकमा बल प्रदर्शन गर्ने, रेलिङ भाँच्ने, गाडी जलाउने, भवन जलाउने जस्ता भाँडको राजनीतिक अभ्यासका साथै नयाँ नाटकहरू देख्न बाँकी नै छ ।  तर, तपाईंको मूल काम सकियो ।  मैले सुनेको छु, रामचन्द्र पौडेलपछि तपाईंलाई राष्ट्रपति बनाउने विषयमा छलफल सुरु भएको छ । तपाईंलाई शुभकामना । विराटनगरको मध्यम वर्गीय किसान परिवारमा जन्मिएर शिक्षक, अधिवक्ता, वरिष्ठ अधिवक्ता, न्यायाधीश, प्रधानन्यायाधीश हुँदै प्रधानमन्त्रीको भूमिकामा तपाईं सफल हुनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको नियुक्ति गैरकानुनी भएको फैसला गर्नेदेखि आफूलाई प्रधानन्यायाधीशबाट हटाउने संसद दर्ता भएको महाभियोग विरुद्ध लड्ने र सफलता चुम्ने तपाईंको इतिहास आफैमा गर्विलो छ ।  लोकतन्त्रमा व्यक्ति पूजाभन्दा बलियो संस्था निर्माण गर्नु महत्त्वपूर्ण हुन्छ । तर, संस्थालाई मजबुत बनाउन नेतृत्व गर्ने व्यक्तिको साहस र निष्ठा अनिवार्य हुन्छ । तपाईंले यसलाई प्रमाणित गरिसक्नु भएको छ । निष्पक्षता, विधिको शासन र जनविश्वासलाई प्राथमिकता दिने नेतृत्व नै लोकतन्त्रको वास्तविक आधार हो ।  नवपुस्ताको आन्दोलनले गगन थापा र बालेन्द्र शाहलाई राजनीतिक नेतृत्वमा पुर्याएको छ । नेतृत्वमा पुग्दैमा उनीहरू सफल हुन्छन् भन्ने आधार छैन । उनीहरुको लागि पनि तपाईं जत्तिको अनुभवी अभिभावक जरुरी छ ।  र, संविधानमा केही सुधारको माग छ । तपाईंको अभिभावकत्वमा संविधान संशोधन भएमा राम्रो हुन्छ । पालिका सरकार झैं संघीय सरकार पनि ढुक्कले पाँच वर्ष चल्ने व्यवस्था र संरचनाहरू बनाउन सकियो भने त्यसले देशको दूर-भविष्य सुरक्षित गर्छ, विकासको गतिलाई तीव्रता दिन्छ ।  कानुनी प्रक्रियाप्रति कठोर प्रतिबद्धता, संस्थागत स्वायत्तताको रक्षा र व्यक्तिगत आलोचना तथा दबाबलाई बेवास्ता गर्दै परिणाममुखी नेतृत्व गर्न तपाईं काबिल हुनुहुन्छ । राष्ट्रपतिको जिम्मेवारी पाउनु भयो र वर्तमान संविधान संशोधन शासकीय स्वरूपमा प्रगतिशील सुधार गर्नु भयो भने तपाईंको नाम हजारौं वर्ष इतिहासमा रहिरहनेछ । 

६८ अर्ब लगानी, शून्य प्रतिफल

काठमाडौं । सरकारले भौतिक पूर्वाधार विकासमा अर्बौंको रुपैयाँ लगानी गरेर राष्ट्रिय गौरवका आयोजनाहरू निर्माण गरे पनि सञ्चालनमा भने निकै ढिलाइ भइरहेको छ । पछिल्लो समय निर्माण कार्य सम्पन्न भएका कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, झापाको दमक भ्यूटावर, भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, नागढुङ्गा सुरुङमार्ग लगायतका आयोजनाहरूको निर्माण कार्य सम्पन्न भइसकेको भए पनि लामो समयदेखि सञ्चालनमा आउन सकेका छैनन् ।  उसो त सरकारले आयोजनाको निर्माण कार्य सुरु गर्ने तर सञ्चालनमा भने ढिलाइ गर्ने प्रवृत्ति छ । अर्बौं रुपैयाँ खर्च गरेर बनाएका उक्त आयोजनाहरू प्रयोगविहीन मात्रै छैनन्, अवस्थासमेत बेहाल छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेको ६ वर्ष भइसकेको छ । तर, हालसम्म सञ्चालन आउन सकेको छैन । यो आयोजना बन्ने बेला पोखराका नागरिकमा ठूलो उत्साह थियो । त्यहाँका उद्योगी, व्यवसायी र स्थानीय नागरिकमा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखराको पर्यटन र विकास नयाँ युगमा प्रवेश गर्ने अपेक्षा थियो । तर, अहिले त्यो आशा निराशामा परिणत भएको छ ।  उक्त विमानस्थल अहिले सुनसान छ । यो बनाउन सरकारले अर्बौं रुपैयाँ खर्च गरेको छ त्यो पनि चीनसँग करिब २८ अर्ब रुपैयाँ ऋण लिएर । विमानस्थल बनाउन सरकारले जग्गा अधिग्रहण बापत करिब ८ अर्ब रुपैयाँ खर्च गरेको छ भने नागरिक उड्डयन प्राधिकरणको पनि २ अर्ब खर्च भएको छ । आयोजनामा जम्मा ३८ अर्ब रुपैयाँ लगानी भइसकेको छ । विमानस्थल सन् २०२१ सम्ममा निर्माण सकिने गरी काम सुरु गरेको भएपनि विभिन्न कारण देखाउँदै म्याद थप गरी २०२३ सालमा निर्माण सम्पन्न गरेको थियो ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको पनि हालत उही छ । यो आयोजनाको निर्माण कार्य २०१४ मा सुरु भएर २०२३ मा सकिएको थियो । निर्माण कार्य सुरु भएको ११ वर्ष बितिसक्दा समेत यो आयोजना पनि सञ्चालनमा आउन सकेको छैन । यो विमानस्थल निर्माणमा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोग रहेको छ । यो विमानस्थल ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँ लागतमा निर्माण भएको थियो । यो आयोजना चिनियाँ कम्पनी सीएएमसीले निर्माण गरेको थियो । यो आयोजना डिसेम्बर २०१७ मै सम्पन्न हुने गरी डिसेम्बर २०१४ बाट सुरु भएको थियो । तर, त्यो अवधिमा ठेकेदारबीच झगडा, नदीजन्य निर्माण सामग्रीको अभाव, भूकम्प र नाकाबन्दीको कारण देखाउँदै आयोजनाले म्याद थप्दै २०२३ सम्म पुर्याएको थियो ।  यसैगरी, झापाको दमक भ्यूटावर २०७६ सालमा एक अर्ब ५६ करोड १४ लाख ३९ हजार रुपैयाँमा २०७८ असार २७ गतेभित्र सम्पन्न गर्ने निर्माण कार्य अगाडि बढेको थियो । तर, तोकिएको समयमा काम सम्पन्न नभएपछि २०८० सालमा म्याद थप गरेर निर्माण कार्य सम्पन्न गरेको थियो । दोस्रो पटक म्याद थप गर्दा १० करोड २७ लाख ८१ हजार रुपैयाँ थप खर्च भई संशोधित सम्झौता एक अर्ब ६६ करोड ४२ लाख २० हजार रुपैयाँ पुगेको थियो । यो आयोजना पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । करिब ५ वर्षमा निर्माण सम्पन्न भएको ५ बिघा क्षेत्रफलमा फैलिएको भ्यूटावर अहिलेसम्म प्रयोगविहीन छ । भ्यूटावर १८ तले रहेको छ  ।  यसैगरी, नागढुङ्गा सुरुङमार्गको अवस्था पनि उस्तै छ । निर्माण कार्य सुरु भएको करिब ७ वर्ष बितिसक्दा पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । आयोजनाले पटक-पटक सञ्चालनमा ल्याउने भने पनि अझै समय लाग्ने भएको छ । यसअघि अंग्रेजी नयाँ वर्ष २०२६ को जनवरी १ बाट सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो । तर, सेवा प्रदायक छनोट र प्राविधिक कारणले समय लम्बिएको बताएको छ । यो आयोजना जापानसँग करिब १५ अर्ब रुपैयाँमा ऋण लिएर बनाइरहेको छ । सबै काम सम्पन्न भइसकेको बताउँदै आएको यो आयोजनाले जग्गा अधिग्रहणका लागि थप ७ अर्ब लगानी नेपाल सरकारले गरेको छ भने हालसम्म आयोजनामा करिब २२ अर्ब रुपैयाँ खर्च भएको छ । सन् २०१९ सालमा निर्माण कार्य सुरु भएको थियो ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने यी आयोजनाहरू ढिलाइ हुनुमा तयारीको चरणमा गम्भीर त्रुटि भएको बताएको छ । मन्त्रालयका सचिव केशव कुमार शर्माका अनुसार पोखरा र भैरहवाजस्ता अन्तर्राष्ट्रिय विमानस्थल र विभिन्न ठाउँमा निर्माण गरिएका भ्यू टावरहरू ‘राइट बिजिनेस प्लान’ बिना निर्माण गरिएका कारण अहिले समस्या देखिएको हो । आयोजनाको तयारी चरणमा राम्रोसँग विश्लेषण नगर्दा र सञ्चालनको मोडालिटी नमिलाउँदा अर्बौंको लगानी जोखिममा परेको उनको तर्क छ ।  बनाउन हतार, सञ्चालनको छैन योजना  सचिव शर्माले विमानस्थल र भ्यूटावरजस्ता व्यावसायिक संरचनाहरू बनाउनुअघि नै त्यसबाट कसरी रेभिन्यू (राजस्व) सङ्कलन गर्ने भन्ने स्पष्ट खाका हुनुपर्नेमा जोड दिए । यी आयोजनाहरू बनाउँदा त्यहाँ को बस्ने, सञ्चालन कसरी गर्ने, नियम कानुन के हुने, जोखिलाई कसरी समाधान गर्नेलगायत कुराहरूमा राम्रोसँग तयारी तथा योजना बनाएर अगाडि नबढेका कारण यस्तो अवस्था आएको उनको भनाइ छ ।  उनले भने, ‘पोखरा विमानस्थल फुल फ्लेजमा चल्नका लागि इमिग्रेसन, पासपोर्ट र भिसा सेवा त्यहीँबाट हुनुपर्थ्यो । मान्छे भिसा लिन र लेबर पर्मिट बनाउन काठमाडौं नै धाउनुपर्ने भएपछि पोखराबाट अन्तर्राष्ट्रिय उडान कसरी चल्छ ? हामीले पूर्वाधार बनाउँदा त्यसको व्यावसायिक सम्भाव्यता र सञ्चालन मोडालिटीको राम्रो विश्लेषण नै गरेनौं ।’ सचिव शर्माले ठूला जहाज बस्न नसक्ने ठाउँमा अर्बौं खर्चेर ठूला रनवे बनाउनुलाई कमजोर फिजिबिलिटी रिपोर्ट अर्थात् (सम्भाव्यता अध्ययन प्रतिवेदन) को परिणामका रूपमा व्याख्या गरे । यसैगरी, बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा भइरहेको ढिलाइबारे सचिव शर्माले प्राविधिक र व्यवस्थापकीय कारणहरू स्पष्ट पारेका छन् । सुरुङ मार्ग सडक जस्तो निर्माण सकिने बित्तिकै खोल्न नमिल्ने उनको तर्क छ ।  उनका अनुसार ढिलाइ हुनुमा सुरुङभित्र आगलागी, अक्सिजन अभाव वा विद्युत अवरोध हुँदा अपनाउनुपर्ने ‘सेफ्टी प्रोटोकल’ पूरा गर्न समय लाग्ने, सुरुङ मार्ग २४ सै घण्टा स्ट्यान्डबाइ सञ्चालन गर्न दमकल, इलेक्ट्रिसियन र सिभिल विज्ञहरूको टोली आवश्यक पर्ने भएकाले यसको नेपालमा यस्तो अनुभव भएको कम्पनी र बिड डकुमेन्ट (बोलपत्र कागजात) समेत नहुँदा नयाँ प्रक्रिया थाल्नु परेकाले केही ढिलाई हुन पुगेको उनको भनाइ छ ।  यसैगरी, सुरुङको पश्चिमपट्टि (धादिङतर्फ) ठूलो पहिरोको जोखिम देखिएकाले दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्दा नयाँ सपोर्टिभ स्ट्रक्चर र डिजाइन बनाउनुपरेको समेत उनले बताए । शर्माका अनुसार सेवा प्रदायकको प्राविधिक प्रस्ताव र आर्थिक प्रस्ताव मूल्याङ्कनको चरणमा रहेकाले अबको डेढ देखि दुई महिनाभित्र सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी पूरा हुनेछ । विगतका आयोजनाहरूबाट पाठ सिकेको भन्दै सचिव शर्माले अबका आयोजनाहरूमा जोखिम विश्लेषण र व्यावसायिक योजना अनिवार्य हुनुपर्ने बताए । ‘ढिलो भए पनि हुँदै नहुनु भन्दा सुधार हुनु राम्रो हो,’ सचिव शर्मा भने, ‘विमानस्थल चलाउन बिजिनेस लबिङ गर्ने, ल्युक्रेटीभ सेवाहरू दिने र फिजिकल वा पोलिसी बेरियरहरू छन् भने त्यसलाई हटाउनुपर्छ । अबको दुई/तीन महिनाभित्रै एउटा वस्तुनिष्ठ सुझावसहितको समाधानको बाटो खोजेर अगाडि बढ्छौं ।’ नेपालका ठूला पूर्वाधार आयोजनाहरू निर्माण हुनु आफैमा खुसीको कुरा भए पनि ती आयोजनाहरूको सञ्चालन र व्यवस्थापनमा भने भयावह अवस्था रहेको पूर्वाधारविज्ञ अर्जुनजङ्ग थापा बताउँछन् । उनले नेपालका रेल, सुरुङमार्ग र द्रुतमार्ग (फास्ट ट्र्याक) जस्ता गौरवका आयोजनाहरू कसरी ‘अदूरदर्शिता’ र ‘प्रणालीगत कमजोरी’ को शिकार भइरहेका बताए । विज्ञ थापाका अनुसार जनकपुर-जयनगर रेलवे निर्माण सम्पन्न भएको वर्षौं भइसक्दा पनि अझै नेपाली ड्राइभरले रेल चलाउन सकेका छैनन् । सम्झौतामा भारतीय पक्षले तालिम दिने उल्लेख भए पनि नेपाल सरकारले कर्मचारी नियुक्ति गर्न नसक्दा वार्षिक २५ करोड रुपैयाँ भारतीय अपरेटरहरूलाई बुझाउनुपरेको छ । ‘नेपाली अपरेटर नियुक्त गरेको भए उनीहरूलाई तालिम दिएर सक्षम बनाउन सकिन्थ्यो, तर अहिले भारतीय अपरेटरहरूले ४/५ लाखसम्म स्यालरी बुझिरहेका छन्,’ थापाले भने, ‘आफ्नो रेल तर विदेशी ड्राइभर, योभन्दा विडम्बना अरू के हुन सक्छ ?’ यस्तै, नागढुङ्गा सुरुङमार्गको काम अन्तिम चरणमा पुग्दासम्म पनि त्यसको सञ्चालन कसरी गर्ने भन्ने ठोस योजना नहुनुलाई थापाले सरकार लाचारी भएको बताए । सुरक्षा, एम्बुलेन्स र प्राविधिक टोलीको व्यवस्थापनमा अर्थ मन्त्रालयले ‘खर्च बढ्ने’ बहानामा रोक्ने गरेको उनको आरोप छ । उनका अनुसार काठमाडौं–तराई फास्ट ट्र्याकको अवस्था झनै चिन्ताजनक छ । ललितपुरको फर्सीडोलसम्म सडक बने पनि त्यहाँबाट चक्रपथ (रिंगरोड) सम्म जोड्ने ५ किलोमिटरको लिंक रोडबारे अझै निर्णय हुन सकेको छैन । थापा प्रश्न गर्दै भन्छन, ‘फर्सिडोलसम्म सामान ल्याएर के हेलिकप्टरबाट ढुवानी गर्ने हो ? रिंगरोडसँग नजोडी फास्ट ट्र्याकको के अर्थ ?’ बिना योजनाको लगानी विकासको नाममा भइरहेको फजुल खर्च भएको बताउँदै थापाले दमकको भ्यू टावरको चर्चा गरे । झण्डै पौने २ अर्ब खर्च गरेर टावर ठड्याइए पनि त्यसलाई कसरी सञ्चालन गर्ने र लगानी कसरी उठाउने भन्ने कुनै योजना छैन । परिणामतः यस्ता संरचनाहरू ‘सेतो हात्ती’ बन्ने जोखिम बढेको छ ।  नेपालमा सेना वा विदेशी ठेकेदारमार्फत काम गराउँदा राज्यले सिक्नुपर्ने प्राविधिक ज्ञान जिरो रहेको थापाको तर्क छ । ‘हामी एड-हक (तदर्थ) मा काम गर्छौं, भविष्य सोच्दैनौं । एउटा आयोजनाबाट सिकेको कुरा अर्कोमा लागू गर्ने ‘संस्थागत स्मृति’ हाम्रो सिस्टममा शून्य छ,’ उनले भने ।  पूर्वाधार क्षेत्रको यो लथालिङ्ग अवस्था सुधार्न नयाँ सरकारले दीर्घकालीन सोच राख्नुपर्ने विज्ञ थापाको सुझाव छ । उनका अनुसार आयोजना सम्पन्न हुनुअगावै सञ्चालन र व्यवस्थापनको प्यारलल योजना बनाउनुपर्ने, नेपाली जनशक्तिलाई नै तालिम दिएर विदेशी अपरेटरमाथिको निर्भरता हटाउनुपर्ने, अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीचको प्रशासनिक अड्चन अन्त्य हुनुपर्ने तथा विभागहरूमा योग्य र दीर्घकालीन सोच राख्ने नेतृत्वको विकास गर्नुपर्नेमा जोड छ ।  पहिले कुलो बनाउने, पछि खेत खोज्ने प्रवृत्ति  अर्बौंको लगानीमा निर्माण भएका ठूला पूर्वाधार आयोजनाहरू सञ्चालनको स्पष्ट मार्गचित्र नहुँदा सेतो हात्ती बन्ने खतरा बढेको अर्को पूर्वाधारविद् राम घिमिरे बताउँछन् । घिमिरेले सरकारको पहिले संरचना ठड्याउने र पछि मात्र उपयोग खोज्ने कार्यशैलीका कारण राष्ट्रिय गौरवका आयोजनाहरू समस्यामा परेको टिप्पणी गरे ।  घिमिरेले दमकको भ्यु टावर, भैरहवा र पोखरा विमानस्थल, नागढुङ्गा सुरुङमार्ग र द्रुतमार्ग (फास्ट ट्रयाक) जस्ता आयोजनाहरूको उदाहरण दिँदै सरकारको फितलो योजनामाथि प्रश्न उठाए । विज्ञ घिमिरेका अनुसार कुनै पनि ठूलो आयोजना सुरु गर्नुअघि त्यसको सञ्चालन विधि स्पष्ट हुनुपर्छ । ‘हाम्रोमा पहिले कुलो बनाउने अनि पछि खेत खोज्ने उखान जस्तै भएको छ,’ उनले भने, ‘दमकको भ्यु टावर बनिसक्यो, तर त्यसलाई कसरी चलाउने, कसलाई लक्षित गर्ने र त्यसबाट आम्दानी कसरी गर्ने भन्ने कुनै ‘बिजनेस मोडालिटी’ नै छैन ।’ सुरुङमार्ग र द्रुत मार्गजस्ता आधुनिक पूर्वाधारलाई नियमन गर्न विद्यमान परम्परागत सरकारी संयन्त्रले नधान्ने घिमिरेको दाबी छ । उनले भने, ‘टनेल र फास्ट ट्रयाकका लागि हामीसँग एकेडेमिक ज्ञान त होला, तर त्यसलाई नियमन गर्ने कानुनी संयन्त्र र छुट्टै सङ्गठन छैन । सरकारले यस्ता आयोजनाका लागि छुट्टै ऐन, नियम र आधुनिक प्रविधियुक्त संरचना बनाउनु अपरिहार्य छ ।’ आयोजना छनोटमा आर्थिक प्रतिफलभन्दा राजनीतिक प्रभाव हाबी हुनुले समस्या थपेको उनको बुझाइ छ । अर्बौंको लगानी भइसकेपछि सञ्चालनमा हुने ढिलाइले देशको अर्थतन्त्रमा ठुलो धक्का लाग्ने भन्दै उनले नयाँ सरकारलाई ठोस नीतिगत सुधारका लागि सुझाव दिएका छन् ।  पूर्वाधारविद् घिमिरेले अलपत्र आयोजनालाई गति दिन आयोजना कसरी चल्छ र यसको आर्थिक लक्ष्य के हो भन्ने सुरुमै प्रस्ट हुनुपर्ने, संसद वा सम्बन्धित निकायबाट नयाँ ऐन, नियम र बाइ-लजहरू निर्माण गर्ने तथा परम्परागत कर्मचारीतन्त्रभन्दा बाहिर गएर प्रविधि र व्यावसायिक दक्षता भएको छुट्टै सरकारी संयन्त्र बनाउनेमा उनको जोड छ ।  नयाँ आउने सरकारले यी पूर्वाधारहरूलाई समयमै सञ्चालनमा ल्याउन नसके लगानी बालुवामा पानी हालेसरह हुने चेतावनी पनि उनले दिए ।

भ्रष्टाचार र आसेपासे शासनको विरोध

काठमाडौं । यूट्यूबमा अहिलेसम्म सबैभन्दा बढी हेरिएको नेपाली फिल्म हो, छक्कापञ्जा ३ । हाइलाइट्स नेपालको यूट्यूब च्यानलमा रहेको यो फिल्म ३ करोड ७० लाखले हेरेका छन् । यस फिल्ममा रहेको चर्चित गीत ‘पहिलो नम्बरमा...’ ६ करोड ४० पटक हेरिएको छ । फिल्मभन्दा फिल्मको गीतको भ्यू झण्डै दोब्बर छ ।  सबै फिल्ममा यस्तो हुन्न । ‘झरीपछिको इन्द्रेणी’  फिल्ममा रहेको चर्चित गीत ‘फसायो लमीले’ ओएसआर डिजिटलको यूट्यूब च्यानलमा सार्वजनिक भएको २ महिनामा २ लाख भ्यू छ । उक्त फिल्म पूर्वमेयर बालेन्द्र शाह (बालेन)को यूट्युबबाट सार्वजनिक भएको १२ दिनमा ३१ लाखले हेरेका छन्  । छोटो अवधिमा गीतभन्दा फिल्म १५ गुणा बढीले हेरेका छन् । जबकि बालेनको च्यानलमा १० लाखभन्दा कम सब्स्क्राइबर छन् भने ओएसआरको सब्स्क्राइबर १ करोड भन्दा बढी छन् । चलचित्र हलमा नचले पनि यो फिल्मले यूट्यूबमा राम्रै भ्यू पाइरहेको छ ।  झरीपछिको इन्द्रेणी अर्जुन घिमिरे अर्थात पाँडे बुढाको निर्देशनमा निर्माण भएको चलचित्र हो । उनी बालेनको निर्वाचन प्रसारप्रसारमा हिँडिरहेका छन् । अर्जुनको आफ्नै च्यानलमा पनि १० दिनअघि यो फिल्म राखिएको छ, जसमा जम्मा ५ हजारले मात्र हेरेका छन् । फेसबुकमा जस्तै बालेनको यूट्युब पनि धेरै मानिसले हेर्ने गरेको देखिन्छ । फिल्ममा रहेको उनको गीत बालेनकै च्यानलबाट ७१ लाख बढीले हेरेका छन् ।  बालेनको स्वरमा एउटा गीतबाहेक पुरै फिल्ममा उनको भूमिका देखिँदैन । तर, फिल्ममा जसरी सामाजिक र राजनीतिक विषय समेटिएका छन्, त्यसलाई नियाल्दा यस फिल्ममा बालेनले आफ्नो राजनीतिक चेत र चाहना अभिव्यक्त गरेको विश्लेषण गर्न सकिन्छ ।  फिल्मको सुरुवातीमै काठमाडौं महागनरपालिकाको ब्रुमरले सफा गर्दै गरेको रोड देखाइएको छ । मठ–मन्दिर तथा नेवारी संस्कृति झल्कने मानिसहरूले लगाएका लुगादेखि गीत गाइरहेको दृश्य देखाइन्छ । केही क्षणमा कान्तिपुरी महानगरपालिकाभित्र स्थानीयलाई शारीरिक अभ्यास गर्ने ठाउँ देखाइन्छ । जहाँ मुख्य भूमिकामा देखा पर्छन् कलाकार गणेश उप्रेती ।  उनको भूमिका वडा कार्यालयको सचिवमा छ । गणेशप्रसाद शर्माको नामले एक सच्चा इमान्दार कर्मचारीको रूपमा देखाइएको छ । उनले सामान्य जीवनशैली तथा असल कर्मचारी भएर आफ्नो भूमिका निभाउँछन् । शर्माको घरमा दुई छोरा छन् ।  आर्थिक,सामाजिक, खराब कर्मचारीतन्त्र, राजनीति विकृत र सांस्कृतिक सबै पक्षलाई समेटिएको छ । सम्पन्न भएपछि विपन्नलाई गरिने व्यवहार पनि देखाइएको छ । सामाजिक विसङ्गतिविरूद्ध आवाज उठाएको छ । इमान्दार र मिहिनेती कर्मचारीको प्रतिनिधित्व उनले गर्छन् । जसले सहरमा सामान्य जीवनशैली बिताउने मध्यमवर्गीय परिवारको प्रतिनिधित्व गरेका छन् । एउटा असल अभिभावकले आफ्नो परिवारको लागि निभाउने भूमिका वडासचिवमार्फत देखाइएको छ । सामान्य कमाइ हुनेले सहरी क्षेत्रमा कति धेरै संघर्ष गर्नुपर्छ यस फिल्मले उजागर गरेको छ  । शर्माको जेठो छोरा शोहनले भर्खरै प्लस टु पास गरेका हुन्छन् । उनले प्लस टु पास गरेपछि उच्च शिक्षाका लागि विदेश जाने मनसाय बनाउँछन् । अभिभावक तथा मुख्य भूमिकामा रहेका उप्रेतीले छोरालाई ‘युवाहरू भनेको देशका मेरुदण्ड हुन् । सबै बाहिरिए भने देशमा को बाँकी रहला,’ भनेर सम्झाउँछन् । उनी छोरामार्फत युवाहरूलाई सम्झाउन चाहन्थे । अहिलेको नेपाली समाजमा युवाहरूले देश छोड्ने ट्रेण्ड चलेकाले ती युवाहरूलाई संकेत गरिरहेको छ । युवाहरूले देश छोड्न हुँदैन । युवाहरूले जिम्मेवारी लिएर मुलुकको काँचुली फेर्दैछ भन्ने वाक्यले अबको नेपालमा शासकीय जिम्मेवारीमा युवा पुग्नुपर्छ । जसले गर्दा युवाको उर्जा मुलुक बनाउन खर्च गर्नुपर्नेमा उनले जोड दिएका छन् । युवाहरू भनेको भविष्यका कर्णधार हुन् । कुलतमा नपर्नु र असल संगत गरेमा असल मानिस बनिन्छ भनेर बारम्बार भनेर छोरालाई सम्झाउँछन् । नेपालमा प्लस टु सकेपछि युवाहरूले विदेशको सपना देख्छन् । प्लस टुको परीक्षा  सकेर फुर्सदको समयमा कन्सल्टेन्सी धाउने युवाहरू हुन्छन् ।  अष्ट्रेलिया, युके, यूएसए, जापान वा क्यानडाको तयारीका लागि आइएलएस तथा टोफल गर्न थाल्छन् । परीक्षा सकेर बसेका युवाहरूले लोकसेवाको तयारी भन्दा विदेशको सपना देख्ने युवाहरू देखाइन्छ ।   इमान्दार कर्मचारीले घर व्यवहार कसरी चलाउँछन् । मासिक आम्दानीको भरमा सामान्य जीवन चलाउँछन् ।  आफूजस्तै अनुशासित बनेर मुलुकमै बसेर देश तथा समाजमै बसेर सन्तानले केही गरोस् भन्ने चाहना कर्मचारीले राखेको कलाकार उप्रेतीमार्फत देखाइन्छ । अहिलेका युवाहरूलाई विदेश जान साथी तथा आफन्तले प्रोत्साहित गरिरहेको देखाइन्छ । विदेश नगए जीवन सफल नभएको र घरमा तला थप्नका लागि भए पनि नेपाल छोड्नुपर्ने सामाजिक बाध्यता आइपरेको छ ।  फिल्मले पनि शोहनमार्फत विदेश जान मरिहत्ते गरिरहेको देखाएको छ । विदेश जान नपाए अभिभावकको अगाडि आन्दोलन गर्छन् । बाउछोराको बोलचाल बन्द हुन्छ । अहिलेक युवाहरू प्लस टु सकेपछि २०-२५ लाख तिरेमा सहजै अष्ट्रेलिया जाने सपना बुनेर बसेका छन् । शोहनको आमाले सम्झाउँछिन्,’ विदेशमा गएर मन्जन पठाउनु भन्दा त स्वेदेशमा बसेर मन्जन बेचेर धनी हुनुपर्छ।’  परिवारका सदस्यले दाई र दिदी विदेश गइदियोस् । यता नेपालमा भने आफन्तहरू विदेशी ब्राण्डको सामान चलाउन पाइयोस् भन्ने मानसिकता बोकेका हुन्छन् ।  सन्तानको मायाका बारेमा अभिभावकले सोच्न सक्दैनन् । अधिकांश अभिभावक बढ्दो उमेरका छोराछोरीले नछोडून् भन्ने चाहना राख्छन् ।   शर्मा पनि छोरालाई सम्झाउँदै भन्छन्, ‘भात पकाउन नजान्ने र ओछयान मिलाउन नसक्नेले विदेश जाने कुरा नगर । यहाँ सबै काम ममीले गर्नुपरेको छ ।’ युवाहरूको आत्मविश्वास बोलीमा मात्र सुनिन्छ । सोहनको आवाजमा बुबालाई जवाफमा जन्मिँदै कसैले जान्दैनन् । गरेर र परेपछि जानिन्छ ।’  हातमा चियाका कप बोकेर देश घुम्दै काम गर्न सकिन्छ । ‘लगन र इमान भएर गरेको काम महान हुन्छ,’ उप्रेतीले छोरालाई सम्झाउँदै भन्छन्,’  विदेश जानुभन्दा अगाडि काम गरेर वा काम सिक्नुपर्छ  ।’ अर्कातिर कार्यालयमा सबै एकनासका कर्मचारी हुँदैनन् । फिल्ममा स्थानीय तहका विकृति तथा विसंगति पनि देखाइएको छ ।  वडाअध्यक्ष, पिउन तथा अन्य कर्मचारी मिलेर सेवाग्राहीको काम कसरी ढिलासुस्ती र भ्रष्टाचार गरिरहेका छन् । चलचित्र हेरेर थाहा पाउन सकिन्छ ।  वडा कार्यालय पिउनले चलाइरहेको देखाइन्छ । अहिले पनि कतिपय स्थानीय तहमा गयो भने चलचित्रको दृश्य जस्तै देख्न सकिन्छ । निर्देशक घिमिरे पिउनको भूमिकामा छन् । उनी भन्छन्, ‘यो राज्यसँग सकिन्न । मन्त्री फेरिएपिच्छे नियम फेरिन्छ ।’ नेपालको राजनीतिक अस्थिरतालाई सांकेतिक रुपमा देखाइएको छ । पिउनको भनाइले त्यहीँ बुझाउँछ । नयाँ मन्त्री आएपिच्छे नयाँ–नयाँ नियमले हैरानी बनाएको छ । पिउनले वडाअध्यक्ष, सचिव लगायत अन्य कर्मचारीको काम गरेर गरेर वडा चलाउँछन् । स्थानीय तहको अर्को विकृति देखाइन्छ ।  वडाबाट पाउने सेवा सुविधाहरू एउटै मानिसले विभिन्न शीर्षकमा सुविधा लिएको पनि देखाइन्छ । नातावाद र कृपावादले जकडिएको समाजमा चलचित्रको कथामा उक्त दृश्य पनि समेटिएको छ । वडामा सेवाग्राहीलाई विभिन्न बहाना बनाएर अलमल्याउने गरेको दृश्य पनि देखाइन्छ । महिनौंसम्म वडाबाट हुने कामलाई दर्ता तथा सिफारिसको काममा अल्झाएर घुस तथा कमिसन लिनका लागि कार्यालयका पिउन, वडाअध्यक्ष र अन्य कर्मचारी कसरी लाग्छन सहजै दृश्यमा देख्न सकिन्छ । अस्पताल सञ्चालकको भूमिका निर्मल शर्मा देखिन्छन् । उनी वडा कार्यालयमा सेवाग्राहीको रूपमा पुग्छन् । समयमा नक्सा नपाएको र घुस माग्ने बेथितिले हैरानी बनेका छन् । ‘देश र समाजका लागि दिने योगदान यहीँ हो तपाईंहरूको । स्वास्थ्य उपकरणमा मगायो भन्सारमा घुस, तला थप्न भन्यो वडामा घुस । देशको करप्टेड सिस्टम देखेर धैरे जना विदेश पलायन भए तर म देशमा बसेर सेवा गरिरहेको छु,’ डाक्टरको भूमिकामा रहेका शर्माले भन्छन् ।  स्थानीय जनप्रतिनिधिको एरियामा भौतिक संरचना बनाएमा विभिन्न समूह आएर आर्थिक सहयोग माग्ने चलन रहेको छ । त्यस्ता विकृतिको साक्षी डाक्टर बन्छन् । अध्यक्षको कार्यकर्ता भन्दै आर्थिक सहयोग माग्न पुगेको व्यथा उनले सुनाएको दृश्य देखिन्छ । जनतालाई भेडाका रूपमा तुलना गरिन्छ । विम्बात्मक रूपमा शब्द चयन गरिएको छ, ‘अलिअलि घाँस मागिहाल्छन् ब्यूरोक्रेसीसँग जोगिनु है ।’ सबैभन्दा बढी विकृतिको रुपमा कर्मचारीलाई देखाइएको छ । कर्माचारीलाई घुस खुवाइएन भने कुनै काम बन्दैन । हरेक सिफारिसमा कमिसन चाहिने दृश्यले सोही कुराको पुष्टि गर्छ । उनले अर्को दृश्यमा कर्मचारीलाई भन्छन्, ‘यो देशको अस्पतालमा बिरामी भन्दा वाद र तन्त्र जुधेको छ । घुस माग्नुभन्दा अस्पतालको रिपोर्ट हेर्नुहोस्, यति नगरी मेरो काममा सहयोग नगरी उल्टै अड्काइदिँदै हुनुहुन्छ । तपाईंहरूको दायित्व यही हो । आइन्दा यहाँ आउँदिन र तला थप्नु छैन ।’ अभिनेत्री दिपाश्री निरौलालाई घुस खाने कर्मचारीको श्रीमतीको रुपमा देखाइन्छ । उनले सहरिया महिलाको स्वभाव देखाउँछिन् । आफ्नै दिदीलाई पनि उनले अलिक हेपाहा शैलीमा व्यवहार गर्छिन् । गणेश उप्रेतीको श्रीमतीलाई दिदीको रूपमा देखाइन्छ । दिपाश्रीको घर भने आलिशान देखाइन्छ । सुविधायुक्त घर भएकाले दिदीका छोराहरू उनकोमा पुग्दा हरेक पटक नयाँ सामान फेरिएका देख्छन् ।  रमेश उप्रतीलाई मुख्य कर्मचारीको रुपमा देखाइन्छ । उनले भ्रष्ट कर्मचारीको भूमिकाको निभाएका छन् । समाजलाई सकारात्मक सन्देश दिने उनी कुनै पनि भूमिकामा छैनन् । ‘गलत काम गरेर कमाएको पैसा परिवारको लागि काम लागेन । राम्रो बाउ बन्ने हतारमा असल नागरिक बन्न सकिनँ,’ उनले भनेका छन्,’ अप्ठयारो पर्दा आफूले हेपेको मानिस काम लाग्ने रहेछ । आफू इमान्दार भएमा पैसा भन्दा व्यवहार काम लाग्दो रहेछ ।’ सम्पत्ति सकिएपछि सबथोक सकिने तर आफन्त नबदलिने भन्दै दिपाश्रीलाई दिदीले अप्ठयारो पर्दा सम्झाउँछिन्। फिल्मले सम्पत्ति हुँदा मात्र मानिस साथमा हुन्छन् । कलाकारको अभिनयले असल कर्मले मानिसको मन सधैँभरि जित्न सकिने सन्देश दिएको छ ।  समाजमा भ्रष्ट्राचार जस्तो जघन्य अपराध गर्नेलाई साथ दिन नहुने फिल्मले बताएको छ । अरूको कुरा नसुन्नु र गलत कुरा सुन्नु पनि महाभुल हुने देखाइएको छ ।  शोहनले फिल्ममा भावुक सन्देश छोड्छन् ।  ‘सन्तानले घर र अभिभावक चिन्न घर छोड्नै पर्ने रहेछ ।’ अभिभावकले छोराछोरीलाई अनुशासन राख्न विभिन्न नियम बनाएको फिल्मले देखाएको छ ।  फिल्मका अन्त्य २०८२ भदौ २३ र २४ को तयारीमा लगेर टुङ्याएको छ, जहाँ भ्रष्ट शासकविरुद्ध युवाहरू डिजिटल माध्यमबाट आन्दोलनको तयारीमा जुटेको देखाइएको छ । भ्रष्टाचार र आसेपासे शासन संस्कारको विरोधमा युवाहरू माइतीघर जुट्दै गर्दा फिल्मको अन्त्य गरिएको छ ।  फिल्ममा युवापुस्ता र बुढा पुस्ताको चाहना र बाध्यता स्पष्ट अभिव्यक्त भएको छ । राजनीतिक र प्रशासनिक द्वन्द्व र त्यसले समाजमा पारेको नकारात्मक असरलाई पनि राम्ररी चित्रण गरेको छ । देशप्रतिको माया, परिवारप्रतिको माया, समाजमा विकसित वर्गविभाजन, त्यसले निम्त्याएको द्वन्द्व, नेपालीमा भएको कोमल भावना र द्वन्द्वपछिको मिलनको प्रस्तुति सुपर नै छ । जसरी फिल्ममा परिवार र आफन्तबीच द्वन्द्वपछिको सुखद पुनर्मिलन देखाइएको छ, परिवारमा बसेर फिल्म हेर्दा त्यस्तै अनुभूति हुनेछ । फिल्ममा जस्तै परिवारमा द्वन्द्व, रुवाबासी र अंकमाल हुनेछ, यदि परिवार सँगै बसेर फिल्म हेर्ने हो भने ।