अतिक्रमण हटाएर माइतीघरको ढल निकास फराकिलो बनाइँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघरको डुबान समस्या अन्त्य गर्न ढल निकास फराकिलो बनाउने काम सुरु गरेको छ । माइतीघरलगायत क्षेत्रमा वर्षेनी दोहोरिने डुबान र ढल निकासको समस्याको दीर्घकालीन समाधानका लागि महानगरले ढल निकास विस्तार अभियान थालेको हो । महानगरले बुधबार माइतीघरबाट नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने सडकतर्फ ढल निकास सफा गर्ने तथा अवरुद्ध भाग खुलाउने काम गरिरहेको छ । यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजकत्वमा गठित चार सदस्यीय संयुक्त प्राविधिक टोलीले प्राविधिक त्रुटि, अव्यवस्थित सहरीकरण तथा संरचनागत अतिक्रमणका कारण डुबान र ढल निकासको समस्या उत्पन्न भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो । साउन ६ गते बुझाइएको उक्त प्रतिवेदनले सहरी विस्तारका क्रममा भएको अव्यवस्थित निर्माणका कारण ढल निकास अवरुद्ध हुँदा वर्षेनी डुबान हुने गरेको उल्लेख गरेको छ । उक्त प्रतिवेदन कार्यान्वयन गर्दै महानगरपालिकाले थापाथली क्याम्पस, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा अन्य सरकारी कार्यालय आसपासको ढल निकास खुलाउने काम सुरु गरेको हो । सडक डिभिजन काठमाडौंका प्रमुख सुवोधकुमार देवकोटाले माइतीघरमा डुबान हुनुको मुख्य कारण ढल निकास साँघुरो हुनु र कतिपय स्थानमा पुरिनु रहेको बताए । उनका अनुसार आगामी वर्षायाममा डुबान र बाढीको समस्या न्यूनीकरण गर्न पुरिएका ढल निकास खुलाएर थप फराकिलो बनाउने काम भइरहेको छ । उनले सैनिक मुख्यालय परिसरका ब्यारेक आसपास विभिन्न स्थानमा गरिएको उत्खननका क्रममा ढल निकासमा अवरोध (ब्लकेज) भेटिएको र सम्बन्धित निकायसँग समन्वय गरी ती अवरोध हटाउने काम भइरहेको जानकारी दिए । उनले भने, ‘हामीले यहाँको डुबान र बाढीको समस्या पहिलेदेखि नै अध्ययन गरेका थियौं। अध्ययनका क्रममा ढल निकास साँघुरो रहेको र कतिपय स्थानमा पुरिएको पाइयो । अहिले पुरिएका ढल निकास खुलाएर थप फराकिलो बनाउने काम गरिरहेका छौं । सैनिक मुख्यालयको ब्यारेक आसपास पनि विभिन्न स्थानमा ब्लकेज भेटिएकाले ती हटाउने काम भइरहेको छ । सार्वजनिक तथा निजी संरचनाका कारण अवरुद्ध भएका सबै ढल निकास खुलाउने हाम्रो योजना छ ।’ काठमाडौं महानगरपालिकाका महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले माइतीघरको डुबान समस्या समाधानका लागि महानगर प्रहरी अहोरात्र खटिएको बताए । उनका अनुसार सैनिक मुख्यालयको उत्तर कुनादेखि थापाथली क्याम्पस हुँदै राष्ट्रिय वाणिज्य बैंकसम्म खोलाको सतह सुधार तथा ढल निकास विस्तारको काम भइरहेको छ । ढल निकासको बहाव क्षमता बढाएर वर्षायाममा हुने डुबान न्यूनीकरण गर्ने उद्देश्यले सम्पूर्ण क्षेत्रमा ढल निकास फराकिलो बनाइने उनले बताए । उनले भने, ‘माइतीघरको डुबान समस्या समाधानका लागि हामी निरन्तर खटिएका छौं । सैनिक मुख्यालयको उत्तर कुनादेखि थापाथली क्याम्पस हुँदै राष्ट्रिय वाणिज्य बैंकसम्म खोलाको सतह सुधार र ढल निकास विस्तारको काम भइरहेको छ । ढल निकास खुलाउँदै यसको बहाव क्षमता वृद्धि गर्ने कामलाई प्राथमिकता दिएका छौं ।’ काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले माइतीघरमा हुने बाढी र डुबानको समस्याबारे विभिन्न चरणमा छलफल भइसकेपछि अहिले ढल निकास खुलाउने काम अघि बढाइएको बताए । उनका अनुसार थापाथली क्याम्पस, राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय तथ्याङ्क कार्यालयका केही भौतिक संरचना ढल निकासको मार्गमै निर्माण गरिएकाले आवश्यक समन्वयपछि अवरोध बनेका संरचना हटाइनेछ । महानगरले तत्कालका लागि अतिक्रमण गरेर बनाइएका संरचना हटाउने, भित्री ढल तथा टुकुचाको पिँध सफा गर्ने, खोलाको किनार फराकिलो बनाउने, छोपिएका म्यानहोल खुलाउने तथा सम्बन्धित निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने योजना अघि बढाएको जनाएको छ ।
नेपालको पहिलो हाइड्रो आफै उज्यालोको पर्खाइमा
काठमाडौं । नेपालको आधुनिक ऊर्जा विकासको इतिहास फर्पिङ जल विद्युत परियोजनाले ११६ वर्ष पार गरेको छ । १९६८ जेठ ९ गते उद्घाटन भएको यो आयोजना एसियाकै दोस्रो जलविद्युत परियोजनाका रूपमा परिचित छ । तर नेपालमा विद्युत उत्पादनको इतिहासको साक्षी रहेको यो धरोहर अहिले संरक्षणको अभाव, सरकारी बेवास्ता र स्पष्ट दीर्घकालीन योजनाको कमीका कारण जीर्ण बन्दै गएको छ । पाँच सय किलोवाट क्षमताको फर्पिङ लघु जलविद्युत आयोजना तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाको पहलमा गेहेन्द्र शमशेरको नेतृत्वमा निर्माण गरिएको थियो । यसको उद्घाटन तत्कालीन राजा पृथ्वी वीरविक्रम शाहले विसं १९६८ जेठ ९ गते गरेका थिए । त्यसबेला यस केन्द्रबाट उत्पादित विद्युतलाई श्री चन्द्रज्योति प्रकाश नाम दिइएको थियो । काठमाडौं उपत्यकाबाट करिब १२ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस परियोजनाको निर्माणमा त्यतिबेला सात लाख १३ हजार रुपैयाँ खर्च भएको थियो । आयोजनाका लागि आवश्यक सम्पूर्ण आर्थिक सहयोग तत्कालीन बेलायत सरकारले उपलब्ध गराएको थियो । उत्पादन भएको विद्युत ११ केभी वितरण प्रणालीमार्फत काठमाडौं उपत्यकामा आपूर्ति गरिन्थ्यो । विद्युत वितरणलाई व्यवस्थित बनाउन त्यसबेला बिजुली अड्डासमेत स्थापना गरिएको थियो । फर्पिङ जलविद्युत गृह नेपालको ऊर्जा इतिहासको एउटा महत्त्वपूर्ण परिचय हो । भारतको दार्जिलिङपछि एसियामा विद्युत उत्पादन गर्ने दोस्रो आयोजना मानिने यस परियोजनाले नेपाललाई आधुनिक ऊर्जा युगमा प्रवेश गराएको थियो । विसं १९६४ मा बेलायत भ्रमणबाट फर्किएपछि चन्द्रशमशेरले नेपालमा जलविद्युत उत्पादन गर्ने योजना अघि सारेका थिए । बेलायती र नेपाली इन्जिनियरहरूको संयुक्त प्रयासमा करिब २० महिनाको निर्माणपछि आयोजना सञ्चालनमा आएको थियो । कुटली खोला, सातमुले र शेषनारायण क्षेत्रको पानीलाई एकीकृत गरी निर्माण गरिएको यस आयोजनाबाट राजधानीका दरबार, सरकारी कार्यालय तथा उद्योगमा विद्युत आपूर्ति गरिएको थियो । त्यसबेला विद्युत उत्पादनका हिसाबले नेपाल चीन र जापानभन्दा समेत अगाडि रहेको ऐतिहासिक तथ्य यस आयोजनासँग जोडिएको छ । फर्पिङ जलविद्युत गृहले करिब ६० वर्षसम्म काठमाडौं उपत्यकालाई विद्युत आपूर्ति ग‍रेको थियो । तर २०३८ सालमा फर्पिङ क्षेत्रको पानी राजधानीको खानेपानी आपूर्तिका लागि प्रयोग गर्न थालिएपछि विद्युत उत्पादन बन्द गरियो । त्यसयता आयोजना निष्क्रिय बन्दै गएको छ । ऊर्जा उत्पादन बन्द भएसँगै ऐतिहासिक संरचनाको संरक्षणमा पनि सरकारी ध्यान पुग्न सकेन । फलस्वरूप नेपालकै औद्योगिक इतिहाससँग जोडिएका मेसिन, संरचना र पूर्वाधार क्रमशः जीर्ण बन्दै गएको स्थानीय राजु श्रेष्ठले जानकारी दिए । एक सय १६ वर्ष पुरा गरेको फर्पिङ जल विध्युत क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, पार्क निर्माण गर्ने तथा जलविद्युत सङ्ग्रहालय स्थापना गर्ने घोषणा गरिएपनि यस क्षेत्रमा राज्यको ध्यान नगएको श्रेष्ठले बताए । बारम्बार सरकार र मन्त्री परिवर्तन हुने राजनीतिक अस्थिरताका कारण यस्ता दीर्घकालीन सम्पदा संरक्षणका कार्यक्रमले निरन्तरता नपाएको उनको भनाइ छ । स्थानीय तारा बलामी फर्पिङ जलविद्युत आयोजना नेपालको आधुनिक विकासको जीवित इतिहास भए पनि राज्यको प्राथमिकतामा पर्न सकेको बताइन् । उनले भनिन्, ‘फर्पिङ जलविद्युत गृह केवल एउटा पुरानो संरचना होइन, यो नेपालको आधुनिक विकास यात्राको सुरुआतको प्रतीक हो । यसको संरक्षणका लागि दीर्घकालीन योजना, पर्याप्त बजेट र निरन्तर सरकारी प्रतिबद्धता आवश्यक छ । तर अहिलेसम्म त्यसअनुसारको काम हुन सकेको छैन ।’ उनका अनुसार ऐतिहासिक सम्पदाको संरक्षणलाई सरकारले प्राथमिकतामा नराख्दा यस्तो महत्त्वपूर्ण धरोहर क्रमशः उपेक्षामा पर्दै गएको छ । ऊर्जा क्षेत्रका जानकार तथा सम्पदा संरक्षणकर्मीहरूले फर्पिङ जलविद्युत आयोजनालाई राष्ट्रिय ऊर्जा सम्पदाका रूपमा संरक्षण गर्नुपर्ने बताउँछन् । यसलाई जलविद्युत सङ्ग्रहालय, अनुसन्धान केन्द्र तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु नगरपालिकाले सरकारलाई अनुरोध गरेको दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत बताउँछन् ।
थापाथली क्षेत्रमा आगलागी भएपछि ऊर्जामन्त्रीको चासो, तत्काल समाधान गर्न निर्देशन
काठमाडौं । लामो समयदेखि थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत तथा दूरसञ्चारका तारमा मंगलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै तत्काल समाधानका लागि सम्बन्धित निकायसँग समन्वय सुरु गरेका छन् । आगलागीका कारण स्थानीय बासिन्दाको सुरक्षा र जनधनमा पर्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै मन्त्री श्रेष्ठ बुधबार बिहानै घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा उनले यस्ता अव्यवस्थित तारले जुनसुकै बेला ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले समस्या समाधानमा ढिलाइ गर्न नहुने बताए । मन्त्री श्रेष्ठको पहलमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक संस्था, काठमाडौं महानगरपालिका तथा अन्य सम्बन्धित निकायबीच आवश्यक समन्वय अघि बढाइएको छ । उनले सम्बन्धित निकायलाई जोखिमपूर्ण अवस्थामा रहेका तारहरूको तत्काल व्यवस्थापन गर्न र दीर्घकालीन रूपमा व्यवस्थित तार व्यवस्थापनको कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिए । मन्त्री श्रेष्ठले नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकता भएको उल्लेख गर्दै यस्ता समस्याको स्थायी समाधानका लागि सबै सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताए । उनले राजधानीका विभिन्न क्षेत्रमा वर्षौंदेखि गुजुल्टिएर रहेका तारलाई व्यवस्थित बनाउने अभियानलाई थप तीव्रता दिइने समेत स्पष्ट पारे । स्थानीयवासीले पनि थापाथलीसहित राजधानीका अन्य क्षेत्रमा अव्यवस्थित तार व्यवस्थापनको कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।