नेपालमा कोइकाको स्वयंसेवा कार्यक्रम निरन्तर, कीर्तिपुर माविमा नयाँ स्वयंसेवक

काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले कोरिया ओभरसिज भोलेन्टियर (केवभी) हस्तान्तरण समारोह सम्पन्न गरेको छ । कोइका नेपाल कार्यालयले शुक्रबार ललितपुरमा समारोह आयोजना गरेको हो । समारोहमा कोइका, सम्बन्धित संस्था तथा नेपालमा भर्खरै आइपुगेका स्वयंसेवकको सहभागिता थियो। कोरियाली स्वयंसेवक पार्क इन्सिल जुलाई १४ मा नेपाल आएकी थिइन् । उनले ललितपुरमा चार साता लामो अनुकूलन तालिमसमेत पूरा गरेकी छन् । पार्क इन्सिललाई काठमाडौंको कीर्तिपुर माध्यमिक विद्यालयमा प्रारम्भिक बाल विकास स्वयंसेवकका रूपमा नियुक्त गरिएको छ । उनले अगस्ट १७ देखि विद्यालयमा एक वर्ष स्वयंसेवा गर्नेछिन् । कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर मुहेओन कोङले कीर्तिपुर माध्यमिक विद्यालय तथा विद्यालय व्यवस्थापनले कोइका र केवभी कार्यक्रमलाई दिएको स्वागतप्रति आभार व्यक्त गरे । उनले विद्यालय र कोइकाबीच केवभी कार्यक्रममार्फत निरन्तर सहकार्यको सुरुवात भएको बताए । आगामी दिनमा अर्थपूर्ण, दिगो र पारस्परिक लाभमा आधारित सहकार्य हुने अपेक्षा व्यक्त गर्दै उनले यसबाट विद्यालय र विद्यार्थीमा सकारात्मक तथा दीर्घकालीन परिणाम हासिल हुने विश्वास व्यक्त गरे । कोइकाका अनुसार केवभी कार्यक्रमको मुख्य उद्देश्य कोरियाली ज्ञान र अनुभवलाई स्थानीय तहसम्म प्रत्यक्ष रूपमा हस्तान्तरण गर्नु हो । यस कार्यक्रममार्फत साझेदार देशका नागरिकको जीवनस्तर सुधारसँगै कोरिया र साझेदार देशबीचको मित्रता तथा पारस्परिक समझदारी सुदृढ गर्ने लक्ष्य राखिएको छ । साथै, अन्तर्राष्ट्रिय समुदायले तय गरेका विकास लक्ष्य हासिल गर्ने प्रयासमा सहयोग पुर्‍याउने उद्देश्य पनि कार्यक्रमको रहेको छ । सन् १९९० देखि नेपाल सरकारको अनुरोधमा कोइका स्वयंसेवकहरू काठमाडौं उपत्यकासहित देशका विभिन्न सरकारी संस्थामा परिचालन हुँदै आएका छन् । उनीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि र पर्यटनलगायत क्षेत्रमा योगदान गर्दै आएका छन् । हालसम्म कोइकाले नेपालमा ५०० स्वयंसेवक परिचालन गरिसकेको जनाएको छ । हाल काठमाडौं, ललितपुर, इलाम, कैलाली, कास्की, बागलुङ र रुपन्देहीका सरकारी संस्थामा ९ जना स्वयंसेवक कार्यरत छन् । केवभी कार्यक्रम कार्यान्वयनका क्रममा स्वास्थ्य तथा सुरक्षा प्रोटोकलको पूर्ण पालना गर्न आवश्यक सबै उपाय अपनाउने प्रतिबद्धता कोइका नेपाल कार्यालयले जनाएको छ ।

भदौ १ देखि सूचना प्रविधि विभाग ‘विद्युतीय शासन कार्यालय’ मा रूपान्तरण हुने

काठमाडौं । सरकारले सूचना प्रविधि विभागलाई अब ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ का रूपमा रूपान्तरण गर्ने भएको छ । शुक्रबार (आज) प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले यसबारे जानकारी गराएका हुन् ।  प्रवक्ता अर्यालकाअनुसार सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) र निजामती किताबखानामा पद दर्ताको प्रक्रिया सम्पन्न भइसकेकाले आगामी भदौ १ गतेदेखि उक्त कार्यालयले नयाँ संरचनाअनुसार पूर्ण रूपमा कार्य प्रारम्भ गर्नेछ ।  त्यस्तै, नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताहरूको अभिलेखलाई व्यवस्थित र केन्द्रीकृत गर्ने कार्य अघि बढाइएको उनले जानकारी दिए । हाल विभिन्न मन्त्रालयमा छरिएर रहेका त्यस्ता दस्तावेजहरूलाई प्रधानमन्त्री कार्यालयको ‘मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखा’ मा अर्काइभ (अभिलेख) गरिने प्रवक्ता अर्यालले बताए । विगतका आन्दोलनका शहीद परिवारका लागि पूर्वघोषित राहत प्याकेज कार्यान्वयनमा सहजीकरण गर्न सरकारले विशेष समिति गठन गरेको जानकारी दिँदै उनले यो कुनै नयाँ कोष नभई घोषित कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि चालिएको कदम भएको स्पष्ट पारे ।  जनगुनासो सम्बोधनको सन्दर्भमा ‘हेलो सरकार’ मा साउन १ गतेयता प्राप्त गुनासोहरू र तिनको फर्छ्याैट दर उत्साहजनक रूपमा बढिरहेको उनले जानकारी दिए । यसैगरी, बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन समन्वय भइरहेको र सुकुम्बासी समस्याका विषयमा सम्बन्धित मन्त्रालयहरूसँग आवश्यक समन्वय भइरहेको उनको भनाइ छ ।  भक्तपुरमा गएको पहिरो र त्यसबाट सिर्जित समस्याका बारेमा गृह मन्त्रालयबाट रिपोर्टिङ भइरहेको र जनप्रतिनिधिहरूसँग छलफल भइरहेको जानकारी समेत प्रवक्ता अर्यालले दिए ।  प्रधानमन्त्रीको वैदेशिक भ्रमण र निमन्त्रणाका विषयमा भने परराष्ट्र मन्त्रालयले आधिकारिक जानकारी दिने पनि उनले स्पष्ट पारे ।

नेपाली कांग्रेसलाई एकजुट बनाउनु मेरो मुख्य कर्तव्य होः डा. शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको आन्तरिक एकता सुदृढ बनाउनु आफ्नो प्रमुख दायित्व भएको बताएका छन् । शुक्रवारदेखि सुरु भएको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस एकीकृत भएको खण्डमा कसैले पनि पराजित गर्न नसक्ने दाबी गरेका हुन् । सम्बोधनका क्रममा डा. कोइरालाले पार्टी पूर्वसभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसङ्गहरू स्मरण गरे । वीपी कोइरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको उल्लेख गर्दै उनले बनारसमा रहँदाका स्मृतिहरू साझा गरे ।  वीपीको निर्देशनमा आफूले देउवालाई बनारस घुमाएको र त्यस क्रममा हेरिएका चलचित्रहरूका बारेमा देउवाले देखाएको सूक्ष्म र हुबहु विश्लेषणबाट आफू प्रभावित भएको कोइरालाले बताए ।  उनले भेन, ‘लोकतन्त्रको आगमनपछि तत्कालीन नेता गिरिजाप्रसाद कोइरालाको आग्रहमा लण्डनबाट फर्किएलगत्तै शेरबहादुरजी प्रधानमन्त्री बन्नुभयो । उहाँ अत्यन्त भाग्यमानी र प्रभावशाली नेता हुनुहुन्छ । शेरबहादुरजी नै हाम्रो नेता र सभापति हुनुहुन्छ, उहाँकै नेतृत्वमा नेपाली कांग्रेस अगाडि बढ्छ ।’ देउवाको उपस्थितिले नै कार्यक्रम सफल हुने उनले विश्वास व्यक्त गरे ।  देशभरका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कार्यकर्ताहरूलाई स्वागत गर्दै कोइरालाले कार्यक्रम व्यवस्थापनमा भएका कमीकमजोरीप्रति क्षमायाचनासमेत गरे । उनले पार्टीभित्रको उत्साह र एकताले नै कांग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड दिए ।