चाबहिल यातायातमा अख्तियारको छापा, प्रमुखसहित २७ जनाको मोबाइल नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल नियन्त्रणमा लिएको छ । यातायात व्यवस्था कार्यालय चाबहिलका कर्मचारीले विचौलियामार्फत सवारीचालक अनुमतिपत्र दिलाउन घुस लिने गरेको उजुरीको आधारमा आयोगले कार्यालयमा छापा मारेको हो । आयोग चाबहिलका प्रमुख पेशलकुमार पोखरेलसमेत २७ जनाको ३७ थान मोबाइल नियन्त्रणमा लिएको हो । त्यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथबाट ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित तीन जना प्रहरीको मोबाइलमा पनि नियन्त्रणमा लिएको छ ।  उनीहरू यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्रको परीक्षामा खटिएका थिए ।  यस्तै, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका प्रबन्धक बालकृष्ण सिंहसहित ७ जनाको ९ वटा मोबाइलम पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।  लिखित परीक्षामा फेल भएका व्यक्तिलाई तीन महिना नपुग्दै पुनः लिखित परीक्षामा सहभागी गराएको आरोप अख्तियारको छ । यसबारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

करिब १७ लाख रुपैयाँ बराबरको चाँदीजस्तो देखिने सेतो धातुसहित एकजना पक्राउ

काठमाडौं । सेतो चाँदीजस्तो देखिने धातुसहित एक जना व्यक्ति नागढुंगाबाट पक्राउ परेका छन् ।  वीरगञ्जबाट काठमाडौं आउँदै गरेका २५ वर्षीय किसन साहलाई नागढुंगा चेकप्वाइन्टबाट अढाइ किलो चाँदीजस्तो देखिने सेतो धातुसहित पक्राउ परेका हुन् ।  १६ लाख ९० हजार रुपैयाँ बराबरको चाँदीजस्तो देखिने सेतो धातुसहित साहलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए।  मंगलबार बिहान साढे ६ बजे नागढुंगास्थित चेक प्वाइन्टमा म. प्र. ०१-००१ ख ७७२१ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगा तथा लागु औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुंगासहितको संयुक्त टोलीले चेकजाँच गर्दा साहको साथमा चाँदीजस्तो देखिने सेतो धातु भेटिएको हो । वीरगञ्ज महानगरपालिका- १६ का साहलाई नियन्त्रणमा लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

युवराज सफल पक्राउ

काठमाडौं । युवराज सफल भनेर चिनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ।  महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्तालाई विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल मार्फत नकारात्मक, अपशब्द र गालीगलौज गरेकाले पौडेललाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए । पौडेलले विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने कार्य गरेको भनी भिडियो बनाएका र अन्तर्वार्तामा झुटा आरोप लगाएका थिए ।  पौडेललाई कानुन बमोजिम आवश्यक कारबाही गरिदिन महान्यायाधिवक्ताको कार्यालयले प्रहरीलाई अनुरोध गरेको थियो । महान्यायाधिवक्ता कार्यालय र माननीय महान्यायाधिवक्ताको बारेमा तथ्यहीन कुराहरूको भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गरेको देखिएकाले पौडेललाई पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए ।