निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नहोस्: महानिरीक्षक अर्याल
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सोमबार सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालय प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतलाई निर्देशन दिँदै उनले आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिए । महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारबाहीलाई तीव्र रूपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान दिन निर्देशन दिए । कमजोर कमान्ड र गल्ती गर्ने कमान्डर माथि तत्काल कारबाही गर्ने बताउँदै उनले उच्च मनोबलका साथ काम गर्न सबैलाई आग्रह गरे । उनले कमाण्डको जिम्मेवारीमा खटिन लागेका सशस्त्र प्रहरी अधिकृतलाई पदीय जिम्मेवारीमा रही कार्यक्षेत्रमा रहँदा बदमासी गरेमा तत्कालै कारबाही गरिने उल्लेख गरे । निर्वाचन सफल बनाउन मातहत कर्मचारीलाई निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गरी परिचालित हुन पनि उनले निर्देशन दिए । महानिरीक्षक अर्यालले सङ्गठनले लिएको सोच र नीतिअनुसार कार्यक्षेत्रमा खटिँदा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी आ-आफ्नो जिम्मेवारीमा थप सक्रियताका साथ परिचालित हुनुपर्नेमा जोड दिए । राजस्व चुहावट नियन्त्रणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने तर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ । उनले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण इकाइहरुले आर्थिक पारदर्शिता कायम गरी भ्रष्टाचारमा शून्य सहनशिलताका साथ कार्यसम्पादन गर्नुपर्ने बताउँदै सीमामा खटिँदा अझ बढी सक्रिय भई गस्ती, पट्रोल तथा अपरेशनल काम कारबाही सञ्चालन गर्न निर्देशन दिए ।
कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा वर्षा हुने
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागी बाँकी भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा तराई भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङको समेत सम्भावना छ ।
उम्मेदवारले बैंकमा एकै प्रकृतिका दुई खाता खोल्न पाउने
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारले एकै प्रकृतिका दुई खाता खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारका लागि यस्तो सुविधाको व्यवस्था गरेको हो। राष्ट्र बैंकले निर्वाचन आयोग नेपालको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले उम्मेदवारको खाता खोल्न सक्ने व्यवस्था गरेको हो । यस्तो खाता आमनिर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने राष्ट्र बैंकको भनाइ छ । प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूको सिफारिसमा निर्वाचन अभियान समूहमा नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्न सक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत) को छुट्टै एउटा बैंक खाता खोली कारोबार सञ्चालन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।