शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका १४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका २८ जनाले बचत फिर्ता पाएका हुन् । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।
‘फ्री भिसा–फ्री टिकट’ लागू भएको छैन, ८३ प्रतिशत श्रमिक अझै वञ्चित : श्रममन्त्री
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका लागि लागू गरिएको ‘फ्री भिसा–फ्री टिकट’ नीति १० वर्षदेखि कागजमै सीमित रहेको स्वीकार गरेका छन् । बुधबार उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापनसम्बन्धी छलफलका क्रममा मन्त्री यादवले अधिकांश नेपाली श्रमिकले अझै पनि उक्त नीतिको लाभ पाउन नसकेको बताए । उनका अनुसार वार्षिक रूपमा वैदेशिक रोजगारीमा जानेमध्ये करिब ७ प्रतिशत अर्थात् साढे १७ हजार श्रमिक मात्रै ‘इथिकल रिक्रुटमेन्ट’ प्रणालीमार्फत कुनै शुल्क नतिरी विदेश जाने गरेका छन् । त्यस्तै करिब १० प्रतिशत श्रमिकले निःशुल्क भिसा, टिकट र सेवा शुल्कको सुविधा पाउने गरेका छन् । बाँकी ८३ प्रतिशत श्रमिकका हकमा भने ‘फ्री भिसा–फ्री टिकट’ नीति कार्यान्वयन हुन नसकेको उनले बताए । मन्त्री यादवले यो सुविधा नेपाल सरकार वा गन्तव्य मुलुकको नीतिका कारण नभई सम्बन्धित रोजगारदाताको व्यावसायिक नीतिका कारण उपलब्ध भएको स्पष्ट पारे । अन्तर्राष्ट्रिय बजारमा श्रमिक शोषण भएको उद्योगका उत्पादन बहिष्कार हुने डरका कारण केही रोजगारदाताले आफ्नै खर्चमा श्रमिक भर्ना गर्ने गरेको उनको भनाइ थियो । उनले ‘फ्री भिसा–फ्री टिकट’ नीतिको नाममा श्रमिकमाथि थप आर्थिक भार परेको र ठगीसमेत बढेको दाबी गर्दै नीति पुनरावलोकन आवश्यक रहेको बताए । यसका लागि सरकारले कार्यदल गठन गरी प्रतिवेदन तयार गरिसकेको र त्यसलाई मन्त्रिपरिषद् तथा संसदीय समितिमा छलफलका लागि लैजाने तयारी भइरहेको जानकारी दिए । मन्त्री यादवले वैदेशिक रोजगारीसँग सम्बन्धित अवैध एजेन्टविरुद्ध पनि कारबाही प्रक्रिया अघि बढाइएको बताए । उनका अनुसार सार्वजनिक सूचना जारी गरी पीडितबाट उजुरी संकलन गरिएको छ भने हालसम्म ९२ जना अवैध एजेन्टमाथि अनुसन्धान गरी सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि पठाइएको छ । उनले नयाँ वैदेशिक रोजगार ऐनको मस्यौदामा अवैध एजेन्टको भूमिका निरुत्साहित गर्ने तथा उनीहरूसँगको संलग्नता पुष्टि भए कडा कारबाही गर्ने व्यवस्था प्रस्ताव गरिएको जानकारी दिए । वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी फर्स्योटमा पनि उल्लेखनीय सुधार भएको दाबी गर्दै मन्त्री यादवले वैदेशिक रोजगार विभागमा दर्ता भएका ४३ हजार उजुरीमध्ये चार हजार उजुरी फर्स्योट गरी पीडितलाई क्षतिपूर्ति दिलाइएको बताए ।
लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त, को हुन् उनी ?
काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पद (सीईओ) मा याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार (आज) बसेको मन्त्रिपरिषद्ले उक्याबलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले संयोजक रहेको सिफारिस समितिले लगानी बोर्डको सीईओको लागि याङ्की उक्याब, मनोज पौडेल र जितेन्द्र धितालको नाम सिफारिस गरेको थियो । यसअघि लगानी बोर्डमै परामर्शदाताको रूपमा काम गरेकी विकास अर्थशास्त्री उक्याब सार्वजनिक नीति, दिगो विकास, जलवायु, आर्थिक विकास तथा लगानीका विषयको विशेषज्ञका रूपमा परिचित रहेकी छिन्। उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी)को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा पनि काम गरिसकेकी छिन् । याङ्कीले बेलायतको अक्सपोर्ट विश्वविद्यालयबाट मास्टर्स अफ पब्लिक पोलिसी (एमपीपी) गरेकी छन् । उनको विकास अर्थशास्त्र, सार्वजनिक नीति, दिगो विकास, संघीय वित्तीय प्रणाली, जलवायु तथा हरित अर्थतन्त्र, सार्वजनिक लगानी तथा पूर्वाधार विकास र डिजिटल रूपान्तरणमा खास कार्यानुभव रहेको जनाइन्छ ।