पोलले रोकेको पृथ्वी राजमार्ग विस्तार: नागढुङ्गा-मुग्लिन खण्डमा काम ठप्प
काठमाडौं । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य बाधक बनेका छन् । सडकको छेउकुनामा रहेका पोल सार्न नेपाल विद्युत् प्राधिकरणले ढिलासुस्ती गर्दा नागढुङ्गा-मुग्लिन सडक आयोजनाको काम बाधा पुगेको हो । विशेषगरी नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पूर्वी खण्डमा पर्ने नौबिसेदेखि धार्के बजार क्षेत्र, गल्छी गाउँपालिकाको बन्छेटार, जरेखेत, बेल्खु र गजुरी गाउँपालिकाको घाटबेँसी, पोखरेखोला हुँदै गजुरी बजार आसपासमा विस्तारको काम द्रुतगतिमा अघि बढ्न सकेको छैन । आयोजनाका पूर्वी खण्डका इन्जिनियर केशवराज ओझाका अनुसार विद्युत् प्राधिकरणले पोल सार्न ढिला गरिदिँदा काम नै रोक्नुपर्ने अवस्था आएको छ । सडक आयोजनाले काम गर्ने क्रममा कतै पोल गाडिएको ठाउँलाई छाडेर चारैतिर कालोपत्र गरिसकेको छ भने कतै ग्राभेल बिछ्याएरै काम अधुरो छाडिएको छ । कतिपय ठाउँमा पोल गाडिएको चारैतिरको भाग खनेर पोलमात्र अलपत्र पारिएका कारण दुर्घटनाको जोखिमसमेत उच्च भएको छ । सडक विस्तारका क्रममा सार्नुपर्ने बिजुलीका पोल सार्ने खर्च सडक आयोजनाले व्यहोर्नेगरी सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा र नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश प्रादेशिक कार्यालयबीच सम्झौता भए पनि कार्यान्वयन पक्ष फितलो देखिएको छ । प्राधिकरणले पोल सार्न ठेकेदारलाई जिम्मा दिएको र ठेकेदारले काममा ढिलाइ गरेको हो । पूर्वी खण्डमा सार्नुपर्ने करिब ५०० पोलमध्ये अब करिब १०० जति पोल सार्न बाँकी छ, तर तिनै पोलका कारण मुख्य खण्डको काम प्रभावित भएको पूर्वी खण्डका इन्जिनियर ओझाको भनाइ छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश, प्रादेशिक कार्यालयका इन्जिनियर शेरबहादुर सुनारले भने पोल सार्न ढिलाइ नगरेको र काम भइरहेको दाबी गरे । ‘काम भइरहेकै छ, व्यावहारिक कठिनाइ हो । ठेकेदारसँग बुझेर मात्र थप कुरा भन्न सकिन्छ’, उनले भने । काम गर्ने निकायहरूबीचको समन्वय अभाव र ठेकेदारको ढिलासुस्तीले राष्ट्रिय गौरवको आयोजना त्यसमाथि पनि राजमार्गजस्तो संवेदनशील क्षेत्रमा विकासको काममा अवरोध पुग्नुका साथै यात्रा जोखिम बन्दै गएको छ ।
काठमाडौंका क्यासिनोमा नेपाली छिरेको आशंकामा प्रहरीले मार्यो छापा
काठमाडौं । नेपाली छिरेको आशंकामा काठमाडौंमा रहेका क्यासिनोमा प्रहरीले छापा मारेको छ । गएराति काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले काठमाडौंमा रहेका सबै क्यासिनोमा छापा मारेको हो । ठमेलको वाल्डो क्यासिनो, मेरियटमा रहेको डेल्टिन क्यासिनो, सोल्टी होटलमा रहेको माजुङ क्यासिनो, बेलिज क्यासिनो, क्यासिनो रोयल र बादशाह क्यासिनो प्रहरीले छापा मारेको थियो । काठमाडौं प्रहरी परिसरको नेतृत्त्वमा हरेक वृत्तबाट क्यासिनोको अनुगमन गर्न एक(एक जना प्रहरीहरू खटिएका थिए । प्रतिनिधि सभाको निर्वाचनपछि नेपालीहरू क्यासिनो छिरेको सूचना आएपछि प्रहरीले क्यासिनोमा छापा मारेको अनुगगमनमा एक प्रहरीले बताएका छन् । पछिल्लो समयमा नेपालीहरू क्यासिनो छिर्न थालेको गोप्य सूचना आएपछि प्रहरीले छापा मारेको ती प्रहरीले विकासन्युजलाई बताए । उनका अनुसार निर्वाचनपछि जिल्ला गएकाहरू काठमाडौं फर्केपछि चहलपहल बढ्न थालेको छ । निर्वाचनमा बाहिर निस्केका पैसाहरू नेपालीहरूले क्यासिनो खेल्न गएको शंकामा प्रहरीले क्यासिनोमा सक्रियता बढाएको हो । क्यासिनोमा नेपालीलाई प्रवेशको निषेध गरिएको छ । प्रहरीले समय(समयमा नेपालीहरूको प्रवेश गर्ने गरेको सूचना पाएपछि अनुगमन गर्ने गरेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले काठमाडौंमा रहेका सबै क्यासिनोमा अनुगमन गरिएको बताए । ‘क्यासिनोमा प्रहरीको नियमित अनुगमन हुने गरेकाले गस्ती मात्र गरिएको हो,’ उनले भने । क्यासिनोभित्र कसैले पनि अवैध काम गरिएको नभेटिएको उनको भनाइ छ । कुनै पनि नेपालीलाई नियन्त्रणमा नलिएको उनले जानकारी दिए । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध गरिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र सञ्चालनमा
काठमाडौं । नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ । पोखरा आउने पर्यटकलाई पोखरासहित समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारीसँगै उनीहरूको यात्रामा सहजीकरण गर्ने उद्देश्यका साथ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सूचना केन्द्र सञ्चालन गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिए । पर्यटकको सहजीकरणका लागि केन्द्रमा पर्यटन बोर्डबाट कर्मचारीसँगै दुई जना पर्यटक प्रहरी रहने उनले बताए । पर्यटन राजधानी पोखरा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक पर्यटकीय गन्तव्य हो । केन्द्र सञ्चालनसँगै यहाँ आउने पर्यटकहरू लाभान्वित बन्ने विश्वास लिइएको छ ।