नयाँ सरकारलाई पत्याएन सेयर बजारले, परिसूचक दोहोरो अंकले ओरालो
काठमाडौं । नयाँ सरकार विस्तार भएपछि पनि सेयर बजारमा सुधार भएको छैन । सरकार विस्तार भई अर्थमन्त्रीका रुपमा डा. युवराज खतिवडा नियुक्त भएपछिकाे बुधबारको बजार पनि दोहोरो अंकले ओरालो लागेको छ । सो दिनको नेप्से परिसूचक १८.८२ अंकले घटेर १३४५.९९ अंकमा झरेको छ । केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएको दिन ३६ अंकले सेयर बजार उकालो लागेको थियो । त्यसपछि निरन्तर घटेको बजार अर्थमन्त्रीमा खतिवडा नियुक्त भएको दिन पनि सामान्य अंकले बढेको थियो । त्यसपछिको बजार भने निरन्तर ओरालो लागिरहेको छ । बजार अझै ओरालो लाग्ने क्रम जारी छ । नयाँ सरकारलाई सेयर बजारले नपत्याएको देखिएको छ । बजारमा लगानीकर्ताको विश्वास नबढेको र बैंकको चर्को ब्याजदरले पनि बढ्न नसकेको लगानीकर्ता बताउछन् । दोहोरो अंकले घटेको बजारमा कारोबारमा आएको सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक १५१ अंकले ओरालो लागेको छ । त्यस्तै, जलविद्युत, होटल, लघुवित्त, विकास बैंक, बैंकिङ र अन्य समूहको सूचक दोहोरो अंकले घटेका छन् । बुधबारको बजारमा कूल १६० कम्पनीको ५४ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी प्रभु बैंकको ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । यस प्रभुको सेयर मूल्य प्रतिकित्ता २२७ रुपैयाँ रहेको छ । प्रभुको सेयर मूल्य सस्तो भएकाले लगानीकर्ताले बढी खरिद गरेका हुन् । बजारमा सबैभन्दा बढी सिभिल बैंकका लगानीकर्ताले ५.८४८ प्रतिशत गुमाएका छन् भने सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४ प्रतिशतले बढेको छ ।
सानिमा इक्विटी फण्डको कारोबार खुला
काठमाडौं । आज (बुधबार)देखि नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सानिमा इक्विटी फण्डको इकाई कारोबार खुलेको छ । नेप्सेले फण्डको कारोबारको लागि प्रतिइकाई १० रुपैयाँ मूल्य तोकेको छ । फण्डको स्टक सिम्बोल ‘एसएइएफ’ रहेको छ । फण्डले उक्त सिम्बोल/संकेत बाट इकाईको कारोबार गर्ने छ ।
तारागाउँ होटल र नेपाल फाइनान्सले तोके बुक क्लोजको मिति, कहिले कहिले हुँदैछ ?
काठमाडौं । तारागाउँ रिजेन्सी होटल र नेपाल फाइनान्सले बुक क्लोजको मिति तोकेका छन् । तारागाउँ रिजेन्सी होटलले आगामी फागुन १८ गतेदेखि चैत १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । होटलले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि बुक क्लोजको मिति तय गरेको हो । होटलको साधारणसभा चैत १२ गते हुने भएको छ । सभामा होटलले सेयरधनीलाई (कर समेत) ७.३६८ प्रतिशत अर्थात १४ करोड ५ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव लैजाँदै छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८८ करोड ६६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल फाइनान्सले फागुन १५ गतेदेखि २९ गतेसम्म संस्थाको बुक क्लोज गर्ने भएको छ । यस संस्था फागुन २९ गते विशेष साधारणसभामा जाँदै छ