नेप्से सामान्य अंकले घट्दा एक अर्ब बढीको कारोबार, तीन कम्पनीको सेयर मूल्य ९% बढीले वृद्धि

काठमाडौं । साताको पहिलो दिनको सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ०.१९ अंकले घटेर १६३५ अंकमा झरेको छ । दिनभर उतारचढाव आएको सेयर बजारमा एक अर्ब चार करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ । सो दिन १५१ कम्पनीको १५ लाख ४१ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा तीन कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी हाम्रो विकास बैंकका लगानीकर्ताले ९.८९ प्रतिशत कमाएका छन् । त्यस्तै, कुबेर मर्चेन्ट एण्ड फाइनान्स र हिमालय जेनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता क्रमशः ९.७० र ९.२० प्रतिशत कमाएका छन् । आइतबार सबैभन्दा बढी बीमा समूहको परिसूचक २७५ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक, होटल र विकास बैंक समूहको परिसूचक हरिया भएका छन् भने कारोबार भएका बाँकी समूहको परिसूचक राताम्मे भएका छन् ।

विजय लघुवित्तको विशेष साधारणसभा भदौ ४ गते, साउन २४ गतेदेखि बुक क्लोज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा आगामी भदौ ४ गते हुने भएको छ । उक्त सभा प्रयोजनको लागि साउन २४ गतेदेखि भदौ ५ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ । सो साभा सम्बन्धि निर्णय साउन ८ गते बसेको कम्पनीको ७३औँ सञ्चालक समितिको बैठकले गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको ४९ लाख ३४ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । आइतबार मात्रै नेपाल इन्भेष्टमेन्ट बैंकको ४९ लाख ३४ हजार ६६३ कित्ता सेयर सूचिकृत भएको छ । एस डेभलपमेन्ट बैंक प्राप्ती पश्चात कम्पनीको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो ।