रिलायन्स लाईफ इन्स्योरेन्स र जनता बैंक नेपाल बिच बैंकासुरेन्स सम्झौता

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र जनता बैैंक नेपाल लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । सो सम्झौतामा रिलायन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात बैंकले बीमकको बीमाअभिकर्ताको रुपमा आफ्ना ग्राहकहरुलाई रिलायन्सद्धारा जारी गरिएका बीमालेखहरु बिक्रि वितरण गर्ने छ । हाल यस कम्पनीको कूल पुँजी २ अर्ब १० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । सो मध्ये बांकी रहेको ६३ करोड रुपैयाँको साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने कम्पनीले जनाएको छ ।

प्राइम लाइफ इन्स्योरेन्सलाई १६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडलाई १६० प्रतिशत(अर्थात १ बराबर १.६० को अनुपातमा) हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । बोर्डको अनुमति अनुसार कम्पनीले अंकित मूल्य एक सय रुपैयाँका दरले ९७ लाख ६३ हजार कित्ता हकप्रद जारी गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ९७ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको पुँजी एक अर्ब ८६ करोढ रुपैयाँ नाघ्ने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरिरहेको छ ।

सोल्टी होटलको नाफामा २५ प्रतिशत गिरावट, यस्तो छ कारण

काठमाडौं । सोल्टी होटलको नाफामा २५.५५ प्रतिशतले गिरावट आएको छ । होटलले २०७४ पुस मसान्त अवधीमा जम्मा ७ करोड ६९ लाख मात्रै नाफा कमाउन सफल भएको छ । जबकी होटलले २०७३ पुस मसान्तमा १० करोड ३३ लाख नाफा कमाउन सफल भएको थियो । होटलले आफ्नो हिमालयन विंग भवनको पुननिर्माण तथा साज सज्जा र स्तरोन्नति गरेकाले नाफा कम भएको जनाएको छ । १० रुपैंयाँ मूल्य अंकित होटलको प्रति सेयर आम्दानी १.३३ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ २५.०४ रुपैंयाँ रहेको छ ।