बिहीबारको सेयर बजारमा उतारचढाव, नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट

काठमाडौं । बिहीबारको सेयर बजारमा उतारचढाव आएको छ । कारोबार खुल्दा १६३७ अंकमा रहेको परिसूचक करिब साँढे एक घण्टामा १६४० अंकमा पुगेको थियो । त्यसपछि घट्दै बढ्दै करिब २ बजे १६३३ अंकमा पुगेको थियो । अन्त्यमा बजार बन्द हुँदा नेप्से १६३५ अंकमा पुगेको छ । समग्रमा: बिहीबारको नेप्से परिसूचक बुधबारको तुलनामा एक दशमलब ५२ अंकले घटेर १६३५ अंकमा पुगेको छ । बिहीबार नेप्से परिसूचकसँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । बुधबार एक अर्ब १८ करोड रुपैयाँको कारोबार भएको सेयर बजारमा बिहीबार जम्मा ९६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा करिब २२ करोड रुपैयाँ घटि हो । बिहीबार १५५ कम्पनीको १७ लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा चार समूहको परिसूचक हरिया भएका छन् भने बाँकी चार समूहको परिसूचक रात्ताम्मे भएका छन् । होटल, हाइड्रोपावर, बैंकिङ र विकास बैंक समूहको परिसूचक क्रमशः १६, ११, ५ र ३ अंकले ओरालो लागेका छन् । त्यस्तै, बीमा, उत्पादनमूलक, फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ७७, १३, १ र ०.५८ अंकले उकालो लागेका छन् ।

नेशनल लाइफ इन्स्योरेन्सको साउन ८ गतेदेखि २० दिन बुक क्लोज, किन हुँदै छ ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको साउन ८ गतेदेखि २० दिन बुक क्लोज हुने भएको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले साउन ८ गतेदेखि २७ गतेसम्म (२० दिन) कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त निर्णय कम्पनीको संचालक समितिको बैठकले गरेको हो । कम्पनी साउन २७ गते आफ्नो २९औँ वार्षिक साधारणसभामा जाँदै छ । सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम २७ प्रतिशत बोनस सेयर र उक्त बोनस पश्चात ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । (यो पनि पढ्नुहोस् )

फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ११ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ११ हजार कित्ता सर्वसाधारणतर्फको सेयर लिलामीमा राखिएको छ । यो बैंकले गत बैशाख २८ देखि जेठ ३१ सम्म खुला गरेको हकप्रदमा आवेदन नै नपरेको उक्त सेयर बोलकबोलबाट विक्री गर्ने भएको छ । यो बैंकले ११ हजार ६२६ कित्ता सेयर न्युनतम १ सय रुपैयाँ कबोल गरेर गोप्य शिलवबन्दी मार्फत आवदेन दिन आग्रह गरेको छ । बैंकले सेयर आवेदनका लागि यही साउन १५ देखि २२ गतेसम्मको सयय दिएको उल्लेख छ । यसको विक्री प्रवन्धक ग्लोवल आइएमई हो ।