हाम्रो विकास बैंकको ४ लाख ५१ हजार कित्ता सेयर लिलामीमा, साउन ५ देखि १२ गतेसम्म आवेदन दिनुपर्ने

काठमाडौं । नुवाकोटमा केन्द्रिय कार्यालय रहेको हाम्रो विकास बैंकले ४ लाख ५१ हजार १२१ कित्ता सेयरको लिलामी गर्ने भएको छ । यो बैंकले ३ लाख ९१ हजार ६३६ कित्ता संस्थापक र ५९ हजार ४८४ कित्ता सर्वसाधारण सेयरको गोप्य शिलबन्दीबाट विक्री गर्ने भएको छ । यो बैंकले गत बैशाख ७ देखि असार ११ गतेसम्म विक्री खुला गरेको हकप्रद सेयरमा उक्त विक्री नभएको सेयरको न्युनतम १ सय रुपैयाँका दरले गोप्य शिलवन्दीमार्फत लिलाम बढाबढमा विक्री गर्न लागेको हो । यसको आवेदन यही साउन ५ देखि १२ गतेभित्र दिइसक्नुपर्ने बैंकले जानकारी दिएको छ । यसको विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स हो ।

बजारमा ६४ करोडको सेयर कारोबार, चार कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि

काठमाडौं । बुधबारको सेयर बजारमा ६४ करोड २ लाख बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १५२ कम्पनीको ३५ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा चार वटा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.९९, अरुण फाइनान्सको ९.७९, कर्नाली डेभलपमेन्ट बैंकको ९.७२ र कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडको ९.६५ प्रतिशतले सेयर मूल्य बढेको छ । सो दिन कारोबार भएका समूह मध्ये बीमा, विकास बैंक र बैंकिङ् समूहको परिसूचक क्रमशः २७, ७ र ३ अंकले उकालो लागेका छन् । त्यस्तै, बाँकी समूहको परिसूचक भने सामान्य ओरालो लागेका छन् । समग्रमा बुधबारको नेप्से परिसूचक २ दशमलब ५५ अंकले उकालो लागेर १५८७ अंकमा पुगेको छ ।

एक्सेलको ३८ लाख ४५ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत

काठमाडौं । बुधबार एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ३८ लाख ४५ हजार ६२५ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ८७ करोड ९५ लाख रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२० रुपैयाँ रहेको छ ।