सिभिल बैंकको मंसिर ५ गते बुक क्लोज, ४० प्रतिशत हकप्रद जारी गर्दै

काठमाडौं । सिभिल बैंकले आगामी मंसिर ५ गते बुक क्लोज गर्ने भएको छ । बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नको लागि सो दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीले २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएकाे छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ७ अर्ब २५ करोड रुपैयाँ नाघ्ने छ ।

कञ्चन डेभलपमेन्ट बैंकले १६ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले गत वर्षको मुनाफाबाट १६.०३ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ०.८४ प्रतिशत(अर्थात २९ लाख २३ हजार रुपैयाँ) नगद लभांश दिने निर्णय गरेको छ । उक्त निर्णय कात्तिक २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । बैंकले गत आवमा ७ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । हाल बैंकको पुँजी ४५ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर पश्चात बैंकको पुँजी ४९ करोड ५४ लाख रुपैयाँ पुग्ने छ ।  

प्राइम लाइफको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त, १६०% हकप्रद जारी गर्दै

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । इन्स्योरेन्सले १६० प्रतिशत हकप्रद निष्कासन गर्नको लागि बिक्री प्रबन्धकमा उक्त क्यापिटललाई नियुक्त गरेको हो । उक्त नियुक्ति सम्बन्धी सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धुब्र तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड रुपैयाँ रहेको छ । १६० प्रतिशत हकप्रद सेयर जारी पश्चात कम्पनीको पुँजी एक अर्ब ५८ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७३५ रुपैयाँ रहेको छ ।