चिलिमे हाइड्रोपावरको बुक क्लोजको मिति परिर्वतन, कात्तिक ६ गतेदेखि हुने
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले बुक क्लोजको मिति परिर्वतन गरेको छ । कम्पनीले शुक्रबार नयाँ सूचना सार्वजनिक गर्दै कम्पनीको बुक क्लोजको मिति परिर्वतन भएको जानकारी दिएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ सूचना अनुसार कम्पनीको कात्तिक ६ गतेदेखि कात्तिक २४ गतेसम्म बुक क्लोज हुनेछ । यसअघि कम्पनीले जम्मा एक दिनको समय राखेर बुक क्लोजको सूचना सार्वजनिक गरेको थियो । तर कानुनी प्रावधान अनुसार जुनसुकै कम्पनीको बुक क्लोजको सूचना एक साता अघि नै दिनुपर्ने छ । यस कम्पनीले कानुन विपरित बुक क्लोजको सूचना सार्वजनिक गरेको भन्दै लगानीकर्ताले विरोध गरेपछि बुक क्लोजको मिति परिर्वतन गरिएको हो । यस कम्पनी आगामी कात्तिक २४ गते कम्पनीको २१औं वार्षिक साधारणसभामा जाँदै छ । सभामा कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लभांश दिने सञ्चालक समितिको निर्णयलाई पारित गर्ने भएको छ । नयाँ सूचना
४० प्रतिशत हकप्रद पछि गुहेश्वरी मर्चेन्ट बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको ४० प्रतिशत हकप्रद पछि सेयर मूल्य समायोजन भएको छ । सो मात्राको हकप्रद सेयर पछि शुक्रबार मात्रै नेप्सेले यस कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २०६ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २३२ रुपैयाँ रहको थियो ।
सेयर बजारमा ४० करोडको कारोबार, सबैभन्दा बढी चिलिमे हाइड्रोको
काठमाडौं । बिहीबारको सेयर बजारमा ४० करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा १५४ कम्पनीको ८ लाख ९९ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी चिलिमे हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीको ७ करोड २० लाख ६४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीले हालै आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय अनुसार कम्पनीको सेयर कारोबारमा वृद्धि भएको बुझिन्छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८३८ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुमारी बैंक, स्ट्याण्डार्ड चार्टर्ड बैंक र नेपाल बैंकको पनि एक करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समग्रमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ४ अंकले बढेर १५१० अंकमा पुगेको छ । बजारमा तीन समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ५ कम्पनीको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा अन्य समूहको परिसूचक ३० अंकले उकालो लागेको छ । त्यस्तै, बीमा समूहको परिसूचक २१ अंकले ओरालो लागेको छ ।