वोमी माइक्रोफाइनान्सको कात्तिक १६ गतेदेखि बुक क्लोज
काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी कात्तिक १६ गतेदेखि कात्तिक ३० गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनी आगामी कात्तिक ३० गते आफ्नो छैटौँ वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि कम्पनीको कात्तिक १६ गतेदेखि १५ दिनसम्म बुक क्लोज हुन लागेको हो । सभामा कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको बैठकलाई पारित गर्ने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.१०८ प्रतिशत नगद लभांश दिने भएको छ । त्यस्तै, कम्पनीले सो मात्राको बोनस पश्चात कायम भएको पुँजीमा ३० प्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६ करोड ४८ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ७ करोड ७७ लाख रुपैयाँ पुग्ने छ । त्यस्तै, ३० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी करिब १० करोड रुपैयाँ नाघ्ने छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९२५ रुपैयाँ रहेको थियो ।
सिनर्जी फाइनान्सको कात्तिक १७ गतेको वार्षिक साधारणसभा स्थगित
काठमाडौं । सिनर्जी फाइनान्सको आगामी कात्तिक १७ गतेको दिन बोलाइएको ९औँ वार्षिक साधारणसभा स्थगित भएको छ । यस कम्पनीलाई बेष्ट फाइनान्स कम्पनीले प्राप्ती गर्ने प्रारम्भिक सहमति भई सैद्धान्तिक सहमतिको लागि नेपाल राष्ट्र बैंकमा निवेदन पेश गरिएकोले कात्तिक १७ गते गरिने सभा स्थगित गरिएको कम्पनीले जनाएको छ । साथै, अर्को सूचना प्रकाशित नगरिएसम्मको लागि यस कम्पनीको साधारणसभा स्थगित गरिएको हो ।
सेयर बजारमा उतारचढाव, नेप्से ५ अंकले ओर्लियो
काठमाडौं । सेयर बजारमा उतारचढाव भएको छ । सोमबार ४६ अंकले उकालो लागेको नेप्से मंगलबार फेरि ५ अंकले ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ५.७२ अंकले झरेर १५५९ अंकमा अडेको छ । मंगलबारको बजारमा पनि तीव्र उतारचढाव आएको छ । बजार खुलेको करिब पौने घन्टामै नेप्से करिब १६ अंकले ओरालो लागेर १५५२ अंकमा झरेको थियो । फेरी करिब साढे १२ बजे बजार बढेर १५७३ अंकमा पुगेको थियो । त्यसपछि भने नेप्से निरन्तर ओरालो लागेर बजार बन्द हुँदा १५५९ अंकमा अडेको छ । सोमबारको तुलनामा मंगलबारको सेयर कारोबारमा भने सामान्य वृद्धि भएको छ । मंगलबार १६२ कम्पनीको ६१ करोड २० हजार रुपैयाँ बराबरको सेयर किनेबेच भएको छ । सोमबारको बजारमा भने ६० करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ४१ अंकले ओरालो लागेको छ । सो दिन हाइड्रो, ट्रेडिङ र अन्य समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सोही दिन हिमालयन डिष्टीलरीको सेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ । बजारमा सबैभन्दा बढी बेष्ट फाइनान्सका लगानीकर्ताले ९.८७ प्रतिशत कमाएका छन् ।