हिमालयन क्यापिटलले साउन ३२ गतेदेखि हिमालयन ८०–२० बिक्री गर्ने
काठमाडौं । हिमालयन क्यापिटलले साउन ३२ गतेदेखि हिमालयन ८०–२० निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड बिक्री गर्नेछ । १० वर्ष अवधि रहेको यो फण्ड एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई छुट्याई बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्नेछ । क्यापिटलको फण्डमा लगानीकर्ताहरुले न्यूनतम १ सय इकाईदेखि अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सक्ने छन् । फण्डको इकाईमा छिटोमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा पर्याप्त आवेदन नपरेमा भदौ १५ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।
मैलुङको सेयर बाँडफाँट पुनरावलोकन गर्न जिल्ला समन्वय समिति रसुवाको माग
काठमाडौं । दक्षिणी रसुवाको उत्तरगया गाउँपालिकामा निर्माणाधीन माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले रसुवावासीलाई छुट्याएको सेयर सङ्ख्या (कित्ता) बाँडफाँटमा पुनरावलोकन गर्न माग गरिएको छ । जिल्ला समन्वय समिति रसुवाले जिल्लावासीलाई छुट्याएको सेयर सङ्ख्या नियमसङ्गत नभएको जनाउँदै पुनरावलोकन गर्न सो आयोजनालाई आग्रह गरेको हो । कुल सेयर सङ्ख्याको १० प्रतिशत रसुवावासीलाई उपलब्ध गराउनुपर्ने कानुनी प्रावधानलाई आयोजनाले बेवास्ता गर्दै निष्कासन गर्न लागिएको सेयर अत्यन्तै न्यून सङ्ख्यामा निर्धारण भएको समन्वय समितिले जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेका अनुसार १४.३ मेगावाट क्षमताको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले सेयर बाँडफाँटका विषयमा जिल्लास्तरमा छलफल गरेको छैन । उनले सेयर बाँडफाँटको पुनरावलोकन गराउन जिल्लाको सर्वदलीय बैठकमार्फत आयोजनालाई अनुरोध गरिएको बताए । जिल्लाको उत्तरगया गाउँपालिकाको करूम्राङबाट उत्तर पाखामा सो आयोजनाले आफ्नो कार्यक्षेत्र बनाएको छ । आयोजनाले आफ्नो कार्यक्षेत्र बाहिर गएर नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक मनकामना गाविसलाई कुन आधारमा प्रभावित क्षेत्र बनायो भन्ने विषयमा समेत सो बैठकको सहभागी सदस्यले प्रश्न उठाएका थिए । रसुवावासीका लागि भने आयोजनाले एक लाख ४२ हजार ८५० कित्ता सेयर तोकेको बताइएको छ । आयोजनाले रसुवा र नुवाकोटको भू–भागका प्रभावित र अतिप्रभावितलाई भने ८ लाख ५७ हजार १५० कित्ता निष्कासन सूचीमा देखाएको भए पनि कुन जिल्लालाई कति हो भन्ने प्रस्ट नभएको बताइएको छ । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले भने सेयर निष्कासन गर्नु पूर्व जिल्लास्तरमा सर्वपक्षीयको भेलाको आयोजना गरेका थिए ।
२५७ रुपैयाँमा रिलायबल लाइफको आईपीओ बिक्री खुला
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारण लगानीकर्तालाई आज साउन २३ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेर बाँडफाँट पश्चात् सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा सामूहिक लगानी कोष, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा कर्मचारी र बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गर्न पाउने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा साउन २६ गते र ढिलोमा भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।