आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार

काठमाडौं । बिहीबार दुई कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सहित ४ करोड ९६ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको सेयर सूचीकृत भएको हो । बिहीबार नेप्सेमा सूचीकरण भएसँगै आइतबारदेखि दुबै कम्पनीको धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ । नेप्से र सम्बन्धीत कम्पनीबीच सूचीकरण सम्झौता भएको दोस्रो कारोबार दिनदेखि स्टक एक्सचेञ्जमा कारोबार खुल्ने व्यवस्था रहेको छ । आइएमई लाइफको कुल ४ करोड कित्ता र नेपाल रिपब्लिक मिडियाको कुल ९६ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । आइएमई लाइफले सर्वसाधारणलाई जारी गरेको एक करोड २० लाख कित्ता र संस्थापकहरुले लगानी गरेको दुई करोड ७० लाख कित्ता सहित कुल चार करोड कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो । नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणमा बिक्री गरेको ४३ लाख ५३ हजार कित्ता आईपीओ र संस्थापकहरुले लगानी गरेको ५३ लाख २२ हजार कित्ता गरी कुल ९६ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले आइएमई लाइफ इन्स्योरेन्सको सेयर कारोबारका लागि स्टक सिम्बोल ‘आइएलआई’ र नेपाल रिपब्लिक मिडिया लिमिटेडको सेयर कारोबारका लागि स्टक सिम्बोल ‘एनआरएम’ दिएको छ । यहि कारोबार संकेतमा दुबै कम्पनीको कारोबार हुनेछ ।

नेप्से ३ अंकले बढ्दा पनि सपोर्ट लघुवित्तको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । बिहिबार नेप्से सूचक ३ अंक बढेर सेयर बजार बन्द भएको छ । नेप्से सूचक २०८९.८४ मा कायम भएको छ । बिहीबारको बजार उतार चढावका बीच अन्तिममा सामान्य अंकले बढेको हो । बिहीबार सपोर्ट लघुवित्तको सेयरमा भने सकारात्मक सर्किट लागेको छ । सपोर्टको सेयर ९८ रुपैयाँले बढेर प्रतिकित्ता १०७६.९० रुपैयाँ पुगेको छ । विहीबारको बजारमा प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले सबैभन्दा बढी गुमाए । बिहीबार सबैभन्दा बढी कारोबार भने शिवम् सिमेन्टको भयो । कारोबार रकम १ अर्ब ७८ करोड रुपैयाँमा सीमित हुँदा शिवमको ९ करोड २३ लाखको सेयर किनबेच भयो ।

गुराँस लघुवित्तको नाफा साढे २८ लाख रुपैयाँ

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ३१.०७ प्रतिशत घटेर २८ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४१ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १७.१४ प्रतिशत घटेर ५ करोड ५९ लाख रुपैयाँ मात्रै गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तको सञ्चालन आम्दानी ६१.५४ प्रतिशत बढेर २ करोड १८ रुपैयाँ, कुल सञ्चालन आम्दानी ७.१० प्रतिशत घटेर ७ करोड ८७ लाख रुपैयाँ र सञ्चालन नाफा ३२.८३ प्रतिशत घटेर ४४ लाखमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० करोड १४ लाख रुपैयाँ, जगेडा कोष १.४० प्रतिशत बढेर २ करोड ५ लाख रुपैयाँ, निक्षेप ४.७० प्रतिशत बढेर ३० करोड ८८ लाख रुपैयाँ, सापटि रकम ४.१२ प्रतिशत घटेर ८१ करोड ३३ लाख रुपैयाँ र कर्जा लगानी ०.८७ प्रतिशत घटेर १ अर्ब २२ करोड ८२ लाख रुपैयाँ रहेको छ । लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ५.४४ रुपैयाँबाट घटेर २.८१ रुपैयाँमा सीमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात २६२.२५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२०.२६ रुपैयाँ छ । लघुवित्तको खराब कर्जा ४.६३ प्रतिशत, आधार दर १८.१९ प्रतिशत, कस्ट अफ फण्ड ११.५४ प्रतिशत पुगेको छ ।