अप्पर लोहोरे खोला हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरले साउन १८ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिने आज साउन २२ गतृ अन्तिम दिन हो । कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ । अब ३९ हजार ७६५ कित्ता सेयरसेमा कर्मचारी, ९९ हजार ४१२ कित्ता सेयरमा सामूहिक लगानी कोष र स्थानीय बासिन्दाले आवेदन नदिएको सेयरसहित १९ लाख ५३ हजार २७९ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको सेयरमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् लगानीकर्ताले आवेदन दिन सक्ने छन् । केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

हिमाल दोलखा हाईड्रोको १५ लाख ७७ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर कम्पनीले आज साउन २२ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री खुला गरको छ । कम्पनीले १५ लाख ७७ हजार २११ कित्ता अवितरित हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले गत जेठ २२ गतेदेखि असार १५ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूहतर्फको बिक्री नभएको १५ लाख ७७ हजार २११ कित्ता हकप्रद सेयर लिलामीमार्फत् बिक्री गर्ने भएको हो । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले साउन २९ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल, लक्ष्मी सनराइज बैंकका विरानगर, बिर्तामोड, विरगञ्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, वाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, घोराही दाङ, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ ।

हिमालयन ब्रोक्रेजबाट हुने सेयर कारोबारको भुक्तानी इ–सेवाबाटै हुने

काठमाडौं । हिमालयन ब्रोक्रेज मार्फत हुने सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी इ–सेवामार्फत गर्न सकिने भएको छ । त्यसैगरी, हिमालयन ब्रोक्रेजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क पनि इ–सेवामार्फत तिर्न सकिने कम्पनीले बताएको छ । लगानीकर्ताहरुलाई हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) बाट गरेको सेयर खरिद बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने भएको छ । यस्तो अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इ–सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र हिमालयन ब्रोक्रेजका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका छन् । इ–सेवा एप्लिकेशन एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले प्रयोग गरिरहेको उक्त कम्पनीले बताएको छ । देशभर रहेका दुईलाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढि जनसंख्याले इ–सेवामार्फत डिजिटल कारोबारको सेवा लिइरहेको कम्पनीले बताएको छ ।