मर्जर बिनै अब्बल बन्दै सिटिजन्स र माछापुच्छ्रे बैंक, कुन सूचकमा कुन बलियो ?

काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएसँगै बैंक तथा वित्तीय संस्थाहरु गत वर्ष २०७९/८० को हिसाब मिलानमा व्यस्त छन् । गत आर्थिक वर्षका वित्तीय उपलब्धिहरुलाई एकत्रित गरेर बैंकहरु सार्वजनिक गर्ने लहर सुरु भइसकेको छ । । वाणिज्य बैंकहरुमध्ये सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । पछिल्ला हरेक वर्षलाई नियाल्ने हो भने सिटिजन्स र माछापुच्छ्रे बैंकले नै सुरुमा वित्तीय विवरण सार्वजनिक गरेका छन् । गत वर्ष बैंकिङ्ग क्षेत्रका लागि खासै उत्साहजनक रहेन । तरलता अभावदेखि आन्दोलनकाे सामना बैंकहरुले गरे । तेस्रो त्रैमाससम्म बैंकिङ्ग क्षेत्र चुनौतीपूर्ण रहे पनि बैशाखयता भने राम्रो गरेको देखिन्छ । साथै, उच्च ब्याजदर निरन्तर ओरालो लाग्दै गएपछि बैंकहरुलाई केही सहज भएको देखिन्छ । यस्तै, पछिल्लो समय बैंकको संख्या धेरै भएको भन्दै मर्जरको माध्यमबाट घटाइँदैछ । गत वर्ष एक दर्जन बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनमा सामेल भए । मर्जर तथा एक्विजिशन भएर वाणिज्य बैंकको संख्या २० वटामा झरेको छ । तर, केही बैंकहरु मर्जरबिना नै आफूलाई बैंकिङ्ग क्षेत्रमा अब्बल बनाइरहेका छन् । जसमध्ये सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकले मर्जर बिना नै प्रतिस्पर्धा गरिरहेका छन् । वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गर्ने र दशैं अगावै वार्षिक साधारण सभा गर्ने तयारीमा जुटेको दुवै बैंकले बताएका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार यी दुवै बैंकका अधिकांश सूचकहरू बलिया छन् । बिग मर्जर  बिनै र थोरै पूँजी भएर पनि यी दुइ बैंकले सेयरधनीहरुलाई उच्च लाभांश दिने दावी व्यवस्थापकहरुकाे छ । सिटिजन्स बैंकले गत आर्थिक वर्षमा २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५६ लाख १० हजार रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले १०.४१ प्रतिशत बढी नाफा गरेको हो । यस्तै, माछापुच्छ्रे बैंकले गत वष खुद नाफा ९.७५ प्रतिशत बढाएर १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको नाफाबाट सिटिजन्स बैंकले ७.३० प्रतिशत र माछापुच्छ्रे बैंकले १५.२९ प्रतिशत लाभांश दिने क्षमता राख्छ । गत असारसम्म सिटिजन्स बैंकको वितरणयोग्य नाफा १ अर्ब ३ करोड ७२ लाख ७६ हजार रुपैयाँ छ भने माछापुच्छ्रे बैंकको १ अर्ब ५६ करोड ८७ लाख ४४ हजार रुपैयाँ छ । चुक्ता पूँजीका आधारमा माछापुच्छ्रे बैंकभन्दा सिटिजन्स बैंकभन्दा अगाडि छ । सिजिन्सको १४ अर्ब २० करोड रुपैयाँ छ भने माछापुच्छ्रेको १० अर्ब २ करोड रुपैयाँ छ । यस्तै, जगेडा कोष, निक्षेप संकलन, कर्जा लगानीमा पनि सिटिजन्स बैंक नै अगाडि छ । सिटिजन्स बैंकको जगेडा कोष ६ अर्ब ७४ करोड रुपैयाँ, निक्षेप संकलन १०.५० प्रतिशत बढेर १ खर्ब ६८ अर्ब ८४ करोड २१ लाख रुपैयाँ र कर्जा प्रवाह ६.९० प्रतिशत बढेर १ खर्ब ४० अर्ब ४० करोड १५ लाख रुपैयाँ पुगेको छ । यस्तै, माछापुच्छ्रे बैंकको जगेडा कोष ४३.४२ प्रतिशत बढेर ६ अर्ब ६ करोड ४८ लाख रुपैयाँ, निक्षेप संकलन ६.३१ प्रतिशत बढेर १ खर्ब ५४ अर्ब १७ करोड ९६ लाख रुपैयाँ र कर्जा लगानी १.६४ प्रतिशत घटेर १ खर्ब २६ अर्ब ४६ करोड ५९ लाख रुपैयाँ छ ।

माछापुच्छ्रे बैंकको सेयरमा वित्तीय विवरणको प्रभाव, शिवमको सर्वाधिक कारोबार

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तिम समयमा बढेर बन्द भएको छ । नेप्से सूचक दिनभरीमा घट्दैबढ्दै अन्ततः ९.२५ अंकले बढेर २०८६.८४ अंकमा बन्द भएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिपश्चात् ओरालो लाग्दै आएको नेप्से बुधबार भने बढेको हो । बुधबार दिनभरिमा २६९ कम्पनीको ९३ लाख ६१ हजार ७८६ कित्ता सेयर ३५ हजार ८३५ पटक खरिद बिक्री हुँदा १ अर्ब ८१ करोड २४ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार दिनभरिमा ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८१ कम्पनीको सेयर मूल्य घटेको छ । आज शिवम् सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ११ करोड १९ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, सानिमा बैंकको ८ करोड ९० लाख २७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । प्रभु स्मार्ट फण्डको सेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ । सो फण्डको मूल्य ०.९३ रुपैयाँ घटेर ८.३७ रुपैयाँमा झरेको नेप्सेको तथ्याङ्क छ । यस्तै, नेप्सेका अनुसार जलविद्युत, लघुवित्त र ब्यापार समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । जलविद्युत समूहको ०.२४ प्रतिशत, लघुवित्त समूहको ०.२८ प्रतिशत र ब्यापार समूहको ०.०६ प्रतिशतले घटेको छ । बुधबार फाइनान्स समूह १.६९ प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक समूह १.०१ प्रतिशत र होटल तथा पर्यटन समूह १.४० प्रतिशतले बढेको नेप्सले बताएको छ । बुधबार वित्तीय विवरण सार्वजनिक गरेको माछापुच्छ्रे बैंकको सेयर मूल्य बढेको छ । बैंकको सेयर मूल्य ३.०१ प्रतिशत अर्थात् ७.६० रुपैयाँ बढेर २६०.४० रुपैयाँ पुगेको छ ।

सिनर्जी पावरले साउन २५ गतेदेखि ५० प्रतिशत हकप्रद बिक्री गर्ने, २ कित्ताले १ कित्ता पाउने

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले भदौ ३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ कित्ता सेयर बराबर १ कित्ताको अनुपातमा ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख ३२ हजार ८७५ कित्ता सेयर बिक्री गर्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ साउन १२ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले भदौ २४ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले सानिमा क्यापिटल र सानिमा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।