नेप्सेमा एक कम्पनीको ८ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस बापत ३७ लाख १२ हजार ३४५.५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

३७५ रुपैयाँमा सेयर बेचेर एनआईसी एशिया बैंकका संस्थापक बाहिरीदैँ

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ४ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको आज साउन ९ गतेदेखि ४ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकेको छ । बैंकको सेयरमा इच्छुक सर्वसाधारण लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नछन् । बैंकको सेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । सेयर खरिद गर्न इच्छुक जोकोही सर्वसाधारण लगानीकर्ताले बिक्री प्रबन्धकमा एनआइएमबि क्यापिटलमा सम्पर्क गर्न सक्नेछन् ।

मौद्रिक नीतिबाट किन खुसी छन् लगानीकर्ता ? भन्छन् : बजारमा उत्साह ल्याउने छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमका सभापति शैलेन्द्र गुरागाईंले मौद्रिक नीति सकारात्मक आएको बताएका छन् । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले सबै क्षेत्रलाई समेट्न खोजेको उनले बताए । उनले सामान्य खालको मौद्रिक नीति आएको बताए । अहिले नै प्रतिक्रिया दिने गरी कुनै पनि व्यवस्था नआएको उनको भनाइ छ । ‘मौद्रिक नीति जेनेरिक आयो । स्पेसिफिक कुराहरु केही पनि आएका छैनन् । स्पेसिफिक कुराहरु पछि ल्याउने गरी मौद्रिक नीति आएको छ,’ सभापति गुरागाईंले भने, ‘अहिले नै कमेन्ट गर्ने गरी केही पनि आएको छैन् । अहिले मौद्रिक नीतिमा धारा, कुलो, पानी, नदि केही पनि छैन ।’ मौद्रिक नीतिले पूँजी बजार सम्बन्धी अहिले कुनै पनि ब्याख्या गर्नेगरी व्यवस्था गरेको छैन । जोखिम भार घटाउनु पर्ने र सेयर कर्जाको सीमा हटाउन माग गरेको भएपनि मौद्रिक नीतिमा कुनै व्यवस्था अहिल्यै नआएको उनले बताए । ‘अहिले मौद्रिक नीतिमा खुलस्तरूपमा कुनै पनि व्यवस्था आएको छैन, सर्कुलर आएपछि नै थाहा हुन्छ,’ उनले भने, ‘समग्रमा हेर्ने हो भने मिलाएर वा समायोजन गर्न खोजेको देखिन्छ । कडा किसिमका डण्डा लाग्ने गरी आएको छैन । सबैलाई पछि समेट्ने गरी नीति जारी भएको देखिन्छ ।’ मौद्रिक लगानीकर्ताले खोजेजस्तै मौद्रिक नीति आएको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । सेयर कर्जा र घरजग्गा कर्जालाई पुनरावलोकन गर्ने भनेको छ । जोखिम भार १५० बाट संशोधन गर्ने भनेको छ । २०८१ असारसम्म मर्जरमा जाने लघुवित्तले एकीकृत कारोबार गर्याे भने सेवा सुविधा दिने भनेको छ । यी सबै कुराहरुलाई लगानीकर्ताहरुले सकारात्मकरुपमा लिएका छन्’, रौनियारले भने । पूँजी बजारका लागि पनि मौद्रिक नीतिमा सकरात्मक कुरा नै भएको उनले बताए । ‘लघुवित्त संस्थाहरुको मर्जरमा प्रोत्सान, सेयर कर्जा बढाउने, घर कर्जा बढाउँदा नीतिले अर्थतन्त्र चलायमान हुन्छ । ब्याजदर पनि कम गर्ने देखिन्छ । समग्रमा मौद्रिक नीति राम्रो छ’, उनले भने । पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति उत्साहजनक रहेको बताएकी छिन् । ‘नेपाल राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीति साबिकका बर्षहरुकोभन्दा केही उत्साहजनक पाइयो । बिशेषगरी सेयर धितो कर्जाको जोखिमभारलाई पुनरवालोकन गरिने भन्ने व्यवस्थाले सेयर बजारमा उत्साह ल्याउने नै देखिन्छ’, पोखरेलले भनिन् । बिगत दुई बर्ष देखि निरन्तर घटिरहेको सेयर बजारलाई मौद्रिक नीतिले थोरै भएपनि मल्हमपट्टी लगाउने पोखरेलको आशा छ ।