सेतीखोला हाइड्रोले ६० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाण्डौ । सेतीखोला हाइड्रोपावरले प्रतिसेयर १०० रूपैयाँ अंकित दरको ६० लाख कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । हाइड्रोले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासीन्दाहरु तथा सर्वसाधारणहरुमा सो मात्राको सेयर निष्काशन गर्न लागेको हो । सो प्रयोजनको लागि हाइड्रोले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । उक्त सम्झौता-पत्रमा सेतीखोला हाइड्रोपावरका तर्फबाट सञ्चालक समितिका अध्यक्ष अनुप आचार्य तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् । सेतीखोला हाइड्रोको अधिकृत पुँजी एक अर्ब पचास करोड रूपैयाँ, जारी पुँजी एक अर्ब पचास करोड रूपैयाँ र चुक्ता पुँजी ८८ करोड ४६ लाख ४५ हजार रूपैयाँ रहेको छ । सेतीखोला हाइड्रोपावरले विद्युत उत्पादन गर्ने संस्थाको रुपमा वि.सं. २०८० असार २९ गते प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भएको संस्था हो । उक्त संस्थामा मुख्य लगानीकर्ता डोल्मा इम्प्याक्ट फण्ड २ रहेको छ । जसले संस्थाको ४९ प्रतिशत लगानी रहेको छ भने बाँकी ५१ प्रतिशत सेयर संस्थाका अध्यक्ष अनुप आचार्य, दिपक बराल लगायतका पोखराका स्थानिय बासिन्दाहरुको रहेको छ । यस कम्पनी अध्यक्ष अनुप आचार्य छन् भने सञ्चालकको रुपमा दिपक बराल, हरिबाबु न्यौपाने, सम्झाना आचार्य, विद्यावारिधी सिग्देल र राम बहादुर पहाडी रहेका छन् । उक्त संस्थाको २२ मेगावाट क्षमता भएको वार्षिक उत्पादन क्षमता १३७.१८ जीडब्लुएच रहेको छ र वि.सं. २०८१ साउन १३ गतेबाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । यो आयोजना नेपालको कास्की जिल्ला पोखरा महानगरपालिका बडा नं.३३ मा अवस्थित छ । यस हाइड्रोपावरको कुल लागत ५०५ करोड रहेको छ र हाल उक्त आयोजनाको ५५ प्रतिशत कार्य सम्पन्न भएको छ ।

थप ११ वटा संस्थाले पाए ब्रोकर लाइसेन्स, सबैले सीमित कार्य गर्न पाउने (सूचीसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र (ब्रोकर लाइसेन्स) प्रदान गरेको छ । बोर्डले साउन ४ गते थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स विरतरण गरेको प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका थप ११ वटा निवेदक संस्थाहरुलाई धितोपत्र व्यापारी, पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा सिमित कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको हो । बोर्डले सीमित कार्य गर्नको लागि भन्दा ११ वटालाई लाइसेन्स दिएको हो । जसमा मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हव प्रा.लि., आकाशभैरव सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट प्रा.लि., एस्.पी.एस्.ए. सेक्युरिटिज, एन.एम.बि. सेक्यूरिटिज, सानिमा सेक्यूरिटिज, स्टक्स्कार्टस् सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज रहेका छन् । यसअघि बोर्डले पहिलो र दोश्रो चरण गरी कूल १९ वटा कम्पनीलाई लाइसेन्स प्रदान गरेको थियो । यसँगै ब्रोकर लाइसेन्स प्राप्त गर्नेको संख्या ३० पुगेको छ । कुन कुनले पाए ? सूचीसहित

मिड सोलु हाइड्रोले साउन १४ गतेदेखि आईपीओ बिक्री गर्ने, क–कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । मिड सोलु हाइड्रोपावरले साउन १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाइई आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७ लाख ४८ हजार ४ सय कित्ता स्थानीय बासिन्दालाई बिक्री गर्नेछ । जसमध्ये ५ लाख ६१ हजार ३ सय कित्ता अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ३, ४, ५, ६, ६ र ८ का बासिन्दा र १ लाख ८७ हजार १ सय कित्ता सोलुखुम्बुको आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आवेदन दिन सक्ने छन् । साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ । यदि स्थानीय लगानीकर्तालाई छुट्याइएको सेयरमा पूर्ण आवेदन नपरेमा भदौ ११ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । स्थानीय लगानीकर्ताले आयोजना स्थल, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।