मल्टीपर्पस फाइनान्सले हकप्रदका लागि बुक क्लोज मिति तोक्यो
काठमाडौं । मल्टीपर्पस फाइनान्सको हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तोकिएको छ । कम्पनीका अनुसार साउन १२ गते एक दिनका लागि बुक क्लोज हुनेछ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साउन ११ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको १ः०.३५ को हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीको गत पुसमा सम्पन्न भएको २५ औं वार्षिक साधारण सभाले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
हिमालयन बैंकबाट बाहिरिँदै ४ जना संस्थापक, बिक्रीमा साढे ७ लाख कित्ता सेयर
काठमाडौं । हिमालयन बैंकका चार संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । बैंकका ४ जना सेयरधनीहरुले कूल कित्ता साढे ७ लाख कित्ता सेयर बेच्न लागेका हुन् । बैंकले संस्थापक मंडला इन्भेष्टमेन्ट कम्पनीको नाममा रहेको १ हजार २८६ कित्ता, अमिर श्रेष्ठको २ लाख ४९२ कित्ता, बाल कृष्ण श्रेष्ठको ५ लाख २६ हजार २२५ कित्ता र राजन कृष्ण श्रेष्ठको २३ हजार ६७७ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । उनीहरुले यो सूचना जारी भएको ३५ दिनभित्र उक्त संस्थापक सेयरमा आवेदन दिनुपर्नेछ । यदि तोकिएको समय अवधिमा संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने व्यवस्था छ । संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि संस्थाको केन्द्रिय कार्यालय काठमाडौंमा सम्पर्क गर्नु पर्नेछ ।
माथिल्लो मैलुङको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतले आज असार ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २५ प्रतिशत अर्थात् २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता सेयर बिक्री गरेको हो । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका १ (साबिक हाकु गा.वि.स. ८ र ९ तथा डाँडागाउँ गा.वि.स. ७, ८ र ९)का बासिन्दालाई ५ लाख ७१ हजार ४३० किता, आयोजना प्रभावित क्षेत्र उत्तरगया गाउँपालिका २, ३, ४ र ५ (साबिक डाँडागाउँ गा.वि.स. १, २, ३, ४, ५ र ६, ठुलोगाउँ गा.वि.स. १, २, ३, ४, ५, ६, ७, ८ र ९, लहरेपौवा गा.वि.स. १, २, ३, ४, ५, ६, ७ र ९) र नुवाकोटको किस्पाङ गाउँपालिका ५ (साबिक मनकामना गा.वि.स. १, २, ३, ४, ५, ६, ७, ८, र ९)का स्थानीय बासिन्दालाई २ लाख ८५ हजार ७२० किता र रसुवाको अन्य क्षेत्रका बासिन्दालाई १ लाख ४२ हजार ८५० किता गरी कूल १० लाख कित्ता सेयर बिक्री गरेको हो । यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १ लाख १५ हजार कित्ता सेयरमा विदेशमा रोजगार गरी रहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असार १८ गतेसम्म आवेदन दिन सकिनेछ । स्थानीय बासिन्दालाई ढिलोमा भदौ १ गतेसम्म समय दिइएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले सानिमा बैंकका विदुर, किस्पाङ, धुन्चे शाखाबाट आवेदन दिन सकिनेछ । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।