राष्ट्र बैंकलाई प्रश्न : सेयरधितो कर्जामा १२ करोडको सीमा किन हटेन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको सीमा नहटाएपछि राष्ट्र बैंकप्रति सेयर लगानीकर्ताहरुले असन्तुष्टि जनाएका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् १२ करोडको सीमा हट्ने अपेक्षामा रहेका सेयर लगानीकर्ताहरु राष्ट्र बैंकले सो सीमा नहटाएपछि असन्तुष्ट भएका हुन् ।नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंक सेयर लगानीकर्ताका सुझाव प्रति लचक नभएको बताइन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममै सेयरधितो कर्जामा १२ करोडको सीमा हट्न सक्ने संकेत देखाएपनि अन्तः व्यवस्था किन हटाएनन् भन्ने चासो पनि धेरैको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने बैंकिङ क्षेत्रमा अझै जोखिम कायमै रहेकोले १२ करोडको सीमा नहटाएको बताए । ‘बैंकिङ क्षेत्रमा जोखिम कायमै छ, अहिले नै सीमा हटाउँदा भोलि पुनः समस्या आउन सक्छ, त्यसैले पनि अहिले सेयरधितो कर्जामा लगाइएको सीमा हटाउन उचित देखिएन,’ उनले भने । उनले विस्तारै तरलतामा सुधार हुँदै जाँदा मौद्रिक नीतिका कार्यदिशा पनि परिवर्तन हुँदै जाने बताए । ‘हिजोको गल्ति नै दोहोर्यो भने पुनः समस्या आउन सक्छ, यसबेला हामी सजग बन्नु पर्छ, अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन खोजिएको हो, अहिले नै कुनै नीतिहरु रिभ्यू गर्दा भोलि अर्को जोखिमा आउन सक्छ, अहिले नै नीति परिमाजर्न गर्नु अनुकुल देखिँदैन, बैंकिङ क्षेत्रको एसेट र रिसोर्स म्यानेज्मेन्टका लागि यो व्यवस्था गरिएको हो,’ उनले भने । यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले पनि अहिले सेयर बजारप्रति लचक बन्ने समय नरहेको बताए । उनले पनि अहिले नै लचक बन्दा पुनः समस्या दोहोरिन सक्ने भन्दै राष्ट्र बैंकले केही कडाइका नीतिहरु यथावत राख्नु परेको धारणा राखे । ‘ब्याजदर घट्ने संकेत देखिएको छ, अहिले भएको व्यवस्थाले केही सहज गरिरहेको छ, तरलतामा सुधार हुँदा सेयर बजार केही सहज हुन्छ, यसले सबैलाई सहज हुन्छ, अहिले नै नीति परिवर्तन गर्दा पुनः असर पर्न सक्छ,’ उनले भने ।

अर्थमन्त्रीको आग्रह गभर्नरद्वारा ‘इग्नोर’, हटेन सेयरधितो कर्जामा १२ करोडको सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसअघि सेयर बजारप्रति लचिलो बन्ने संकेत देखाए पनि मौद्रिक नीतिको समीक्षामा भने मौन बसेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् सेयरधितो कर्जामा केही लचिलो बन्ने अपेक्षा गरिए पनि यस विषयमा भने राष्ट्र बैंक मौन बसेको हो । नेपाल राष्ट्र बैंकले यसअघि सेयर धितो कर्जामा ४र१२ करोडको सीमा तोकेको थियो । राष्ट्र बैंकले ४ करोडको सीमा हटाएर १२ करोडको सीमा यथावत् राखेको थियो । अर्धवार्षिक समीक्षामार्फत् १२ करोडको सीमा हट्न सक्ने अपेक्षा आम सेयर लगानीकर्ताको थियो । उनीहरुले राष्ट्र बैंकलाई सो सीमा हटाउनका लागि सुझाव पनि दिएका थिए । तर, समीक्षामा भने राष्ट्र बैंकले यस विषयमा मौन बसेको छ । अर्थमन्त्री विष्णु पौडेलले समेत राष्ट्र बैंकले १२ करोडको सीमा हटाउनु पर्ने धारणा सार्वजनिक रुपमै राख्दै आएका थिए । उनले अनौपचारिक रुपमा पनि गभर्नर महाप्रसाद अधिकारीलाई सेयर बजारको समस्या हटाउनका लागि राष्ट्र बैंकले पहल गरिदिनु पर्ने बताउँदै आएका थिए । उनको आग्रहलाई गभर्नर अधिकारीले समेत स्वीकार गर्दै सेयर बजारप्रति राष्ट्र बैंक सकारात्मक भएको र ऋणीले भोग्नु परेको समस्या समाधानका लागि राष्ट्र बैंक सकारात्मक रहेको अभिव्यक्ति दिँदै आएका थिए । उनले दुई साता अघि काठमाडौंमा भएको एक कार्यक्रमा सेयरधितो कर्जामा लगाएको १२ करोडको सीमा हटाउन राष्ट्र बैंक सकारात्मक भएको संकेत पनि गरेका थिए । सोही कार्यक्रममा अर्थमन्त्री पौडेलले समेत राष्ट्र बैंकले १२ करोडको सीमा हटाउनु पर्ने धारणा राखेका थिए । सार्वजनिक कार्यक्रममै १२ करोडको सीमा हटाउन तयार देखिएका गभर्नर अधिकारीले समीक्षामा भने कुनै लचकता देखाएनन् । उनले अर्थमन्त्री पौडेलको आग्रहलाई पनि अटेर गरेको बुझ्न सकिन्छ । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सेयर लगानीकर्ताका माग राष्ट्र बैंकले सुनुवाई नगर्नु बिडम्बना भएको बताइन् । उनले मौद्रिक नीतिको समीक्षाका लागि राष्ट्र बैंकले मागेको सुझावमा आफुहरुले विभिन्न मागहरु माग गरेको भएपनि आफुहरुले गरेका माग सम्बोधन नभएको बताइन् । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा राष्ट्र बैंकलाई माग राख्दै १२ करोडको सीमा हटाउनु पर्ने, सेयरकर्जामा लगाइएको १५० प्रशितको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्नु पर्ने, ब्याजदर एकल अंक कायम गर्नु पर्ने र तरलताको समस्या समाधानका लागि उचित पहल गर्नु पर्ने माग राखेको थियो । तर, आफुहरुले दिएको सुझाव सुनुवाई नभएको भन्दै अध्यक्ष पोखरेलले राष्ट्र बैंकप्रति असन्तुष्टि जनाइन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अझै बजारमा जोखिम कायम रहेकोले सेयर धितो कर्जामा १२ करोडको सीमा नहटाएको बताए ।  ‘बैंकिङ क्षेत्रमा जोखिम कायमै छ, अहिले नै सीमा हटाउँदा भोलि पुनः समस्या आउन सक्छ, त्यसैले पनि अहिले सेयरधितो कर्जामा लगाइएको सीमा हटाउन उचित देखिएन,’ उनले भने । तरलतामा सुधार हुँदै जाँदा मौद्रिक नीतिका कार्यदिशा पनि परिवर्तन हुँदै जाने उनको भनाइ छ ।

२० हजार कित्तासम्म किन्न पाइने एशियन हाइड्रोको आईपीओ बिक्री खुला

काठमाडौं । एशियन हाइड्रोपावरले आज (माघ २७ गते, शुक्रबार)देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ८४ करोड रुपैयाँको २४.७१ प्रतिशत अर्थात् ८ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ४० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात् ४२ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि, २ प्रतिशत अर्थात् १६ हजार ८ सय कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीले आयोजना प्रभावित र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सेयर बिक्री गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा फागुन २ गते र ढीलोमा फागुन १२ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीको आईपीओलाई केयर माइनस एनपी बीबी एस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।