झिनो अंकले बढ्याे सेयर बजार
काठमाडौं । साताको पहिलो दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार आइतबार सेयर बजार १.५४ अंकले बढेर २०९६.०८ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज ५२ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा बढी भएको छ । आज कम्पनीको ६ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै, आज आदर्श लघुवित्तका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् भने इस्टर्न हाइड्रोपावरका सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् ।
मिथिला लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । मिथिला लघुवित्तले फागुन १७ गते बुधबार साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्न चौथौं साधारण सभा बोलाएको हो । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १५.७८९४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.७८९४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यस्तै, कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन ५ गते शुक्रबार एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ फागुन ४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा यस कम्पनीको सेयरधनीको रुपमा कारोबार गर्नेले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
२ वर्षपछि समता घरेलु लघुवित्तको लाभांश घट्यो, १५ प्रतिशत बोनस दिँदा नगद कति ?
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको माघ २० गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कूल १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल लघुवित्त संस्थाको चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । यसअघि लघुवित्तले आर्थिक वर्ष २०७७/७८ मा २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा २० प्रतिशत बोनस सेयर ६.३२ प्रतिशत नगद गरी कूल २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।