इन्साइडर ट्रेडिङको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिइँदै, घरजग्गा कारोबारमा एजेन्ट अनिवार्य

काठमाडौं । सरकारले सेयर बजारमा हुने भित्रि कारोबार (इन्साइडर ट्रेडिङ)  को अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिने तयारी गरेको छ । सरकारले धितोपत्र सम्बन्धी ऐन २०६३ संशोधन गरेर सेयर बजारमा हुने भित्रि कारोबारको अनुसन्धानको जिम्मा प्रहरीलाई दिने तयारी गरेको हो । कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा सेयर कारोबार गरेमा वा अरुलाई कारोबार गर्न लगाएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिन्छ । सरकारले ऐन नै संशोधन गरेर यसको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिन लागेको हो । सरकारले यो सँगै डेढ दर्जन बढी ऐनहरु संशोधनको तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ऐनहरु संशोधन गर्ने प्रस्ताव संसदमा पेस गर्ने निर्णय गरेको बताइएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न ऐनहरु संशाेधनको मस्यौदा मन्त्रिपरिषदमा पेश गरेका थिए । सोही प्रस्ताव मन्त्रिपरिषद बैठकले संसदमा पेश गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले पानी जहाज दर्ता ऐन २०२७ देखि मानव बेचविखन तथा ओसारसार ऐन २०६४ र धितोपत्र सम्बन्धि ऐन २०६३ देखि सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन २०६४ संशोधनका लागि संसदमा पेश गर्ने निर्णय गरेको हो । बैठकले मालपोत ऐन २०३४ पनि संशोधन गर्ने तयारी गरेको छ । मालपोत ऐन २०३४ मा तोकेको क्षेत्रफल वा सीमा भन्दा बढीको घरजग्गा सम्बन्धी कारोबार गर्दा अब इजाजत पत्र लिएर मात्र गर्न सकिने गरी व्यवस्था सरकारले गर्न लागेको छ । घरजग्गा कारोबार गर्दा पनि कुनै एजेन्टको व्यवस्था गर्नु पर्ने माग व्यवसायीहरुले गर्दै आएका थिए । अब सो व्यवस्था लागू गर्ने तयारी सरकारले गरेको हो ।

अर्थतन्त्रमा सुधार देखिएपछि सेयर बजारमा उत्साह, ७६ अंकले बढ्यो नेप्से

काठमाडौं । मंगलबार सेयर बजार ७६.६४ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार सेयर बजार बढेर २१७७.३४ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार यसरी सेयर बजार बढ्दा ९३ लाख कित्ता सेयर किनबेच भइ तीन अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी सेयर किनबेच हुने कम्पनीमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, सेयर बजारमा उछाल देख्दा ४ कम्पनीको सेयरमा सर्किट लागेको छ भने ३ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । नेप्सेको अनुसार सर्किट लाग्ने कम्पनीहरु क्रमश बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, रादी विद्युत कम्पनी र आदर्श लघुवित्त रहेको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ महिनाको वित्तिय विवरणमा अर्थतन्त्रको  महत्वपूर्ण सूचकहरुमा देखिएको सुधारले सेयर बजारमा उत्साह छाएको जानकारहरु बताउँछन् ।   

कारोबार खुलेको तीन घण्टामा ६० अंकले बढ्यो नेप्से

काठमाडौं । कारोबार सुरु भएको ३ घण्टामा सेयर बजार ६० अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार मंगलबार दिउँसो १:५९ बजे नेप्से बढेर २१६१.०७ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार यति बेलासम्म आदर्श लघुवित्तको सेयरमा सर्किट लागेको छ भने सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकले गरेको छ ।