शुभम पावरको आईपीओ आजदेखि बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । शुभम पावरले आज माघ १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी २० करोड रुपैयाँको २० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको २० प्रतिशत् अर्थात ४ लाख कित्ता सर्वसाधारणलाई र आयोजना प्रभावित क्षेत्रलाई निष्काशन गरी बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता सेयर गरी जम्मा ५ लाख ८० हजार ५८० कित्ता सेयर खुला गरेको हो । जसमध्ये १० प्रतिशत् अर्थात ५८ हजार ५८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात् २९ हजार ३० कित्ता सामूहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । २ प्रतिशत अर्थात् ११ हजार ६१० कित्ता कर्मचारीहरुको लागि र बाँकी ४ लाख ८१ हजार ८८२ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा माघ २२ गते र ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

घट्दो बजारमा लुम्बिनी जनरलको सेयर मूल्यमा उछाल, अझै बढ्न सक्ने

काठमाडौं । दोश्रो बजारमा लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य निरन्तर बढेको छ । पछिल्लो समय निरन्तर घटेको बजारमा कम्पनीको सेयर मूल्य भने निरन्तर सर्किट लेभलमा बढीरहेको छ । सगरमाथा इन्स्योरेन्ससँग मर्जर प्रकृयामा रहेको कम्पनीको सेयर गत साताको बिहीबारदेखि बढीरहेको छ । रोक्का रहेको कम्पनीको सेयर कारोबार फुकुवा भएपछि दोश्रो बजारमा कम्पनीको सेयरको भाउ बढेको नेप्सेको तथ्यांकले देखाउँछ । नेपाल स्टक एक्स्चेञ्जले कम्पनीको सेयर कारोबार गत माघ १२ गतेदेखि खुला गरेको थियो । गत माघ १२ गतेदेखि माघ १७ गतेसम्ममा इन्स्योरेन्सको सेयर मूल्य ४१.३६ प्रतिशत अर्थात प्रतिकित्ता १५७.९ रुपैयाँले बढीसकेको छ । यो अवधिमा जम्मा चार दिन सेयर कारोबार खुला भयो । यो चार दिनमा नेप्से परिसूचक भने ७१.९४ अंकले घटीसकेको छ । गत माघ ११ गते २१८३.६२ बिन्दुमा रहेको परिसूचक माघ १७ गतेसम्म निरन्तर घटेर २१११.६८ बिन्दुमा झरेको छ । रोक्कापछि खुलेको कारोबारको पहिलो दिनमै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ४२०.२० रुपैयाँमा पुग्यो । त्यसपछिको कारोबारमा पनि सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४६२.२० रुपैयाँ पुग्यो । अर्को दिनको कारोबारमा पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५०८.४० रुपैयाँ पुग्यो । र, माघ १७ गतेको कारोबारमा भने कम्पनीको सेयर मूल्य ६.२० प्रतिशतले बढेर प्रतिकित्ता ५३९.९० रुपैयाँ पुगेको छ । किन बढ्यो कम्पनीको सेयर मूल्य ? पछिल्लो समय घट्दो बजारमा पनि कम्पनीको सेयर मूल्य भने निरन्तर बढीरहेको छ । सगरमाथा इन्स्योरेन्ससँग मर्जरमा जाने अन्तिम तयारीमा भएकोले कम्पनीको सेयर मूल्य बढेको एक जानकारले बताए । सगरमाथासँग १००ः८० को स्वाप रेसियोमा मर्ज हुन लागेको लुम्बिनीको सेयर मूल्य स्वाप रेसियोको आधारमा अझै बढ्नु पर्ने धेरैको बुझाइ छ । मंगलबारको बजारमा सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ७७९ रुपैयाँ छ । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स क्रमश १००:८० को सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) मा मर्ज हुने गरी हुने गरी दुई कम्पनीबीच अन्तिम सम्झौता पनि भइसकेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ६.९९ प्रतिशत बोनस सेयर दिने भएको छ । र, सोमा लाग्ने कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । यता सगरमाथा इन्स्योरेन्सले पनि सेयरधनीलाई चुक्ता पुँजीको १२.४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । दुवै कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।

१५ अंकले घट्यो सेयर बजार, प्राइम लाइफले सबैभन्दा बढी गुमायो

काठमाडौं । मंगलबार सेयर बजार १५.७० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार घटेर २१११.६८ विन्दुमा पुगेको छ । आज कारोबार रकम पनि घटेको छ । नेप्सेको अनुसार आज ७५ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार रिडी हाइड्रोपावरले १९ करोड रुपैयाँको गरेको छ । यस्तै, आज सबैभन्दा बढी आम्दानी आदर्श लघुवित्तले गर्दा प्राइम लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी गुमाएको छ ।