१३ प्रतिशत लाभांश दिने कृषि विकास बैंककाे घोषणा

काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ११ प्रतिशत नगद (कर प्रयोजन) र २ प्रतिशत बोनस गरी कुल १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । साथै, बैठकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशत हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट र मेगाको सेयर पुस २७ गतेदेखि रोक्का

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट र मेगाकाे सेयर पुस २७ गतेदेखि राेक्का हुने भएकाे छ । दुई बैंककाे एक आपसमा मर्जर भई पुस २७ गतदेखि काराेबार हुने भएपछि सेयर राेक्का हुने भएकाे हाे । बैंककाे साेमबार बसेकाे बैठकले १५ दिनकाे लागि सेयर राेक्का गर्ने निर्णय गरेकाे हाे । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर प्रारम्भिक सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब रुपैयाँ छ भने मेगा बैंकको १६.१२ अर्ब रुपैयाँ छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४.४३ अर्ब रुपैयाँ पुग्नेछ ।  

सानिमा मिडिल तमोर हाइड्रोपावरले माघ ४ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरले माघ ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकति मूल्य दरका ३३ लाख ३२ हजार ५ सय कित्ता आयोजना प्रभावितका लागि बिक्री गर्ने भएको हो । जसमध्ये ४० प्रतिशत अर्थात १३ लाख ३३ हजार कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं. १ तथा भिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ का बासिन्दाहरुका लागि र ६० प्रतिशत अर्थात् १९ लाख ९९ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्गका लागि निष्काशन गर्ने भएको हो । साथै सर्वसाधारणमा निष्काशन हुने सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रहेका नेपालीहरुका लागि निष्काशन गर्ने भएको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजन प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले छिटोमा माघ १८ गते र ढिलोमा फागुन ४ गतेसम्म आवेदन दिन पाउनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १८ गतेभित्र आवेदन दिईसक्नु पर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । स्थानिय बासिन्दाले सानिमा मिडिल तमोर हाइड्रोपावरको कार्यालय, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।