२ कम्पनीको साधारणसभा आज हुँदै, ७० प्रतिशतसम्म लाभांश पारित गर्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २ कम्पनीको वार्षिक साधारण सभा हुने भएको छ । मितेरी डेभलपमेन्ट बैंक र हिमालयन डिष्टिलरी कम्पनीको वार्षिक साधारण सभा आज (पुस २७ गते, बुधबार) हुने भएको हो । मितेरी डेभलपमेन्ट बैंकको १७ औँ वार्षिक साधारण सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान ११ बजेबाट सुरु हुनेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १२.३५ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । यस्तै, हिमालयन डिष्टिलरी कम्पनीको २२ औ बार्षिक साधारणसभा रजिष्टर्ड कार्यलय बिरगंजमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल ७० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । दुवै कम्पनीले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछन् ।

आज सेयर कारोबार बन्द

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार नहुने भएको छ । बुधबार सरकारले सार्वजनिक बिदा दिएपछि सेयर कारोबार नहुने भएको हो । नेप्सेले आज सेयर कारोबार नहुने जनाएको छ । सरकारले पृथ्वी जयन्तीको दिन बुधबार (पुस २७ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । साथै माघ १ गते माघे संक्रान्तिका दिन पनि कारोबार बन्द रहने नेप्सेले जनाएको छ ।

महिला र महुली लघुवित्तको कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले महिला लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाको कारोबार रोक्का गरेको छ । दुवै लघुवित्तले कारोबार समयमा लाभांश वितरण गर्ने घोषणा गरेको भन्दै कारोबार रोक्का गरेको हो । कारोबार समयमा लाभांश वितरण गर्ने प्रस्ताव गरेर सेयर मूल्यमा प्रभाव पार्न खोजेको आरोपमा दुवै कम्पनीलाई नेप्सेले स्पष्टिकण समेत सोधेको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) बमोजिम जानकारी नगराएको र धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट कम्पनीका पदाधिकारीले वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेले जनाएको छ । विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरूप धितोपत्रको कारोबार रोक्का गरिएको र के कति कारणबाट समयमानै जानकारी नदिएको हो ? भन्दै ३ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । महिला लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद गरी कूल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, महुली लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल २५ नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।