‘पहुँच र पावरमार्फत कर्जा लिई बजारमा चलखेल गर्नेलाई कारबाही गर्नुपर्छ’
काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले पहुँच र पावरको दुरुपयोग गरेर कर्जा लिएर सेयर बजारमा चलखेल गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् । आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा बोल्दै अध्यक्ष मैनालीले यस्तो बताएका हुन् । उनले सेयर कर्जामा सीमा लगाउने भन्दापनि गलत कार्य गर्नेलाई नियन्त्रण गर्नुपर्ने बताए । साथै, सबैलाई एकै ठाउँमा राखेर नीति ल्याउनु नहुने उनको भनाई छ । मैनालीले मौद्रिक नीतिमार्फत सेयर कर्जा नियन्त्रण नगर्न सुझाव दिएका छन् । उनले सेयर बजारमा लगानी गर्नको लागि बैंकबाट लिने कर्जाले आर्थिक गतिविधिलाई चलायमान बनाउने भएकाले राष्ट्र बैंकले सेयर कर्जामा धेरै नियन्त्रण गर्न नहुने बताएका हुन् । अध्यक्ष मैनालीले राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर कर्जामा ४/१२ को क्याप लगाएकाले बजारमा समस्या आएको बताए । उनले आगामी मौद्रिक नीतिमा सेयर कर्जामा ४/१२ को क्यापलाई हटाउनुपर्ने बताए । अध्यक्ष मैनालीले सेयर कर्जामा सीमा लगाउने भन्दापनि पहुँच र पावरको दुरुपयोग गरेर कर्जा लिएर बजारमा चलखेल गर्नेलाई कारबाही नियन्त्रण गर्नुपर्नेमा सबैलाई एकै ठाउँमा राखेर नीति ल्याउनु नहुने बताए । उनले कमजोर र बलियो संस्थाको सेयरमा एकै प्रकारको मार्जिन नियम वैज्ञानिक नभएको भन्दै त्यस्तो व्यवस्थालाई मौद्रिक नीतिमार्फत संशोधन गर्नुपर्ने बताए । अध्यक्ष मैनालीले राष्ट्र बैंकको घुमाउरो नीतिले बैंक तथा वित्तीय संस्थालाई सेयर खरिद गर्न रोक लगाएको कारण पनि सेयर बजार जोखिममा पुगेको बताए । उनले अहिले कुनैपनि बैंक तथा वित्तीय संस्थाहरु सेयरमा लगानी गर्न छाडेको भन्दै वित्तीय संस्थाहरुलाई सेयर खरिद गर्न दिए जोखिममा रहेको बजार सुधार हुनसक्ने बताए । अध्यक्ष मैलानीले उत्पादनमुलक क्षेत्रका कम्पनीहरुलाई बुक बिल्डिङमार्फत सेयर बजारमा ल्याउने तयारी भएपनि सेयर किन्ने बायर नै नभएको गुनासो गरे । ‘हामीले विदेशी लगानीलाई सेयर बजारमा प्रवेश नदिएको कारण सेयर बजारमा धक्का लाग्छ जस्तो लाग्दैन, सेयरमा जाने कर्जालाई राष्ट्र बैंकले सीमा राखेर कडाई गर्नुपर्छ भन्ने छैन, हामीले जहिले पनि बाइन साइडबाट मात्रै हेरका छौं, सेयर बजार यस्तो ठाउँ हो जसमा बायरले पैसा तिर्छ भने सेलरले आज नै पाउँछ, पैसा कही पनि अड्किँदैन, बायरले ऋण लिएर सेयर किन्यो भने शेयर किनेको पैसा सेलरले पाउने हो, केही सरकारले करको रुपमा पाउने हो, कसैले ऋण लिएर सरकारलाई कर तिर्छ भने त्यसले बिगार्छ जस्तो लाग्दैन । कसैले ऋण दिएर सेयर किन्दा बेच्ने मान्छेले शेयर बेचेर उद्योगमा लगानी गर्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ जस्तो लाग्दैन, ‘ उनले भने । अध्यक्ष मैनालीले मर्जर तथा प्राप्तिका कारण सेयर कारोबार रोक्का हुन नहुने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिए । उनले मौद्रिक नीतिमा ब्रोकरमार्फत मार्जिन लेण्डिङको व्यवस्था सहज बनाउनुपर्ने समेत बताए ।
साञ्जेन जलविद्युतको सेयर तत्काल बिक्री नगर्न माग
रसुवा । रसुवामा निर्माणाधीन साञ्जेन जलविद्युत् कम्पनीद्वारा स्थानीयका लागि छुट्याएको सेयर तत्काल बिक्री खुला नगर्न आग्रह गरिएको छ । एक सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर कम्पनीले यही १३ गतेदेखि ६८ लाख ४२ हजार १०० कित्ता सेयर बिक्री खुला गरेको थियो । आर्थिक समस्याका कारण जिल्लावासीले पाउने सञ्जेन कम्पनीको सेयर हाललाई बिक्री खुला नगर्न स्थानीयले माग गरेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेको अध्यक्षतामा सम्पन्न सर्वपक्षीय बैठकले ५७ दशमलव तीन मेगावाटको साञ्जेन जलविद्युत्को सेयरसमेत स्थगन गर्न माग गरेको छ । दुवै आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । रसुवाका पाँचवटै गाउँपालिका प्रमुख तथा उपप्रमुख, बागमती प्रदेशसभा सदस्य प्रेम तामाङ, राजनीतिक दलका जिल्लास्थित प्रमुख/प्रतिनिधि, नागरिक समाजलगायतले शेयर बिक्री ६ महिनापछि मात्र खुलाउन माग गरेका हुन् । जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामाका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण बैंकहरूलाई सहुलियत कर्जा प्रवाह गरिदिन आग्रह गरिएको छ । रसुवामा कार्यरत बैंक तथा वित्तीय संस्थाले स्थानीयको हितका लागि सुलभ कर्जा उपलब्ध गराउनुपर्ने जिल्ला समन्वय समितिले माग गरेको छ । राष्ट्रिय प्रसारण लाइनले छोएका आमाछोदिङ्मो र उत्तरगयाका वडा नं १, २ र ३ नेसिङ, ग्रे, हाकु, गोगने, डाडागाउँ, ठूलोगाउँ क्षेत्रका प्रभावितलाई सेयरको व्यवस्था गर्न समेत माग गरिएको छ । रासस
बुढीगण्डकी नजन्मदै तामाकोशीका सेयरधनीलाई धक्का
काठमाडौं । भनिन्छ टाठाबाठाले सोझा साझालाई बैधानिक रुपमा ठग्ने बजार हो सेयर बजार । यो साता यस्तै भयो । एक वर्षअघि प्रतिकित्ता ९६२ रुपैयाँ ५० रुपैयाँसम्मका कारोबार भएको अपर तामाकोशीको सेयर गत साता ३७६ रुपैयाँमा झरेको थियो । सस्तोमा सेयर किनेर हल्ला चलाउने र तत्काल नाफा कमाउने वर्गको लागि राम्रो आधार बनेको थियो । यहिबेलामा नयाँ परिदृष्य देखियो । नाफा मुलक कम्पनी खोलेर बुढिगण्डकी जलविद्युत परियोजना बनाउने प्रक्रियामा सरकार अगाडि बढ्यो । टाठाबाठाले हल्ला चलाए बुढीगण्डकीमा अपर तामाकोशीले लगानी गर्ने भयो । प्रस्ताव मन्त्रिपरिषदमा गैसकेको छ । त्यसका लागि पुँजी जुटाउन अपर तामाकोशीले हकप्रद सेयर जारी गर्दैछ । हल्ला चलेका केही दिनमै झण्डै ३० प्रतिशतले सेयरको मूल्य वृद्धि भयो । आइतबार र सोमबार सर्किट ब्रेक नै लाग्यो । ३७६ रुपैयाँमा झरेको सेयर मूल्य ४८५ रुपैयाँसम्मका कारोबार भयो सोमबार । प्रतिकित्ता १०९ रुपैयाँसम्मले बढ्यो । मंगलबार साँझ विकासन्युजले बुढीगण्डकीमा कसले कति सेयर लगानी गर्दैछ भनेर समाचार प्रकाशित गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले दिएको जानकारी अनुसार बुढीगण्डकीमा अपर तामाकोशीले पुँजी हाल्ने कुनै प्रस्ताव छैन । दर्ता प्रक्रियामा रहेको बुढीगण्डकी जलविद्युत कम्पनीको पुँजी ६० अर्ब रुपैयाँ राखिने भएको छ । कम्पनीमा ८० प्रतिशत सेयर सरकारको हुने छ भने २० प्रतिशत सर्वसाधारणको रहनेछ । सबैभन्दा बढी सेयर उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले राख्ने भएको छ । यस मन्त्रालयले २४ अर्ब रुपैयाँ अर्थात कुल पुँजीको ४० प्रतिशत अंश लिने भएको छ । अर्थमन्त्रालयले १५ अर्ब अर्थात कुल पुँजीको २५ प्रतिशत सेयर राख्ने भएको छ । अन्य सरकारी निकायको १५ प्रतिशत सेयर हुनेछ । त्यसमा नेपाल विद्युत प्राधिकरणको ८ अर्ब ४० करोड रुपैयाँ हुने छ । यो कुल पुँजीको १४ प्रतिशत हो । विद्युत उत्पादन कम्पनीले ६० करोड रुपैयाँ लगानी गर्नेछ । सर्वसाधारणलाई १२ अर्ब रुपैयाँ बराबरको सेयर वितरण गरिने छ । स्थानीयलाई ६ अर्ब रुपैयाँ बराबरको सेयर निष्काशन गरिने छ भने सर्वसाधारणको लागि पनि ६ अर्ब रुपैयाँ बराबरको सेयर निष्काशन गरिने भएको छ । सरकारले स्थानीय र सर्वसाधारणलाई १०/१० प्रतिशत सेयर निष्काशनको गर्ने गरी कम्पनी खडा गर्न लागेको छ । अपर तामाकोशीको सेयर मूल्य वृद्धि हुने गरी वित्तीय अवस्थामा कुनै फेरबदल नभएको कम्पनीको प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले बताए । ‘हाम्रो कम्पनीको आम्दानी पनि करिव करिब निश्चित छ र खर्च पनि मोटाबाटी स्पष्ट छ, कम्पनीको आम्दानी वा खर्चमा ठूलो फेरबदल हुने गरी कम्पनी भित्र कुनै काम भएको छैन’ उनले विकासन्युजसँग भने- ‘कम्पनीको सेयर मूल्य घटेर ९००बाट ३०० मा आउनु पर्ने कारण पनि मैले बुझेको छैन । अहिले बढ्नुको कारण पनि मैले भन्न सक्दिन’ प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने ।