सेयर बजारमा छायो हरियाली, दुई लघुवित्तमा लाग्यो सकारात्मक सर्किट
काठमाडौं । बुधबारको सेयर बजारमा हरियाली छाएको छ । कारोबार खुलेदेखि उकालो लागेको नेप्से परिसूचक ४१.३९ अंकले बढेर १९६२.७१ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.१५ प्रतिशतले बढी हो । बजारमा परिसूचकमात्रै नभई कारोबार रकममा पनि सुधार देखिएको छ । मंगलबार १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार १ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कूल २२८ वटा स्क्रिप्स कारोबार भएको बजारमा ङादी ग्रुपको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ५ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य १२ रुपैयाँले बढेर प्रतिकित्ता ५४० रुपेयाँ पुगेको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा रहेको एशियन लाइफको ५ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार कम्पनीको पनि सेयर मूल्य २०.५० रुपैयाँले बढेर प्रतिकित्ता ५९७.५० रुपैयाँ पुगेको छ । बजारमा कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । जसमध्ये निर्जीवन बीमा समूह १९४.६६ अंकले बढेको छ । त्यस्तै, म्युचुअल फण्ड समूह सबैभन्दा कम अर्थात ०.३९ अंकले बढेको छ । बुधबार दुई लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर क्रमशः १०१०.९० र ९५८.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । बुधबार मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा कम अर्थात १.९१ प्रतिशतले घटेर प्रतिकित्ता ४११ रुपैयाँमा कारोबार भएको छ ।
कामना सेवासहित ६ कम्पनी बने योग्य संस्थागत लगानीकर्ता, बोर्डले दियो स्वीकृति
काठमाडौं । धितोपत्र बोर्डको योग्य संस्थागत लगानीकर्ताको सूचीमा थप ६ वटा कम्पनी थपिएका छन् । बोर्डले समृद्धि फाइनान्स कम्पनीसहित थप ६ वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो । बोर्डले हालै गौरब नेपाल इन्भेष्टमेन्ट, समृद्धि फाइनान्स कम्पनी, नबिल ब्यालेन्स्ड फण्ड ३, कामना सेवा विकास बैंक, पशुपति भेन्चर क्यापिटल र सिद्धार्थ व्यवस्थित लगानी योजनालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको छ । यसअघि योग्य संस्थागत लगानीकर्ताको सूचीमा १०० वटा संस्था थिए । अब उक्त संख्या बढेर १०६ पुगेको छ । योग्य संस्थागत लगानीकर्ता भनेको के हो ? बोर्डले बुक विल्डिङ विधिबाट सार्वजनिक निष्कासन (आईपीओ) गर्ने कम्पनीको मूल्य तय गर्नको लागि योग्य संस्थागत लगानीकर्ताबाट आशय मूल्य लिनुपर्छ । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्नको लागि सो आईपीओको मूल्य तय गर्न संस्थागत लगानीकर्ताको भूमिका रहन्छ ।
नबिल बैंकको संस्थापक सेयर सर्वसाधारणले किन्न पाउने
काठमाडौं । नबिल बैंकले २८ हजार ५८९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सर्वसाधारण व्यक्ति तथा संस्थालाई सो मात्राको सेयर बिक्री गर्न लागेको हो । यससँगै इुच्छुक व्यक्ति तथा संस्थाले आगामी ७ दिन ( असार १५ गतेपछिको ७ दिन) भित्रमा बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङमा आवेदन दिन सक्नेछन् । तर, उक्त सेयर किनेपछि पनि संस्थापक सेयरधनी समूहमा नै रहने गरी किन्न इच्छुकले मात्रै सो सेयर किन्न पाउने छन् । सेयर खरिद गर्न इच्छुकले गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ । बैंकले कानुन अनुसार नै पहिलो चरणमा संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिएको थियो । तर संस्थापकहरुबाट कुनैपनि निवेदन नआएकोले बैंकले उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्न लागेको हो ।