हकप्रद र मर्जरको हल्लाले सेयर मूल्यमा चलखेल

काठमाडौं । पछिल्लो समय बजारमा खुल्लेआम इन्साईडर ट्रेडिङ भइरहेको पाइएको छ । हुन त नेपाली पुँजीबजारमा यसलाई परम्परागत रुपमै चल्दै आएको चलन भन्दा पनि खासै फरक नपर्ला । इन्साईडर ट्रेडिङ एक भित्री कारोबार हो । अर्थात् कुनै कम्पनीको सेयर मूल्यमा असर पर्ने गोप्य सूचना तथा जानकारी सीमित व्यक्तिमार्फत थाहाँ पाई धितोपत्र मूल्यमा चलखेल गर्नु हो । पछिल्लो समय लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको सेयरमा पनि चलखेल भइरहेको पुष्टि भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने र त्यसमा भारतीय कम्पनीले लगानी गर्ने भित्रि सूचना चुहिएसँगै बजारमा कम्पनीको सेयर एकाएक बढेको पाइएको छ । जसका कारण कम्पनीको सेयर भाउ छोटो अवधि अर्थात दुई सातामै प्रतिकित्ता ४०९ रुपैयाँले बढ्यो । नेप्सेका अनुसार असार ९ गते प्रतिकित्ता ११४० रुपैयाँमा किनबेच भएको कम्पनीको सेयर असार २१ गते १५४९ रुपैयाँसम्म पुग्यो । उता भारतीय जीवन बीमा निगमले एलआईसी नेपालको हकप्रदमा १ अर्ब २७ करोड ७ लाख रुपैयाँ बराबरको लगानी गर्ने निर्णय गर्यो । उक्त निर्णय जुलाई ४ मा भयो । त्यससँगै यता जुलाई ५ अर्थात असार २१ गतेको पुँजीबजारमा एलआईसीको नेपालको सेयर मूल्य एकाएक सकारात्मक सर्किट लेभलमा कारोबार भयो । र, अघिल्लो दिन प्रतिकित्ता १४०९ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य एकैदिनमा बढेर प्रतिकित्ता १५४९ रुपैयाँ पुग्यो । सेयर मूल्य मात्र होइन कम्पनीको सेयर कारोबार पनि बढेको थियो । एकैदिन कम्पनीको ११ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । एलआईसी नेपालले हकप्रद सेयर जारी गर्ने विषयमा हालसम्म बजार सञ्चालक नेप्सेलाई कुनै पनि जानकारी गराएको छैन । नेप्सेलाई मात्र होइन नियामक निकाय बीमा समितिलाई समेत यसबारे कुनै पनि जानकारी नभएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् । ‘समितिले कम्पनीहरुलाई पुँजी वृद्धिको लागि हकप्रद प्राथमिकतामा नराख्न निर्देशन दिँदै आएको छ, तर थोरै रकम अपुग भएको खण्डमा मात्रै सेयर जारी गर्न दिनेछौं,’ पौडेलले भने । यसको मतलब कम्पनीले भित्र भित्रै मात्रै नभई आधिकारिक रुपमै हकप्रद जारी गर्ने प्रस्ताव गरे पनि समितिले भने त्यसलाई स्वीकृति दिने सम्भावना एकदम न्युन छ । बीमा समितिले २०७९ चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुलाई कम्तिमा ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुलाई कम्तिमा २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । सोहि अनुसार अधिकांश कम्पनीहरु पछिल्लो समय मर्जरको लागि दोडधुप गरिरहेका छन् भने कोहीले पार्टनर खोजी पहिलो चरणको सम्झौता समेत गरिसकेका छन् । र, कोहि भने संस्थापकहरुलाई थप लगानी गर्नको लागि आव्हान गरिरहेका छन् । यता एलआईसी नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ छ । समितिले तोकेको न्युनतम ५ अर्ब चुक्ता पुँजी पर्याउन कम्पनीले थप २ अर्ब ३५ करोड रुपैयाँ थप्नुपर्ने देखिन्छ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले २०७९ जेठ ३१ गतेदेखि दोश्रो बजारको यात्रा शुरु गरेको हो । पहिलो कारोबारमा संस्थाको सेयर ३८२.२० रुपैयाँमा भयो । घट्दो बजारमा भित्रिएको कम्पनीको सेयर मूल्य भने निरन्तर रुपमा बढी नै रह्यो । घटेको त रेकर्ड नै रहेन । पछिल्लो दिनको कारोबारमा त झन् संस्थाको सेयर निरन्तर रुपमा सर्किट लेभलमा नै किनबेच भयो । र, असार २२ गतेको बजारमा संस्थाको सेयर प्रतिकित्ता १६९८.२० रुपैयाँमा कारोबार भयो । जुन संस्थाको हालसम्मकै उच्चतम मूल्य हो । यससँगै कारोबार शुरु भएको महिना दिन पनि पुग्न नपाउँदै कम्पनीको सेयर मूल्य ३४४.३३ प्रतिशतले बढेको छ । असार २३ गतेको बजारमा भने संस्थाको सेयर कारोबार भएन । कारण थियो आँधीखोला लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने । दुई लघुवित्तले एक आपसमा मर्जरमा जानको लागि प्रारम्भिक सम्झौता गरेसँगै नेप्सेले दुबै संस्थाको सेयर कारोबार रोक्का गरिदियो । यससँगै उक्त मर्जर प्रक्रिया सकिएर एकीकृत कारोबार शुरु गरेको केही दिनपछि मात्रै संस्थाको सेयर दोश्रो बजारमा किनबेच हुने छ । यता आँधीखोला लघुवित्त वित्तीय संस्थाको दोश्रो बजारमा सेयर कारोबार फुकुवा भएको धेरै भएको छैन । यद्दपि संस्थाले दोश्रो बजारको यात्रा भने २०७६ भदौ ९ गतेदेखि नै शुरु गरेको थियो । तर, धौलागिरी लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सम्झौता भएसँगै संस्थाको सेयर कारोबार रोक्का भएको थियो । करिब ३ वर्षदेखि रोक्का भएको कम्पनीको सेयर कारोबार नेप्सेले २०७९ जेठ २७ गतेदेखि मात्रै फकुवा भएको हो । कारोबार फुकुवा भएसँगै बजारमा संस्थाको सेयर मूल्य अधिकांश दिन बढ्यो । जेठ २७ गतेदेखि असार २२ गतेसम्मको कारोबारमा आँधिखोला लघुवित्तको सेयर भाउ २५०.६० प्रतिशतले बढेको छ । कारोबार रोक्का हुँदा संस्थाको सेयर मूल्य ३९०.७६ रुपैयाँ थियो । कारोबार फुकुवा भएपछिको पहिलो दिन (जेठ २७ गते) संस्थाको सेयर मूल्य बढेर ३९८.५० रुपैयाँ पुगेको थियो । त्यसपछि असार २२ गतेसम्मको अवधिमा संस्थाको सेयर मूल्य दुई दिन घटेको देखिन्छ भने बाँकी दिन निरन्तर बढेको देखिन्छ । यो अवधिमा नेप्से परिसूचक भने घटेर १८४८ बिन्दुसम्म झरेको थियो । तर, सीवाईसी लघुवित्त र आँधीखोला लघुवित्तको सेयर मूल्य भने बढीनै रहेको थियो । नेप्से परिसूचक घटेको दिनमा पनि यी दुई लघुवित्तको सेयर प्राय सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको थियो । महिना दिन पनि नबित्दै सीवाईसी लघुवित्तको ३४४.३३ प्रतिशत र आँधीखोला लघुवित्तको २५०.६० प्रतिशतले सेयर भाउ बढ्यो । जसमध्ये सीवाईसी लघुवित्तको सेयर मूल्य बढ्नु त एक हिसावले स्वाभाविक थियो । किनभने हालै बजारमा भित्रिएका प्राय जसो धेरै कम्पनीको सेयर मूल्य केही दिनसम्म निरन्तर बढेर एक लेभलसम्म पुग्ने गरेको पाइन्छ । तर, अन्य कम्पनीको सेयर मूल्य घट्दा आँधिखोला र सीवाईसी लघुवित्तको सेयर सर्किट लेभलमा किनबेच हुनुले एक लेभलको शंका पैदा हुनु ठिकै हो । बजारमा यी दुईबीच मर्जरको हल्ला चलेसँगै त्यसको प्रभाव सेयर मूल्यमा परेको जानकारहरु बताउँछन् । नभन्दै असार २२ गते दुबै संस्थाले एक आपसमा मर्जमा जान समझदारी पत्रमा हस्ताक्षर गरे । सो प्रयोजनको लागि हाल दुबै कम्पनीको सेयर कारोबार रोक्का छ । यी त केही उदाहरण मात्रै हुन् । यस्ता थुप्रै घटनाहरु हामीले विगतमा पनि सुन्दै र भोग्दै आएका छौं । जसलाई सेयर बजारको विकृति रुपमा हेरिन्छ किनभने यसबाट साना लगानीकर्ताहरु सबैभन्दा बढी मारमा पछन् । पछिल्लो समय यो मौलाउँदै आइरहेको छ । यद्दपि, यस्ता विकृतिलाई बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले सकेसम्म हटाउने होइन भने न्यून गराउने नीति ल्याउन आवश्यक देखिने जानकारहरु बताउँछन् ।

४/१२ को सीमा हटाउनु पर्छ, ब्याजदर सिंगल डिजिटमा हुनुपर्छ : महानिर्देशक अवस्थी

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले ४/१२ को सीमा हटाउनु पर्ने बताएका छन् । आइतबार काठमाडाैंमा आयाेजित कार्यक्रममा उनले यस्ताे बताएका हुन् । ‘सेयरधितो कर्जामा गरेको ४/१२ करोडको नीति खारेज गर्नुपर्छ, ब्याजदर सिंगल डिजिटमा हुनुपर्छ र बैंकहरुले आकर्षक बचत योजना ल्याउनु पर्छ,’ उनले भने यस्तै उनले स्थानीय तहको रकमलाई शतप्रतिशत निक्षेपका रूपमा राख्नु पर्ने र त्यसाे नभए ८० प्रतिशतलाई निरन्तरता दिनुपर्ने बताएका छन् । उनले आयात प्रतिस्थापन गर्ने वस्तु उत्पादन गर्ने उद्योगलाई पुनर्कर्जा दिनु पर्ने र निर्यातमा दिने सहुलियतलाई सहजीकरण गर्नु पर्ने बताए । त्यस्तै, उनले ब्याजदरको त्रैमासिक रुपमा समीक्षा गरि परिमार्जन गर्नु पर्ने बताएका छन् । ‘ब्याज बढेर निक्षेप बढेको देखिएन, तर यसमा पुनरावलोकन गर्नु पर्छ,’ उनले भने ।

शुक्रबारको सेयर बजार राताम्मे, २ हजारबाट तल झर्यो परिसूचक

काठमाडौं । शुक्रबारको सेयर बजार राताम्मे देखिएको छ । बजारमा नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२ .६१ बिन्दुमा पुगेको छ । जुन एक साताको तुलनामा न्यूनतम बिन्दु हो भने अघिल्लो दिनको तुलनामा १.७१ प्रतिशतले घटी हो । शुक्रबारको बजारमा दुई घण्टा मात्रै सेयर कारोबार खुल्ने गरेको छ । यो अवधिमा कूल १ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ५५ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात १९३.०७ बिन्दुमा झरकेो छ । सबैभन्दा बढी प्रतिशतले गुमाउनेमा हिमालय उर्जा विकास कम्पनीका सेयरधनी रहेका छन् । कम्पनीको सेयर मूल्य एकैदिन ५.४४ प्रतिशतले घटेर प्रतिकित्ता २२६ रुपैयाँमा झरेको छ ।