नेप्सेमा २४ वटा वाणिज्य बैंक मात्र सूचिकृत, ३ वटा बैंकको सेयर कारोबार बन्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको संख्या घटाउने प्रयास गरिरहेको छ । तर यस प्रयासमा राष्ट्र बैंक भन्दा नेपाल स्टक एक्स्चेञ्ज अगाडि रहेको छ । हाल राष्ट्र बैंकबाट अनुमति लिएर बैकिङ कारोबार गरिरहेका २७ वटा वाणिज्य बैंकहरु छन् । तरस्टक एक्स्चेञ्जमा २४ वटा वाणिज्य बैंक मात्र सूचिकृत रहेका छन् । तीन वटा बैंक नेप्सेको सूचिकरणबाट वाहिरिन पुगेका छन् । उनीहरुको सेयर कारोबार बन्द रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्ज प्रक्रिया भाडिएको महिनौ वितेपनि हिमालयन बैंकको सेयर कारोबार खुला भएको छैन । सेयर कारोबार खुलाउन हिमालयन बैंकले पूरा गर्नु पर्ने प्रक्रियाहरु पूरा नगरेकाले बैंकको सेयर नेप्सेको सूचिकरणमा नभएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ । त्यस्तै, नविल बैंकले प्राप्ति गर्न लागेको नेपाल बंगलादेश बैंकको सेयर पनि नेप्सेको सूचिकरणबाट हटेको छ । दुबै बैंकको विशेष साधारणसभाबाट एक्विजिशन प्रस्ताव पारित भैसकेको र नियामकबाट अन्तिम स्वीकृतिको प्रक्रियामा रहेकोले नेपाल बंगलादेश बैंकको सूचिकरण सदाको लागि खारेज हुने सम्भावना छ । ९९ प्रतिशत भन्दा बढी सरकारी सेयर भएको राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणमा सेयर निष्काशन नै नगरेकोले यो बैंक नेप्सेमा सूचिकृत छैन । ती तीन बैंक नेप्सेमा सूचिकृत नभएकाले २७ मध्ये २४ वटा बैंकको सेयर नियमित कारोबार भइरहेको छ ।

इन्भेष्टमेन्ट बैंकको सेयरमा असाधारण विशेषता, साधारण सेयर भन्दा संस्थापक सेयर महँगो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका साधारण सेयरभन्दा संस्थापक सेयर सस्तो हुन्छ । चाहेको बेलामा बिक्री गर्न कठिन हुने, सेयर धितो राखेर कर्जा लिनुपर्दा बजार मूल्यको २५ प्रतिशत मात्र कर्जा पाउने भएकोले संस्थापक सेयर साधारण सेयरभन्दा धेरै नै सस्तोमा किनबेच हुने गरेको छ । तर नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्यले फरक असाधारण चरित्र देखाएको छ । इन्भेष्टमेन्ट बैंकको साधारण सेयरभन्दा संस्थापक सेयर बढी मूल्यका किनबेच भैरहेको छ । बिहीबार बैंकको साधारण सेयर प्रतिकित्ता २९९ रुपैयाँमा कारोबार भएको छ भने संस्थापक सेयर प्रतिकित्ता ३२० रुपैयाँमा कारोबार भएको छ । दाेस्राे बजारमा हुने सेयर काराेबार मूल्यमा बैंककाे कुनै पनि भूमिका नहुने भएकाेले यसबारे टिप्पणी गर्न पनि नमिल्ने बैंकका प्रमुख सूचना अधिकृत विजेन्द्र सुवालले बताए । विहीबार यस बैंकका साधारण सेयरधनीले प्रतिकित्ता ७ रुपैयाँ ९० पैसा घटेको छ भने संस्थापक सेयरधनीले प्रतिकित्ता ३५ रुपैयाँ ५० पैसा गुमाएका छन् । विहीबार ६ वटा कारोबारबाट ६० कित्ता मात्र सेयर किनबेच भएको, एकैदिन ९.९९ प्रतिशत मूल्य घटेकोले आगामी दिनमा पनि यो सेयरको मूल्य धेरै घट्ने संकेत गरेको छ । इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर बुधबार प्रतिकित्ता ३५५ रुपैयाँमा किनबेच भएको थियो । गत एक वर्षको यो सेयर अधिकतम ४०३ रुपैयाँमा किनबेच भएको थियो । हिमालय बैंकसँगको मर्जर प्रक्रिया भाँडिए पनि खुलेको बजारमा इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य निरन्तर घटिरहेको छ । पाँच वर्षअघिसम्म नेपाल इन्भेष्टमेन्ट बैंकलाई बैकिङ क्षेत्रमा सबैभन्दा ठूलो र अग्रणी बैंकको रुपमा लिइन्थ्यो । तर पछिल्लो समय अरु बैंकले हासिल गरेको आर्थिक वृद्धिको तुलनामा यस बैंकको वृद्धिदर कमजोर रहेको छ । त्यसैको प्रतिविम्ब स्वरुप बैंकको सेयर मूल्य ३०० रुपैयाँ भन्दा पनि तल झरेको छ ।

बजेटको बुँदा नम्बर ३३२ ले किन बढाउन सकेन सेयर बजार ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्नु अघिल्लो दिन पुँजी बजार मापक नेप्से परिसुचक २२२३.७८ विन्दुमा कारोबार बन्द भएको थियो । बजेट आउने अघिल्लो दिन शनीबार थियो भने बजेट आएको दिन अर्थात जेठ १५ गते आइतबार र गणतन्त्र दिवस थियो । त्यसैले बजेट आउने दिन सेयर बजार खुलेन । बजेट सार्वजनिक भएको दिनदेखि सेयर बजारको ओरोलो यात्रा अझ तीब्र गतिमा बढिरहेको छ । बजेट सार्वजनिक भएपछिको ४ करोबार दिनमा नेप्से परिसुचक १११.३१ अंकले घटेर २११२.४७ विन्दुमा आइपुगेको छ । सेयर बजार घटेकोप्रति अर्थमन्त्री जनार्दन शर्मा पनि चिन्तित रहेको कुरा हालैको एउटा प्रसंगले थप स्पष्ट गर्छ । बुधबार आर्थिक संघले बजेटमाथि गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले सेयर बजारका लागि आफूले निकै महत्वपूर्ण विषय समावेश गरेको दाबी गरेका थिए । यसका लागि उनले बजेटको बुँदा नम्बर ३३२ उद्दरण गरे । अर्थमन्त्री शर्माले बजेटको सो बुँदा पढ्न र त्यसपछि मात्रै पुँजी बजारको विषयमा धारणा बनाउन आग्रह समेत गरे । अर्थमन्त्री शर्माले पढ्न सिफारिस गरेको बजेटको सो बुँदामा ‘एक अर्ब रुपैयाँ वा सो भन्दा बढीको पुँजी वा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतहरूको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरूलाई धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरिनेछ’ भन्ने उल्लेख छ । यस्तो व्यवस्था पुँजीबजारका लागि महत्वपूर्ण भएको अर्थमन्त्रीको दाबी थियो । ‘यस्तो व्यवस्थाले पुँजीबजार र प्रतिस्पर्धा बढ्ने कुरा गरेको छ । गैरआवासिय नेपालीलाई सेयर बजारमा लगानीको बातावरण बनाउने र बैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयर निष्काशनमा १० प्रतिशत सेयर हिस्सा छुट्याइदिने कुराले सकारात्मक सन्देश दिने मेरो विश्वास छ’ अर्थमन्त्री शर्माले भनेका थिए । तर, अर्थमन्त्री शर्माले बजेट वक्तव्यको बुँदा नम्बर नै सिफारिस गरेको भोलिपल्ट नेप्से परिसुचक १८.२६ अंकले घट्यो । बजेटअघिदेखि नै घट्दै गरेको बजार बजेटपछि झन् बेगसँग किन घट्यो ? हामीले यो प्रश्न धितोपत्र बोर्डका एक अधिकारी, एक ब्रोकर र एक जना विश्लेषकसँग सोधेका छौं । धितोपत्र बोर्डका अधिकारी र ब्रोकरको नाम भने उनीहरुकै आग्रहमा हामीले खुलाएका छैनौं । पुँजी बजारका विश्लेषक मुक्ति अर्याल बजेटका कारण बजार घटेको हो भन्ने मान्दैनन् । ‘बजेटको कारण बजार घटेको होइन, बजेट ठिकै छ, राष्ट्र बैंकले लिएको कर्जामा ४÷१२ को सीमाले बजार आतंकित भएको थियो, त्यहाँबाट घट्न थालेको बजार अन्य कारण थपिएर झन प्यानिक हुदै गएको हो,’ अर्यालले भने । उनले दैनिक २० देखि २२ अर्ब रुपैयाँको कारोबार हुने र बजार पुँजीकरण ४४ खर्ब पुगेको बजार घटेर अहिलेको अवस्थामा आउँदा त्यसको चौतर्फि असर परेको बताए । ‘दैनिक २०÷२२ अर्बको कारोबार हुने गरेको थियो, बजार पुँजीकरण ४४ खर्ब पुगेको थियो, त्यसले त्यही परिमाणमा तरलता उत्पन्न गथ्र्याे, अहिले सबै संकुचित छ, फेरि बजार घटेर १८ सयमा आउँछ भन्ने हल्ला पनि फैलिरहेको छ, यस्ता कारणले बजार घटेको हो,’ विश्लेषक अर्यालले भने । उनले बजार बढेको बेलामा धेरै माथि पुग्छ र घटेको बेलामा अझ तल पुग्छ भन्नेहरु जहाँको बजारमा पनि हुने बताए । एक ब्रोकर भने बजार सुचनामा खेल्ने सेयर खेलाडीको कारण पनि अहिले बजार घटिरहेको बताउँछन् । ‘जीवन बीमा कम्पनीहरुको ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको २ अर्ब रुपैयाँ चुक्ता पुँजी हुन्छ भन्ने सेयरका ठूला खेलाडीलाई पहिल्यै थाहा थियो, नियामकबाट पनि त्यही प्रकारको निर्याय आयो, तर, पुँजी बृद्धिको योजना आएपछि बजार बढ्छ र बेच्छु भनेर बीमाको सेयर उठाएका लगानीकर्ताले बजार नबढेको कारण बेच्न पाएनन्, आफूले किनेको मूल्यभन्दा सस्तोमा पनि बेच्नुपर्ने अवस्थामा पुगे, यही कारण पनि बजार घटिरहेको छ,’ ती ब्रोकरले भने । उनले लगानीकर्ताको मनोवल बढाउने कोही नभएकोले पनि समस्या देखिएको बताए । ‘बजार घटिरहेको छ, धितोपत्र बोर्ड, नेप्से जस्ता संस्थाहरु अहिले लुकेर बसेका छन्, राष्ट्र बैंकले के के भनेर दिनै त्रर्साइरहेको हुन्छ, यस्तो बेलामा बजार बढ्दैन,’ ती ब्रोकरले थपे । उनले बजारमा विश्लेषकहरुको नाममा आतंक सिर्जना गरेको कारण पनि लगानीकर्ता होत्साही भएको बताए । ‘प्राविधिक विश्लेषणको नाममा कसैले यो बजार बढेर यहाँ पुग्छ भन्छ, अर्काेले फेरि अर्काे धर्काे देखाउँदै, होइन झरेर यहाँ आइपुग्छ भन्छ, उनीहरु बेलगाम छन्, कसैले नियमन गर्दैन, यस्ता कारणले पनि बजारमा नकारात्मक असर परेको छ,’ ती ब्रोकरले भने । धितोपत्र बोर्डका एक अधिकारी भने बजार घट्नुको कारण तरलता अभाव मात्रै भएको बताउँछन् । ‘ठूल्ठूला शास्त्र केही पढ्नै पर्दैन, नेपालको पुँजी बजारको १५–२० वर्षको डेटा लिएर बसे हुन्छ, जुनजुन बेला अधिक तरलता छ, त्यो बेला बजार बढेको छ, जुन बेला तरलता अभाव छ, त्यो बेला बजार घटेको छ, योभन्दा थप कुनै कारण छ भने बजार घटेपछि देखापरेका सहायक कारण मात्रै हुन्,’ बोर्डका ती अधिकारीले भने ।