दुई दिनमा १४ अर्ब गुमाए इन्भेष्टमेन्ट बैंकका सेयरधनीले, मेगाका लगानीकर्ता पनि त्रासमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका सेयरधनीले दुई दिनमा १४ अर्ब १६ करोड रुपैयाँ नोक्सानी व्यहोरेका छन् । हिमालयन बैंकसँगको मर्जर प्रक्रिया टुटेपछि सोमबारबाट यस बैंकको सेयर किनबेच हुन थालेको हो । मर्जको प्रक्रियामा जानु पूर्व यस बैंकको सेयर प्रतिकित्ता ४०८ रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको अन्तिम कारोबार प्रतिकित्ता ३३१ रुपैयाँमा खरिदबिक्री भएको छ । दुई दिनमा प्रतिकित्ता ७७ रुपैयाँ ४० पैसाले मूल्य घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्सेमा बैंकको १८ करोड ३० लाख कित्ता सेयर सूचिकृत छ । त्यस आधारमा यस बैंकका लगानीकर्ताले दुई दिनमा १४ अर्ब १६ करोड रुपैयाँ गुमाएका हुन् । इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य घट्दा मेगा बैंक नेपालका लगानीकर्ता पनि डराएका छन् । जेठ १३ गते मेघा बैंकको सेयर प्रतिकित्ता २६२ रुपैयाँका किनबेच भएको थियो । मंगलबार यस बैंकको सेयर प्रतिकित्ता २३३ रुपैयाँमा किनबेच भएको छ । कारोबार खुला भएको दुई दिनमा नै मेगा बैंकका सेयरधनीले प्रतिकित्ता २९ रुपैयाँ गुमाएका छन् । पछिल्लो समय बजारमा दुई बैंकबीच मर्जको तयारी भईरहेको समाचारहरु प्रकाशनमा आएका छन् । बैंकका उच्च अधिकारीहरुले पनि मर्जरमा विषयमा आपसी छलफल भइरहेको तर अन्तिम निर्णयको लागि अझै केही दिनु कुर्नुपर्ने बताएका छन् । इन्भेष्टमेन्ट बैंकमा मर्ज हुने समाचारसँगै मेगा बैंकको सेयर मूल्यमा उच्च वृद्धि थियो । तर इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार खुलेसँगै मूल्यमा दैनिक १० प्रतिशतको गिरावट आएपछि मेगाको पनि सेयर मूल्यमा गिरावट आएको छ ।
सेयर बजारको ओरालो यात्रामा लागेन ‘ब्रेक’, दुई दिनमै ८६ अंकले घट्यो परिसूचक
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लागेको छ । बजेट अघि निरन्तर ओरालो लागेको बजार बजेटपछि पनि दैनिक रुपमा घटीरहेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सावर्जनिक भएपछि दुई दिन (सोमबार र मंगलबार) सेयर कारोबार भएको छ । यो अवधिमा परिसूचक ८६ अंकले ओरालो लागिसकेको छ । सोमबार ५०.३३ अंकले घटेको बजार मंगलबार पनि ३५.५३ अंकले घटेको छ । र, मंगलबारको परिसूचक २१३७.९२ बिन्दुमा अडिएको छ । जुन अघिल्लो दिनको तुलनामा १.६३ प्रतिशतले घटी हो । सोमबारको तुलनामा मंगलबारको सेयर कारोबार पनि घटेको छ । सोमबार १ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार १ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको छ । मंगलबार एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको एकैदिन ५ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सर्वाधिक कारोबार भएको बैंकको सेयर मूल्य भने ७.३० रुपैयाँले घटेर प्रतिकित्ता ७५२.७० रुपैयाँमा झरेको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नबिल बैंक छ । बैंकको सेयर कारोबार भने प्रतिकित्ता ८७५ रुपैयाँसम्ममा भएको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १५ रुपैयाँले घटी हो । घटेको बजारमा पनि उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२३ प्रतिशतले बढेको छ । जुन अघिल्लो दिनको तुलनामा ११२.२० रुपैयाँले बढेर प्रतिकित्ता १४७५.८० रुपैयाँ पुगेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य : दुई दिनमै प्रतिकित्ता ७७ रुपैयाँले घट्यो सोमबार जस्तै मंगलबारको बजारमा पनि नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ । मंगलबारको बजारमा मात्रै बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता ३३१ रुपैयाँमा झरेको छ । त्यस्तै, सो दिन कारोबारमा आएका समूहहरुमध्ये म्युचुअल फण्ड बाहेक सबै राताम्मे देखिएका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य : दुई दिनमै प्रतिकित्ता ७७ रुपैयाँले घट्यो
काठमाडौं । मंगलबार पनि नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । लामो समय कारोबार रोक्का भएर खुलेको बैंकको सेयरर मूल्य दोश्रो कारोबारको दिन पनि १० प्रतिशतले घटेको हो । सोमबारजस्तै मंगलबार कारोबार शुरु भएको केही समयमै बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता ३३१ रुपैयाँमाँ झरेको छ । जुन सोमबारको तुलनामा प्रतिकित्ता ३६.७० रुपैयाँले घटी हो । दोश्रो बजारमा बैंकको सेयर कारोबार करिब १३ महिनापछि जेठ १६ गते खुल्यो । सो दिन पनि कारोबार खुल्नासाथ बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ३६७.७० रुपैयाँमा झरेको छ । जुन पछिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ४०.७९ रुपैयाँले घटी हो । यससँगै यो दुई दिनमै बैंकको सेयर मूल्य प्रतिकित्ता ७७.४९ रुपैयाँले घटिसकेको छ । कारोबार रोक्का हुनभन्दा अघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ४०८.४९ रुपैयाँमा कारोबार भएको थियो । बैंकको सेयर कारोबार २०७८ बैशाख ३१ गतेदेखि रोक्का भएको थियो । हिमालयन बैंकसँग मर्जर प्रकृयामा जानको लागि नेप्सेले सो दिनदेखि दुबै बैंकको सेयर कारोबार रोक्का गरेको थियो ।