एक सातापछि बढ्यो नेप्से परिसूचक, दुई बाहेक सबै समूहमा छायो हरियाली
काठमाडौं । एक सातादेखि निरन्तर घटेको बजार मंगलबार बढेको छ । मंगलबारको कारोबारमा नेप्से परिसूचक १६.३२ बिन्दुले बढेर २२१७.१९ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७४ प्रतिशतले बढी हो । त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेर ४३२.६७ बिन्दुमा पुगेको छ । बजारमा परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन एक अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार १ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेप्सेका अनुसार सो दिन २२४ कम्पनीको ३१ लाख ७३० कित्ता सेयर खरिद बिक्री भएका छन् । कूल कारोबारमध्ये एनआईसी एशिया लघुवित्तको संस्थापक सेयर सबैभन्दा बढी किनबेच भएको छ । संस्थाको एकैदिन ४ करोड ८४ लाख रुपैयाँ बराबरको संस्थापक (प्रमोटर) सेयर कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा अप्पर तामाकोशी हाइड्रोपावर रहेको छ । कम्पनीको ४ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा दुई समूहबाहेक कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । मंगलबार म्युचुअल फण्ड र ट्रेडिङ समूह सामान्य अंकले घटेका छन् भने बाँकी समूह बढेका छन् । जीवन बीमा समूहको सूचक सबैभन्दा बढी अर्थात ७६.७४ अंकले बढेका छन् । कारोबारमा आएकामध्ये सबैभन्दा बढी प्रतिशतले सेयर मूल्य बढ्नेमा लक्ष्मी लघुवित्त रहेको छ । लघुवित्तको सेयर मूल्य ५.९५ प्रतिशतले बढेर प्रतिकित्ता १३१६ रुपैयाँ पुगेको छ । बढेको बजारमा पनि कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ । संस्थाको सेयर मूल्य ४६.९० रुपैयाँले घटेर प्रतिकित्ता ४२२.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
बलेफी हाइड्रोको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, मूल्य रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा बलेफी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । संस्थाको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर जेठ १० गते मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर बुधबार (जेठ५ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल ‘बीएचल’ दिइएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ९३.६४ रुपैयाँ र अधिकतम २८०.९२ रुपैयाँ तोकेको छ । साथै, कम्पनीले सेयर रजिष्ट्रारमा काठमाडौंको नक्सालस्थित ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ । यससँगै कम्पनीको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण काम सो क्यापिटल मार्फत हुने छ ।
एक वर्षयताकै न्यून बिन्दुमा झर्यो नेप्से परिसूचक, नबिलको सबैभन्दा बढी कारोबार
काठमाडौं । सूचीकृत कम्पनीको सेयर मूल्य मापक नेप्से परिसूचक एक वर्षयताकै न्यून बिन्दुमा झरेको छ । परिसूचक ३४.२१ बिन्दुले घटेर २२००.८८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.५३ प्रतिशतले घटी हो । बजारमा कारोबार रकम भने बढेको छ । दिनभरको कारोबारमा १ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत शुक्रबारको तुलनामा ४३ करोड ७३ लाख रुपैयाँले बढी हो । गत शुक्रबारको बजारमा ९३ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कारोबारमा आएका कम्पनीमध्ये सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ४ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको सेयर मूल्य भने ७ रुपैयाँले घटेर प्रतिकित्ता ८९९ रुपैयाँमा झरेको छ । सोमबारको बजारमा टप गेनर र टप लुजरको अग्रस्थानमा लघुवित्त वित्तीय संस्था नै रहेका छन् । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.२० प्रतिशतले बढेर प्रतिकित्ता ११३७.५० रुपैयाँ पुगेको छ । त्यस्तै, सबैभन्दा बढी सेयर मूल्य घट्नेमा मिथिला लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको सेयर मूल्य ५.८९ प्रतिशतले घटेर प्रतिकित्ता १३४० रुपैयाँमा झरेको छ । बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी घट्नेमा जीवन बीमा समूह रहेका छन् । उक्त समूह २८५.८८ बिन्दुले घटेको छ ।