बिहीबार ‘टप गेनर’ र ‘टप लुजर’को शीर्ष स्थानमा दुबै बीमा कम्पनी
काठमाडौं । बिहीबारको बजारमा बढी कमाउने ‘टप गेनर’ र बढी गुमाउने ‘टप लुजर’ दुबैको शीर्ष स्थानमा बीमा कम्पनी रहेका छन् । सामान्य प्रतिशतले घटेको सो दिनको बजारमा बढी कमाउने र बढी गुमाउनेमा दुबैं निर्जीवन बीमा कम्पनी रहेका हुन् । जसमा बढी कमाउनेमा जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको सेयर मूल्य एकैदिन ७.४५ प्रतिशतले बढेर प्रतिकित्ता ५१९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३६ रुपैयाँले बढी हो । त्यस्तै, सेयर मूल्य बढेको कम्पनीमध्ये अन्यको ३ प्रतिशतभन्दा कमले सेयर मूल्य बढेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य भने सबैभन्दा बढी प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य ७.०८ अर्थात ४० रुपैयाँले घटेर प्रतिकित्ता ५२५ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सेयर मूल्य घटेका अन्य कम्पनीको ६ प्रतिशतभन्दा कमले घटेको छ । समग्रमा बिहीबारको नेप्से परिसूचक २३.५१ अंकले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा १.०३ प्रतिशतले घटेर २२५०.९१ बिन्दुमा झरेको हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार १ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार १ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
४/१२ काे नीति तत्काल खारेज र बुक क्लोजको व्यवस्था परिमार्जन गराैं
काठमाडौं । सेयर बजारका लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंक समक्ष विभिन्न ४ बुँदे माग राखेका छन् । वर्तमान समयमा खस्कँदो पुँजीबजारलाई पुनरुत्थान गर्न लगानीकर्ताले राष्ट्र बैंकसमक्ष विभिन्न मागहरु राखेका हुन् । लगानीकर्ताहरूको संगठन नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल र सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले संयुक्त रुपमा उक्त माग पेश गरेका हुन् । जसमा ४/१२ कराेडको नीति फिर्ता लिनदेखि बुक क्लोजको व्यवस्था परिमार्जन गर्नसम्मको माग रहेको छ । ४/१२ करोडसम्मको सेयर कर्जा ऋणको सीमाले सेयरबजारलाई निरुत्साहित गरेको उनीहरुको भनाई छ । त्यसैले, उक्त क्षेत्रलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले सो व्यवस्थालाई फिर्ता लिनु पर्ने लगानीकर्ताको माग छ । यस्तै, आर्थिक वर्ष २०७९/८० को साउन १ गतेदेखि सेयर कर्जामा लगाउने भनिएको १५० प्रतिशतको जोखिम भारित औसतलाई एक सय प्रतिशत नै कायम उनीहरूको माग छ । केहि सीमित अवधिको लागि मात्र कारोबार रोक्का रहने व्यवस्था गर्न लगानीकर्ताको माग छ । हाल मर्जर तथा एक्विजिसनले सेयर कारोबार रोकिँदा लगानीकर्ताको चल अचल सम्पति बन्धक भई नोक्सानी र राज्यले पाउने राजश्वमा समेत नकारात्मक असर परिरहेको बताउँदै उनीहरूले मर्जर तथा एक्विजिसनमा पनि हाल बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारण सभाको लागि दाखिला खारेज गर्ने जस्तै व्यवस्था गर्न माग गरेका छन् । त्यस्तै, हालको तरलताको समस्या समेत तत्काल समाधन गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई अनुरोध गरेकाे छ । उक्त समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था सृजना भएको लगानीकर्ता ढकालको भनाइ छ । अब आउने मौद्रिक नीतिमार्फत् उक्त मागहरू सम्बोधन हुने विश्वासका राष्ट्र बैंकसमक्ष उक्त माग गरिएको अध्यक्ष ढकालले बताएका छन् । दोश्रो बजारको सेयर मूल्य मापक नेप्से परिसूचक ३२ सय अंकबाट हाल २२५० को हाराहारीमा झरेको छ । त्यस्तै, ४४ खर्बभन्दा बढी पुगिसकेकोमा सेयर बजारको पुँजीकरण हाल ३१ खर्बको तल्लो अंकमा झरेको छ । छोटो अवधिमै करिब १३ खर्बको नोक्सानीले लगानीकर्ताको सम्पत्ती र मनोबल घटेको ढकाल बताउँछन् । पुँजी बजार देशको अर्थतन्त्रको ऐना हो भन्ने मान्यतालाई आत्मासात लगानी गर्दै आएका लगानीकर्ताले राज्यबाट उचित संरक्षण र सुरक्षाको प्रत्याभूति नपाएको लगानीकर्ताको गुनासो छ ।
नेप्से परिसूचक बढ्दा कारोबार रकम घट्यो
काठमाडौं । बुधबारको नेप्से परिसूचक बढेको छ । सेयर मूल्य मापक परिसूचक ८.९० अंकले बढेर २२७४.४२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३९ प्रतिशतले बढी हो । बजारमा परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार १ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार १ अर्ब ३२ करोड रुपैयाँमा सीमित भएको छ । बुधबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन ५ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी सेयर मूल्य बढ्नेमा राधी विद्युत् कम्पनी छ । कम्पनीको सेयर मूल्य ६.०२ प्रतिशतले बढेर प्रतिकित्ता ६५२ रुपैयाँ पुगेको छ । सामान्य अंकले बढेको बजारमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यससँगै संस्थाको सेयर मूल्य १११.२० रुपैयाँले घटेर प्रतिकित्ता १००१.३० रुपैयाँमा झरेको छ । बजारमा जीवन बीमा, उत्पादनमूलक, म्यूचुअल फण्ड, निर्जीवन बीमा र ट्रेडिङ्ग समूह राताम्मे भएका छन् भने बाँकी समूह हरिया देखिएका छन् ।