अर्थमन्त्रीले नेप्से इन्डेक्स भनेर कम्पनीको संख्या राखेपछि…
काठमाडौं । शनिबार करिब सवा ४ बजेको समयमा अर्थमन्त्री जनार्दन शर्माले फेसबुक पेजमार्फत नेपाली अर्थतन्त्रको विषयमा केही विषय पोष्ट पोष्ट गरे । सुरुमा उनले राजश्व संकलनको स्थिती भनेर चालु आर्थिक वर्षको माघ मसान्तसम्मको ६ खर्ब १३ अर्बको तथ्यांक सार्वजनिक गरे । सो तथ्यांक सार्वजनिक गरेको चार मिनेटपछि उनले कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा भन्दै गत आर्थिक वर्षको माघसम्म ८ प्रतिशत र चालु आवको माघ मसान्तसम्म १०.२९ प्रतिशत रहेको विवरण सार्वजकि गरे । सो पोष्टमा अधिकांशले उनको प्रशंसा गरेका छन् भने कतिले बैंकमा तरलता किन घटेको, महँगी किन बढेको ? लगायतका प्रतिक्रिया र प्रश्नहरु गरेका छन् । सो स्टाटस पोष्ट गरेको केही समयपछि उनले पुनः अर्को विषयमा पोष्ट गरे । उनको पोष्ट नेपाली सेयर बजारकाे विषयमा थियो । उनले पोष्टमा नेप्से इन्डेक्स भन्दै सेयर बजारमा सूचिकृत कम्पनीको संख्या सार्वजनिक गरे । उनको पोष्टमा गत आर्थिक वर्षको माघ मसान्तसम्म र चालु आर्थिक वर्षको माघ मसान्तसम्मको सूचिकृत कम्पनीको संख्या सार्वजनिक गरिएको छ । गत वर्षको माघमा २१६ कम्पनी नेप्सेमा सूचिकृत भएकोमा चालु आवको माघसम्म २२६ पुगेको उनले देखाउन खोजेका छन् । तर, सो पोष्ट सार्वजनिक गर्दा उनी चुकेका छन् । नेप्से इन्डेक्स भनेर उनले सूचिकृत कम्पनीको संख्या सार्वजनिक गरेको भन्दै कमेन्ट बक्समा उनको आलोचना भइरहेको छ । धेरैले सेयर बजार नबुझेको अर्थमन्त्री भन्दै नकरात्मक प्रतिक्रियाहरु दिइरहेका छन् । सो पोष्टको कमेन्टमा प्रकाश पाण्डेले लेखेका छन्,‘यसलाई इन्डेक्स भन्दैनन् मन्त्रीज्यू, नेप्सेमा लिष्टेड कम्पनीको संख्या भनेर भन्नुस्, इन्डेक्स त आजको मितिमा २५६६.९ छ ।’ यस्तै, कमेन्टमै सिमन पोखरेलले लेखेका छन्,‘तपाईंको क्याप्सन सुधार गर्नुस्, यो नेप्से इन्डेक्स होइन, सूचिकृत कम्पनीको संख्या हो ।’ यी त केही प्रतिनिधिमुलक प्रतिक्रिया मात्रै हुन् अर्थमन्त्री शर्माको सो पोष्टमा धेरै नकारात्मक प्रतिक्रिया आइरहेका छन् । तर, पनि अहिलेसम्म साे पाेष्टकाे संशोधन (इडिट) गरिएको छैन । धेरैले अर्थमन्त्रीको स्वकिय सचिवको पनि खोजी गरेका छन् । सेयर बजार नबुझ्ने कस्तो स्ककिय सचिव भन्दै उनको पनि आलोचना भइरहेको छ । उसो त हिजो मात्रै अर्थमन्त्री शर्माको सोही अकाउण्टबाट सो आईडी अर्थमन्त्रीको सचिवालय अन्तर्गत प्रेस डिभिजनले सञ्चालन गरिरहेको बताइएको थियो । सो पोष्ट मार्फत केही प्राविधिक समस्या हल गरी २/३ दिनपछि सो आईडी सचिवालयको नामबाट सञ्चालन गरिने जानकारी गराइएको थियो । (नोटः तीव्र आलोचनापछि अहिले स्टाटसबाट इन्डेक्स हटाएर नेप्से मात्र राखिएको छ)
सातामा नेप्से परिसूचक २०.३ अंकले गिरावट
काठमाडौं । पछिल्लो एक सातामा शेयर बजारमा मापक नेप्से परिसूचक २०.३ अंकले गिरावट आएको छ । अघिल्लो साता ११४.०४ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता २०.३ अंकले गिरावट आएको छ । यो साता चार दिन मात्रै कारोबार भएको छ । चार दिनको कारोबारमा नेप्से परिसूचक दुई दिन गिरावट आएको छ भने दुई दिन नै वृद्धि भएको छ । पछिल्लो दुई साता निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचकमा यो साताको अन्तिम कारोबारको दिन बिहीवार ५० अंक भन्दा बढीले बढेको छ । साताको अन्तिम कारोबारको दिन बिहीवार ५२.३१ अंकले नेप्सेमा वृद्धि भएर २ हजार ५६६.९० विन्दुमा रोकिएको छ । यो साताको बिहीवारसम्मको कारोबारमा २०.३ अंकले गिरावट आएर २ हजार ५६६.९० विन्दुमा झरेको छ । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा ३.६६ अंक घटेर २ हजार ५४३.३९ विन्दुमा झरेको थियो । नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स १.३१ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक अंक बढेको थियो भने फ्लोट इण्डेक्स ०.०४ अंक घटेको थियो । आइतबार कारोबारमा आएका २३० कम्पनीको ५१ लाख ३९ हजार कित्ता शेयर २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । त्यस्तै साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक सामान्य वृद्धि भएको थियो । नेप्से परिसूचक सोमबार १.५५ अंकले बढेर २ हजार ५४४.९३ बिन्दुमा पुगेको थियो । सोमबार कारोबारमा आएका २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता सेयर २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०२ रुपैयाँको सेयर किनबेच भएको थियो । मंगलवार भने अन्तर्राष्ट्रिय ११२ औँ महिला दिवस परेकाले शेयर कारोबार बन्द भएको थियो । नेप्से परिसूचक बुधबार ३०.२९ अंकले घटेर २ हजार ५१४.६५ विन्दुमा झरेको थियो । बुधबार कारोबारमा आएका २२९ कम्पनीको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यस्तै, साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक ५२.२१ अंकले बढेर २ हजार ५६६.७९ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंकले बढेको छ । बिहीबार कारोबारमा २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । पछिल्लो सातामा २०.३ अंकले गिरावट आएको शेयर बजारमा लगानीकर्ताले २ खर्ब ९ अर्ब ९३ करोड अधिक पुँजी गुमाएका छन् । गत साताको अन्तिम कारोबारसम्म ३६ खर्ब ७ अर्ब ६० करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण यो साताको विहीबारको कारोबारपछि ३६ खर्ब ३७ अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको छ ।
जाल्पा सामुदायिक लघुवित्त नेप्सेमा सूचिकृत
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको नेप्सेमा सुचिकृत भएको छ । शेयर धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा सूचिकरण गर्नका लागि शुक्रबार जाल्पा सामुदायिक लघुवित्त र नेप्सेबीच सम्झौता भएको छ । सम्झौतापत्रमा जाल्पा सामुदायिक लघुवित्तको तर्फबाट वीर बहादुर अधिकारी र नेपाल स्टक एक्सचेन्जको तर्फबाट कृष्ण बहादुर कार्कीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । लघुवित्तले २०७८ माघ २१ देखि २५ गतेसम्म निष्काशन गरेको आइपिओको बाँडफाँड फागुन १ गते सम्पन्न गरी आइपीओमा सेयर पाउने शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा भइसकेको छ । निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गरेको प्रभु क्यापिटलले छिटो तथा छरितो रुपमा निष्काशन तथा बिक्री प्रबन्ध गरेको थियो ।