वोमी र सूर्योदय लघुवित्तले चैत १९ गतेदेखि एकीकृत कारोबार गर्ने

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाले आगामी चैत १९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । सूर्योदय लघुवित्तलाई गाभेको वोमी लघुवित्तले सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट सो दिनदेखि कारोबार शुरु गर्ने निर्णय गरेको हो । संस्थाले चैत २ गते एक सूचना जारी गर्दै सो जानकारी गराएको हो । गत पुस १६ गते सम्पन्न दुबै संस्थाको साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्तावलाई पारित गरेका थिए । यससँगै, मर्जर पश्चात सूर्योदय वोमी लघुवित्तको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको साँगामा हुने छ ।

लाभांश प्रस्ताव गरेकै दिन उच्च अंकले घट्यो एनटीसीको सेयर मूल्य

काठमाडौं । नेपाल टेलिकमले लाभांश घोषणा गरेकै दिन सेयर मूल्य उच्च रुपमा घटेको छ । कम्पनीले इतिहासमै पहिलो पटक सेयर लाभांश प्रस्ताव गरेकै दिन सेयर मूल्यमा भारी गिरावट आएको हो । इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेकै दिन सेयर मूल्य प्रतिकित्ता ८८ रुपैयाँ रुपैयाँले घटेको छ । कम्पनीको सेयर मूल्य घटेर १६२६ रुपैयाँमा आएको छ । मंगलबार टेलिकमको २ लाख ३ हजार कित्ता सेयर कारोबार हुँदा ३४ करोड २३ लाख रुपैयाँको किनबेच भएको छ । सेयर लाभांशको सूचना चुहाएर टेलिकममा ठूला लगानीकर्ताले सेयर मूल्य बढाएको र लाभांश घोषणापछि बिक्री गर्न थालेपछि सेयर मूल्य घटेको आंशका गरिएको छ । कम्पनीको सूचना चुहाएर एकवर्ष यताकै महँगो मूल्य १७९९ सम्म सेयर मूल्य पुगेको थियो । टेलिकमको ९७२ रुपैयाँ न्यूनतम मूल्यमा कारोबार भएको थियो । टेलिकमको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई २० प्रतिशत सेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

टीएमएस नचलेपछि नेप्सेका सीईओसहित प्राविधिक टीम छलफलमा, कोरोबारकाे समय थपिन्छ ?

काठमाडौं । सोमबार दिनभर ट्रेड म्यानजमेन्ट सिस्टम (टिएमएस)मा समस्या देखिएपछि नेपाल स्टक एक्सचेञ्जको टीम छलफलमा बसेको छ । लगानीकर्ताले टीएमएसमार्फत सेयर खदिबिक्री गर्न नपाएपछि उनीहरु यसको प्राविधिक विषयमा छलफलमा बसेका हुन् । टीएमएसमा समस्या आउँदा लगानीकर्ताले सेयर खरिद बिक्री गर्न पाएका छैनन् । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार १४ वटा ब्रोकरको डेटा सेन्टरमा समस्या देखिएपछि टिएमएस नचलेको हाे । ‘ब्रोकरहरुको डाटा सेन्टरमा समस्या हो, टीएमएसमा होइन, १४ वटा ब्रोकरले डेटा सेन्टरमा रजिष्टर नगरेपछि यो समस्या भएको रहेछ, अब उनीहरु रिइस्टार्ट गर्दै हुनुहुन्छ, त्यसपछि समस्या समाधान हुनेछ, यस विषयमा नेप्सेका सीईओज्यूसहित प्राविधिक टिम छलफलमा हुनुहुन्छ,’ पराजुलीले भने । लगानीकर्ताले सेयर खरिदबिक्री गर्न नपाएपछि समय थप विषयमा पनि छलफल भइरहेको छ । यद्यपि कति समय थप्ने वा नथप्ने भन्ने विषयमा भने निर्णय भइसकेको छैन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकर डाटा सेन्टरमा समस्या देखिएपछि कारोबार रोक्का गरेको छ । नेप्सेले ब्रोकर डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि कारोबार स्थगित गरेको जनाएको हो । ब्रोकरको डाटा सेन्टरमा देखिएको समस्या समधान भएपछि पुनः कारोबार सुरु हुने नेप्सेमा जनाएको छ ।