सोमबार १७.९९ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज नेप्से परिसूचक १७.९९ अङ्कले बढेर दुई हजार ६३४ दशमलव ५७ विन्दुमा पुगेको छ । आज होटल र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढ्दा विकास बैंक, बीमा, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ । आज २३१ कम्पनीको ५१ लाख ८९ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । आज दुई अब ५९ करोड २७ लाखको कारोबार भएको छ । २० करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित आज नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण भ्याली हाइड्रोपावर र जीवन विकास लघुवित्त परेका छन् । आज सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि एनटीसीको शेयर झन्डै तीन प्रतिशतले घटेको छ ।

छायाँदेवी कम्प्लेक्सले आईपीओ जारी गर्ने

काठमाडौं । छायाँदेवी कम्प्लेक्सले आईपीओ जारी गर्ने भएको छ । आईपीओ जारी गर्न उक्त कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौता पत्रमा छायाँदेवीको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे । छायाँदेवीले हाल काठमाडौंको ठमेलमा पाँचतारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ । कम्पलेक्सको करीब तीन लाख ५० हजार वर्गफिटभन्दा बढी निर्माण क्षेत्र रहेको छ । कम्पनीले हाल कायम जारी पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

२५ वाणिज्य बैंकसहित ३६ वटा कम्पनी नेप्सेको ‘ए’ श्रेणीमा, कुन कम्पनी कुन श्रेणीमा ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको छ । सूचिकृत कम्पनीहरु मार्फत प्राप्त विवरणका आधारमा नेप्सेले सो कम्पनीहरुको वर्गीकरण गरेको बताएको हो । जसमध्ये ए श्रेणीमा २६ वटा मात्रै कम्पनी परेका छन् । ए श्रेणीमा परेका अधिकांश कम्पनीहरु वाणिज्य बैंक रहेका छटन् । ए श्रेणीमा २५ वटा वाणिज्य बैंक, चार वटा विकास बैंक, २ वटा वित्त कम्पनी, १ लघुवित्त, तीन वटा जलविद्युत कम्पनी र एउटा उत्पादन तथा प्रशोधन कम्पनी रहेका छन् । नेप्सेले सूचिकृत संगठित संस्थाहरुलाई ‘ए’, ‘बी’, ‘जि’ र ‘जेड’ गरी चारवटा समूहमा वर्गीकरण गरेको छ । नेप्सेले ‘बी’ समूहमा ९ वटा कम्पनीलाई राखेको छ । बी समूहमा २ वटा फाइनान्स कम्पनी, ४ वटा लघुवित्त संस्था, २ वटा हाइड्रोपावर कम्पनी र १ लगानी कम्पनी परेको छ । माघ ८ गतेदेखि फागुन २३ गतेसम्म सूचीकृत कम्पनीहरुसँग वर्गीकरणका लागि आवश्यक विवरण माग गरेकोमा कम्पनीहरुबाट प्राप्त विवरणकै आधारमा सूचीकृत कम्पनीहरुको वर्गीकरण गरिएको नेप्सेको विज्ञप्तिमा उल्लेख छ । नेप्सेले वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन आग्रह गरेको छ । [pdf id=319620]