फरवार्ड लघुवित्तको लाभांश घोषणा, बोनस र नगद दुबै बढ्यो

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ७ प्रतिशत नगद(करसहित) र ३५ प्रतिशत बोनस गरी सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सो मात्राको लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बढी हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस र ६.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्राइम कमर्शियल बैंक र ग्लोबल आईएमई समुन्नतको मूल्य समायोजन

काठमाडौं । प्राइम कमर्शियल बैंक र ग्लोबल आईएमई समुन्नत स्किम १ को सेयर मूल्य समायोजन भएको छ । यी दुई संस्थाको क्रमशः बोनस र नगद लाभांश पश्चात दोश्रो बजारमा सेयर मूल्य समायोजन भएको हो । जसमध्ये प्राइम बैंकको १६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३८१.९० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारमा संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ४४३ रुपैयाँमा भएको थियो । त्यस्तै, ग्लोबल आईएमई समुन्नतको १०० प्रतिशत नगद लाभांशपश्चात इकाई मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको इकाई मूल्य १०.८८ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिइकाई २०.८८ रुपैयाँमा भएको थियो । यससँगै अबको कारोबारमा यी दुबै कम्पनीको पहिलो कारोबार समायोजित मूल्यलाई आधार मानेर हुने छ ।

गरिमा विकास बैंकको ऋणपत्रः हालसम्म कतिले दिए आवेदन ?

काठमाडौं । गरिमा विकास बैंकले निष्काशन गरेको ऋणपत्रमा हालसम्म ७३ करोड २४ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । मंसिर १७ गतेदेखि निष्काशित भएको उक्त ऋणपत्रमा मंसिर २१ गते मंगलबारसम्ममा सो मात्राको आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग (सीडीएससी) ले जनाएको हो । सीडीएससीका अनुसार मंगलबार दिउँसो ४ बजेसम्ममा १३ लाख ९२४ हजार जना आवेदकले ७ लाख ३२ हजार ४७३ थान ऋणपत्रको लागि आवेदन दिएका हुन् । जुन बैंकले माग गरेको तुलनामा ७३.२४ प्रतिशत हो । बैंकले गत मंसिर १७ गतेदेखि ‘गरिमा डिबेञ्चर २०८५’ नामक १० लाख कित्ता ऋणपत्र जारी गरिरहेको छ । जसमध्ये ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने र ४ लाख कित्ता सर्वसाधारणलाई सार्वजनिक निष्काशनबाट बिक्री गरिने बैंकले जनाएको छ । उक्त ऋणपत्रको अवधि ७ वर्षको रहेको छ । जसमा वार्षिक ८.७५ प्रतिशत ब्याज पाइने छ ।