एनआईबिएल एस क्यापिटलले सञ्चालनमा ल्यायो च्याटबोट सेवा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले च्याटबोट सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले समय अनुसार प्रविधिमा आएको परिवर्तन एवं ग्राहकको आवश्यकतालाई ध्यानमा राखी च्याटबोट सेवा सञ्चालनमा ल्याएको हो । यस च्याटबोट सेवाबाट ग्राहकहरुले कम्पनीको सेवाहरुको बारेमा सजिलैसँग जानकारी लिन सक्ने छन् । साथै, उनीहरुले भौतिक उपस्थिति बिना नै सेवा लिन सक्ने क्यापिटलले जनाएको छ । परिस्कृत सेवा सुबिधा प्रदान गर्न तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स समेतको प्रयोगले ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा दिन सक्ने किसिमले विकास गरिएको क्यापिटलले जनाएको छ । यसअघि कम्पनीले विद्युतीय प्रणालीमार्फत एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का ईकाईहरु खरिद गर्नुका साथै डिम्याट खाता खोल्ने तथा मेरो सेयर दर्ता गर्ने सेवा समेत सुचारु गरिसकेको छ ।
नेपाल बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
काठमाडौं । नेपाल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १४ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३७८.६८ रुपैयाँ कायम भएको छ । यससँगै मंगलबारको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३७८.६८ रुपैयाँलाई आधार मानेर हुने छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ४३१.७० रुपैयाँमा भएको थियो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कूल १७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशलाई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । १४ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी १४ अर्ब नाघ्ने छ ।
५ वटा जीवन बीमा कम्पनीको लाभांश घोषणा, सबैभन्दा बढी एशियन लाइफको
काठमाडौं । हालसम्म ५ वटा जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेका छन् । सञ्चालित १९ जीवन बीमा कम्पनीमध्ये ५ वटाले मात्रै अघिल्लो आवको लाभांश घोषणा गरेका हुन् । आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गर्नेमा एशियन लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ र प्राइम लाइफ इन्स्योरेन्स रहेका छन् । जसमध्ये प्राइम लाइफ इन्स्योरेन्सको लाभांश भने पारित भइसकेको छ । मंसिर १९ गते सम्पन्न प्राइम लाइफको वार्षिक साधारणसभाले १५.८७ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ०.८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । इन्स्योरेन्सले सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । सूर्या लाइफ इन्स्योरेन्सले १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १२.७ प्रतिशत बोनस र ०.६६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । ज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्सले पनि आर्थिक वर्ष २०७६/७७ को लाभांश प्रस्ताव गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा सम्बन्धित कम्पनीको साधारणसभाले पारित गरेपछि मात्रै सम्बन्धित सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् । उता निर्जीवन बीमा कम्पनीमध्ये अधिकांशले आर्थिक वर्ष २०७६/७७ को लाभांश पारित पनि गरिसकेका छन् । तर हालसम्म आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गर्नेमा प्रिमियर इन्स्योरेन्स मात्रै रहेको छ भने बाँकीले हालसम्म उक्त वर्षको लाभांश घोषणा गरेका छैनन् । प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट भने सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।