लक्ष्मी लघुवित्तकाे २७.३७ लाभांश पारित

काठमाडाैं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाकाे २७.३७ लाभांश पारित भएकाे छ । मंसिर १० गते बसेकाे लघुवित्तकाे १० औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ७.३७ प्रतिशत (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) नगद लाभांश पाउने छन् । बाेनश शेयर पश्चात कम्पनीको चुक्ता पूँजी रु. ३८ करोड ४० लाख ५४ हजार पुग्नेछ । सभाले अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेका व्यक्तिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावलाई समेत निरन्तरता दिएकाे छ । नेपाल राष्ट्र बैंकबाट २०६८ फाल्गुण २३ गते वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त संस्थाले २०६९ जेष्ठ २२ गतेबाट नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेकोमा हाल आएर देशभर ५५ जिल्लाहरुमा ७७ वटा शाखा कार्यालयहरु मार्फत ९६ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ । संस्थाले ७ अर्ब १५ कराेड कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट २ अर्ब २ कराेड बचत संकलन गरेको छ ।

अर्थमन्त्रीसँग गुनासो गर्ने सेयर लगानीकर्ता गभर्नरसँगै सन्तुष्ट

काठमाडौं । सेयर लगानीकर्ताहरु नेपाल राष्ट्र बैंकले गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको समीक्षासँग सन्तुष्ट नै देखिएका छन् । यसअघि मार्जिन प्रकृतिको सेयर धितोमा ४/१२ करोड रुपैयाँको सीमाको व्यवस्था गर्दा विरोध गरेका लगानीकर्ताहरु अन्ततः सन्तुष्त नै देखिएका हुन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयरधितो ४/१२ करोड रुपैयाँको व्यवस्था गरेको थियो । राष्ट्र बैंकले सेयर धितो राखेर लिइने कर्जा एउटा बैंकबाट ४ करोड सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो । यो व्यवस्थाले सेयर बजार घटेको पनि आरोप लगानीकर्ताकाे छ । यही व्यवस्थाको कारण केही लगानीकर्ताहरुले विरोध पनि जनाए । तर, अहिले पनि राष्ट्र बैंकले सो व्यवस्थाई कुनै हेरफेर नगरेपछि लगानीकर्ताहरुले आत्मसन्तुष्टि जनाएका छन् । पुँजी बजारका लगानीकर्ता अम्बिका प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत आफुले कुनै विषयको अपेक्षा नगरेको भएकोले पनि जे आयो त्यसमा नै सन्तुष्ट हुनु परेको बताए । उनले कोरोना महामारीको कारण समस्याग्रस्त क्षेत्रको पुनरुत्थान गर्नु पर्ने बेला पुँजीबजारले खासै अपेक्षा नगरेकोले पनि जे छ त्यसमै सन्तुष्ट हुनु पर्ने उनको भनाई छ । ‘राष्ट्र बैंकले ४/१२ करोड रुपैयाँको व्यवस्थालाई पुनरावलोकन गर्न उपयुक्त नठानेकै कारण यथावत राख्यो, अब लगानीकर्ता पनि अभ्यस्त र संयमित पनि भइसकेका छन्, समीक्षा मार्फत राम्रो नराम्रो र कसिलो विषय केही पनि आएको छैन, जे आयो त्यसमै सन्तुष्ट हुनु पर्छ,’ उनले भने । उनका अनुसार यो विषयले लगानीकर्ता अब आत्तिनु पर्ने अवस्था छैन । ‘अहिले तरलताको कारण संकटमा भएका क्षेत्रले पनि ऋण पाइरहेका छैनन, यो अवस्थामा राष्ट्र बैंकले खुकुलो पार्छ भन्ने अपेक्षा पनि थिएन, मेरो व्यक्तिगत रुपमा कुनै गुनासो छैन,’ उनले थपे । यस्तै, नेपाल इन्भेष्टर्श फोरमका अध्यक्ष छोटेलाल रोनियारले राष्ट्र बैंकले यो व्यवस्थामाथि लचकता अपानउनु पर्ने आवश्यक भएपनि कुनै हेरफेर नगरेको बताए । उनका अनुसार अब लगानीकर्ताले निराशभन्दा पनि सेयर बजारको सही विश्लेषण गरेर लगानी गर्नु पर्नेछ । ‘राष्ट्र बैंकले ४/१२ करोडको व्यवस्थामा अडान लियो, हामीले सीमा राख्नु हुन्न भनेर विरोध पनि गरेका हौं, सीमा नै राख्ने हो भनेपनि एक बैंकले १२ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गर्न आग्रह गरेका थियौं, यस्तो गरेपनि केही सहज हुन्थ्यो, तर राष्ट्र बैंकले कुरा सुनेन, अब जे छ त्यसमै रहेर लगानी गर्नुको विकलप छैन,’ उनले भने । उनका अनुसार राष्ट्र बैंकले सीडी रेसियो आगामी असार मसान्तसम्म कायम गर्नु पर्ने व्यवस्था सन्तोषजनक छ । ‘पुँजी बजारलाई अब एउटा निक्र्योल आएको छ । केही दिन लगानीकर्ताले आ–आफ्नो ठाउँबाट विश्लेषण गर्छन्,’ फेरि सेयर बजारले आफ्नो लय समात्छ,’ उनले थपे । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि ४/१२ करोड रुपैयाँको सीमा पुनरावलोकन गर्नु पर्छ भनेर लाग्दै आएपनि अब पुनरावलोकन नभएपछि फेरि त्यसपछि नै लाग्न नुहुने बताउँछिन् । उनले यो व्यवस्था संशोधन हुन्छ भनेर अर्थमन्त्री जनार्दन शर्माले आश्वासन दिएपनि पूरा नगरेको बताइन् । ‘यो व्यवस्था पुनरावलोकन हुन्छ भनेर अर्थमन्त्रीज्यूले आश्वासन लगानीकर्तालाई दिनु भएको थियो, अर्थमन्त्रीले भनेपछि हामी पनि आशामै थियौं तर, राष्ट्र बैंकले त्यसबारे केही बोलेन, लगानीकर्ताहरुले जति जोखिम लिनु थियो, लिई हाले, अब लगानीकर्ताले राष्ट्र बैंकलाई गाली गर्नुभन्दा पनि संयमित भएर लगानी गर्नु पर्छ,’ उनले भनिन् । ४/१२ करोड रुपैयाँको व्यवस्था जस्तै अन्य प्रकरणहरु ल्याएर बजारमा चलखेल गर्नु भन्दा पनि अब बुझेर लगानी गर्नुपर्ने उनको भनाई छ । ‘४/१२ करोड रुपैयाँको व्यवस्थाले बजारमा चलखेल गर्ने विषय बनेको थियो, अब यस्ता प्रकरणमा लाग्ने भन्दा पनि बुझेर लगानी गर्ने हो, जे आयो त्यसमा सन्तुष्ट भएर ढुक्कले लगानी गरौं,’ उनले भनिन् ।

मंसिरभित्रै १८ वटा कम्पनीको लाभांश पारित हुँदै, कहिलेसम्म सेयर किन्नेले पाउँछन् लाभांश ?

काठमाडौं । पछिल्लो समय सूचीकृत कम्पनीहरुले वार्षिक साधारणसभा धमाधम आव्हान गर्न थालेका छन् । आर्थिक वर्ष पूरा भएको ६ महिनाभित्रमा वार्षिक साधारणसभा गर्नुुपर्ने कानूनी प्रावधान रहेकोले सूचीकृत कम्पनीहरु साधारणसभा गर्नमा हतारिन थालेका हुन् । कम्पनी ऐन २०६३ अनुसार पब्लिक कम्पनीले वार्षिक साधारणसभा गर्नको लागि कम्तीमा २१ दिन अगाडि नै सूचना सार्वजनिक गर्नुपर्ने हुन्छ । यस्तो व्यवस्थाको कारण मंसिरभित्रै साधारणसभा सम्पन्न गर्न कम्पनीहरुले मंसिर ९ गतेभित्रमा सार्वजनिक सूचना जारी गरिसक्नु पर्छ । उक्त सूचनामा सभा हुने ठाउँ, मिति र छलफल गर्ने विषय उल्लेख गर्नुपर्ने कानूनी प्रावधान छ । यो अवधिमा सूचीकृत केही कम्पनीले मात्र साधारणसभा सम्पन्न गरिसकेका छन् । अधिकांश कम्पनीले त अझै डाकेकै छैनन् । यता १८ वटा कम्पनीहरुले भने मंसिरभित्रै सभा सक्ने हिसावले सार्वजनिक सूचना प्रकाशित गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश पारित गर्ने मूख्य एजेण्डासहित साधारणसभाको मिति तय गरेका हुन् । सूचीकृत पब्लिक कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्तावसहित विभिन्न मितिमा आफ्नो वार्षिक साधारणसभा बोलाएका छन् । जसमध्ये अधिकांश लघुवित्त वित्तीय संस्था रहेका छन् । कुनले कहिले गर्दैछन् ? मंसिर १० गते मात्रै तीन वटा कम्पनीको साधारणसभा छ । लक्ष्मी लघुवित्त, आरएसडीसी र गुँरास लाइफ इन्स्योरेन्सको साधारणसभा मंसिर १० गते एकैदिन परेको छ । जसमध्ये लक्ष्मी लघुवित्तले मंसिर १० गते १०औं वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन विहान ११ बजे काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा हुँदैछ । सभाले सेयरधनीलाई २७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने प्रस्तावमाथि निर्णय गर्दैछ । त्यस्तै, आरएसडीसी लघुवित्त वित्तीय संस्थाले पनि मंसिर १० गते नै सभा आव्हान गरेको छ । संस्थाले १०.५३ प्रतिशत लाभांश प्रस्तावसहित सो दिन विहान ९ बजे रुपन्देहीको बुटवलस्थित एशियन होटलमा ८औं वार्षिक साधारणसभा बोलाएको हो । गुराँस लाइफ इन्स्योरेन्सले पनि लाभांश प्रस्तावसहित मंसिर १० गते वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन विहान ११ बजे काठमाडौंको तिनकुनेस्थित इन्स्योरेन्सको केन्द्रिय कार्यालयमा अनलाइनमार्फत हुने छ । सभाले सेयरधनीलाई ५.५ प्रतिशत बोनस सेयर र ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावमाथि निर्णग गर्दैछ । फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मंसिर १६ गते १२औं वार्षिक साधारणसभा आव्हान गरेको छ । सो दिन विहान ११ बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्केटमा गत आर्थिक वर्षको सभा गर्न लागेको हो । उक्त सभाले सेयरधनीलाई १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावमाथि निर्णय गर्दैछ । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी मंसिर १७ गते आफ्नो ३५औं वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन बिहान १० बजे काठमाडौंको दरबारमार्गस्थित आफ्नो केन्द्रिय कार्यालयमा जुम मिटिङ्ग मार्फत हुने छ । त्यस्तै, सभामा जानको लागि संस्थाले मंसिर ६ गते बुक क्लोज गरिसकेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १९ गते १४औं वार्षिक साधारणसभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन दिउँसो २ बजे काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा उक्त सभा बोलाएको हो । सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले मंसिर १० गते एक दिन बुक क्लोज गर्दैछ । त्यस्तै, मंसिर २२ गते महिला लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले बिहान १०ः३० मा काभ्रेको हिमालयन दृश्य रिसोर्टमा आफ्नो तेश्रो वार्षिक साधारणसभा गर्न लागेको हो । सभाले प्रस्तावित २.५ प्रतिशत नगद लाभांश र ४७.५ प्रतिशत बोनस सेयर प्रस्तावमाथि निर्णय गर्दैछ । सभामा जान संस्थाले मंसिर १६ गते एकदिन बुक क्लोज गर्न लागेको छ । पिपुल्स हाइड्रोपावर कम्पनीले मंसिर २३ गते ११ः३० बजे काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बेङ्क्वेटमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभामा साधारण सेयर (आईपीओ) जारी गर्नेदेखि सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीलाई मर्जर गर्ने विशेष प्रस्ताव लैजाँदै छ । मेरो माइक्रोफाइनान्सले मंसिर २४ गते नवौं वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले सो दिन बिहान ११ः३० बजे नुवाकोटको सभाकक्ष होटल वाटर टावरमा सभा गर्न लागेको हो । संस्थाले सभामा चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव लैजाँदै छ । मुक्तिनाथ विकास बैंकले मंसिर २५ गते विहान ९ बजे कास्कीको पोखरास्थित होटल जल महलमा आफ्नो १५औं वार्षिक साधारणसभा आव्हान गरेको छ । सभाले प्रस्तावित १८.५ प्रतिशत लाभांश (१७.५७५ प्रतिशत बोनस र ०.९२५ प्रतिशत नगद) माथि निर्णय गर्दैछ । ग्लोबल आईएमई बैंकले आगामी मंसिर २७ गते विहान १० बजे काठमाडौंका कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा १५औं वार्षिक साधारणसभा गर्न लागेको छ । सभाले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश दिने प्रस्तावमाथि निर्णय गर्दैछ । र, संस्थाको आगामी मंसिर १३ गते एकदिन बुक क्लोज हुनेछ । मंसिर २८ गते ४ कम्पनीको मेगा बैंकले आगामी मंसिर २८ गते विहान ११ः१५ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारण सभा बोलाएको छ । सभाको आगामी मंसिर १४ गते एक दिन बुक क्लोज गर्दै छ । सभाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १२.०२ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र २.०७ प्रतिशत नगद) प्रस्तावमाथि निर्णय गर्दैछ । त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि मंसिर २८ गते नै साधारण सभा गर्न लागेको छ । ३५औं वार्षिक साधारण सभा सो दिन बिहान १० बजे काठमाडौंको नयाँ बानेश्वरस्थित बैंकको केन्द्रिय कार्यालयमा भर्च्युअल माध्यमबाट हुने बैंकले जनाएको छ । सभाले प्रस्तावित १३.०६ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद) पस्तावमाथि निर्णय गर्दैछ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले पनि लाभांश पारित गर्न गत वर्षको वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले आगामी मंसिर २८ गते विहान १० बजे पोखराको होटल पोखरा ग्राण्डीमा नवौं वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभाले संस्थाको सञ्चालक समितिको २८ प्रतिशत बोनस सेयर प्रस्तावमाथि निर्णय गर्दैछ । सोल्टी होटलले पनि मंसिर २८ गते बिहान ११ बजे काठमाडौंको टाहचलस्थित कम्पनीको केन्द्रिय कार्यालयमा ४७ औं वार्षिक साधारणसभा बोलाएको छ । होटलको मंसिर ६ गते बुक क्लोज भइसकेको छ । मंसिर २९ गते ३ कम्पनीको बैंक अफ काठमाण्डूले मंसिर २९ गते बुधबार बिहान १० बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जुम मार्फत वार्षिक साधारणसभा गर्दैछ । सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी मंसिर १० गतेदेखि मंसिर २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यस्तै, सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र ४ प्रतिशत नगद) प्रस्तावमाथि निर्णय गर्दैछ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आगामी मंसिर २९ गते सभा बोलाएको छ । उक्त सभा सो दिन बिहान ११ बजे रुपन्देहीको महाराजा रिसोर्टमा हुँदैछ । सभाले सेयरधनीलाई गत आवको नाफाबाट चुक्ता पुँजीको १०.९३ प्रतिशत बोनस र ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावमाथि निर्णय गर्दैछ । र, उक्त सभामा जान मंसिर १७ गतेदेखि मंसिर २९ गतेसम्म संस्थाको बुक क्लोज हुँदैछ । त्यस्तै, इन्भेष्टमेन्ट समूह अन्तर्गत रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश प्रस्ताव पारित गर्न मंसिर २९ गते सभा आव्हान गरेको छ । संस्थाले आफ्नो तेश्रो वार्षिक साधारणसभा सो दिन बिहान ९ बजे काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा अनलाइन माध्यम र भौतिक रुपमा एकसाथ सञ्चालन गर्न लागेको हो । सभाले प्रस्तावित ८.४२ प्रतिशत लाभांश प्रस्तावमाथि निर्णय गर्दैछ । सबैको लघुवित्तले पुष ३ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले सो दिन बिहान ११ बजे तनहुँको बन्दिपुरस्थित बन्दिपुर माउन्टेन रिसोर्टमा बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट चुक्ता पुँजीको ३१.०५ प्रतिशत र १.६३ प्रतिशत लाभांश प्रस्तावमाथि निर्णय गर्नेछ । उक्त सभामा जान संस्थाले पुस २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । आईसीएफसी फाइनान्सको वार्षिक साधारणसभा आगामी पुस ५ गते विहान १० बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बस्दैछ । सभाले १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश प्रस्तावमाथि निर्णय गर्दैछ । सभामा जान संस्थाले मंसिर २३ गतेदेखि पुस ५ गतेसम्म बुक क्लोज गर्नेछ । नेरुडे लघुवित्तले पनि गत वर्षको वार्षिक साधारणसभा आव्हान गरिसकेको छ । संस्थाले पुस १० गते बिहान ११ बजे विराटनगरको उद्योग संगठन मोरङ्गको सभाहलमा १५औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले सञ्चालक समितिको प्रस्तावित २१.४९ प्रतिशत बोनस र ५५ लाख ८५ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्तावमाथि निर्णय गर्दैछ । त्यस्तै, संस्थाको आगामी मंसिर २६ गतेदेखि पुस १० गतेसम्म बुक क्लोज हुनेछ । यी कम्पनीहरुको प्रस्तावित लाभांश खान इच्छुक लगानीकर्ताले सम्बन्धित कम्पनीको बुक क्लोजभन्दा अघिल्लो कार्य दिनसम्ममा सो कम्पनीको सेयर होल्ड अर्थात सेयर खरिद गरिसक्नु पर्ने हुन्छ । यदि सो समयभन्दा पछि सेयर खरिद गरेको खण्डमा भने उनीहरु सो कम्पनीको गत वर्षको लाभांश खान योग्य हुँदैनन् । १५ कम्पनीले सके साधारणसभा हालसम्म वाणिज्य बैंक, विकास बैंक र लघुवित्त वित्तीय संस्थाका गरी कूल १५ वटा कम्पनीले वार्षिक साधारणसभा भ्याईसकेका छन् । जसमध्ये ५ वटा वाणिज्य बैंकहरु छन् । उनीहरुले गत आवको साधारणसभा सम्पन्न गरी सेयरधनीलाई लाभांशसमेत वितरण गरिसकेका छन् । सभा सम्पन्न गर्नेमा माछापुच्छ्रे, सानिमा, सिटिजन्स, कुमारी र नेपाल बङ्गलादेश बैंक रहेका छन् । कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले पनि गत आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन् । त्यस्तै, लघुवित्त समूह अन्तर्गतका डिप्रोक्स, साधना, अभियान, गुराँस, आशा, सिभिल, स्वरोजगार र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सभा सम्पन्न गरिसकेका छन् । पछिल्ला वर्षका गतिविधि अनुसार कम्पनीहरुलाई साधारणसभा गर्न मंसिरमा भन्दा पनि पुसमा बढी भ्याई नभ्याई हुने गरेको पाइन्छ । पुस मसान्तसम्म सभा सम्पन्न गरिसक्नु पर्ने बाध्यताका कारणले नै कम्पनीहरुलाई सो महिनामा सभाको बढी चटारो पर्छ । र, अधिकांशको मिति मात्रै नभई समय पनि जुध्न पुग्छ । त्यसैल पनि सेयरधनीहरु इच्छा हुँदौहुँदै पनि सबै कम्पनीको साधारणसभा सहभागी हुन सक्दैनन् ।