सेयर बजारमा ४९ अंकको उतारचढाव
काठमाडौं । बुधबारको बजारमा तीव्र उतारचढाव देखिएको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचकमा ४९.१६ अंकको उतारचढाव देखिएको हो । दिनभरको कारोबारमा परिसूचक न्यूनतम २६९४.०६ बिन्दुबाट अधिकतम २७४३.२२ बिन्दुसम्म पुगेको थियो । तर अन्त्यमा २७३४.९४ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा सामान्य १.८२ अंक अर्थात ०.०७ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । मंगलबार ४ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार भने ४ अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार जस्तै बुधबार पनि एटीसीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन २६ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको कारोबारसँगै सेयर मूल्य पनि ८ रुपैयाँले बढेर प्रतिकित्ता १४६५ रुपैयाँ पुगेको छ । बजारमा मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ९.४७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा गोर्खाज फाइनान्स रहेको छ । संस्थाको सेयर मूल्य २.५५ प्रतिशतले घटेर प्रतिकित्ता ८४२ अंकमा झरेको छ ।
ह्यात प्लेस सञ्चालनमा ल्याएको सिटी होटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई
काठमाडौं । सिटी होटलले सर्वसाधारणमा साधारण सेयर जारी गर्ने भएको छ । संस्थाले जारी पुँजीको १० प्रतिशतका दरले अंकित मूल्य एक सय रुपैयाँ दरको साधारण सेयर निष्काशन गर्न लागेको हो । उक्त सेयर निष्काशन गर्नको लागि होटलले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । उक्त नियुक्ति सम्बन्धमा कम्पनी र क्यापिटलबीच मंसिर ७ गते सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट अध्यक्ष शक्तिकुमार गोल्याण र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् । कम्पनीले २०७८ कार्त्तिक १५ गतेबाट काठमाडौंको सोल्टिमोडमा पाँच तारे होटल, ह्यात प्लेस सञ्चालनमा ल्याएको छ । उक्त होटलमा गोल्याण ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका उद्यमी व्यापारीहरुको लगानी रहेको छ । १५३ ओटा कोठा रहेको उक्त पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् । अमेरिकामा रहेको ह्यात होटल कोअपरेसनको चेन ब्राण्डको रुपमा विश्वका विभिन्न देशहरुमा एक हजार भन्दा बढी अन्तर्राष्ट्रिय स्तरको ह्यात होटलहरु स्थापना भइ सञ्चालन भइरहेका छन् । सोहि अन्तराष्ट्रिय ब्राण्डको रुपमा ह्यात प्लेस सोल्टिमोडमा पाँच तारे होटलको रुपमा विश्वस्तरीय सुविधाहरु सहित सञ्चालनमा आएको हो ।
नेप्से दोहोरो अंकले घट्दा कारोबार बढ्यो, सबैभन्दा बढी एनटीसीको
काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । कारोबार खुलेदेखि ओरालो लागेको बजारमा सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक ३२.२९ अंकले घटेर २७३३.१४ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.१७ प्रतिशतले घटी हो । बजारमा परिसूचक घटेपनि कारोबार रकम २४ करोड रुपैयाँले बढेको छ । सोमबार ३ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा मंगलबार भने ४ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा २२७ वटा स्क्रिप्टको ७४ लाख ४८ हजार कित्ता सेयर किनबेच भएको छ जसमध्ये सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ४१ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एनटीसीको कारोबार रकमसँगै सेयर मूल्य पनि बढेको छ । सोमबारको तुलनामा कम्पनीको सेयर मूल्य ३६.८० रुपैयाँले बढेर प्रतिकित्ता १४५७ रुपैयाँ पुगेको छ । जुन २.५९ प्रतिशतले बढी हो । त्यस्तै, १० करोड रुपैयाँभन्दा माथिको सेयर कारोबार हुनेमा अन्य ३ वटा कम्पनी छन् । नेशनल हाइड्रोपावर कम्पनी, महालक्ष्मी विकास बैंक र अपि पावर कम्पनीको १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दोहोरो अंकले घटेको बजारमा पनि मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । संस्थाको पछिल्लो केही समययता सेयर मूल्य निरन्तर रुपमा बढेको छ । मंगलबार संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १९९०.१० रुपैयाँ पुगेको छ । मंगलबार जम्मा १४ कम्पनीको सेयर मूल्य बढेको छ । र, अधिकांश अर्थात १७१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य सोमबारको तुलनामा स्थिर रहेको छ । सबैभन्दा बढी आईसीएफसी फाइनान्सको सेयर मूल्य घटेको छ । संस्थाको सेयर मूल्य ५.८४ प्रतिशतले घटेर प्रतिकित्ता ८१९ रुपैयाँमा झरेको छ । त्यस्तै, मंगलबार अन्य समूह बाहेक कारोबारमा आएका बाँकी समूह राताम्मे देखिएका छन् ।